कुराकानी

‘विश्वविद्यालय ज्ञान निर्माणमा चुके’

एजुकेशन टाइम्स संवाददाता
उपेन्द्र खड्का
आश्विन १, २०७७

काठमाडाैं– नेपालमा भर्खरै युवा वैज्ञानिकको संस्था ‘नेसनल योङ एकेडेमी नेपाल (नयन)’ गठन गरिएको छ । हाल सात सदस्यीय तदर्थ समिति रहेको संस्थाले छिट्टै नयाँ कार्यसमिति चयन गर्दै छ । संस्था गठन गर्नुको उद्देश्य, अबका योजना, नेपालमा युवा वैज्ञानिकको अवस्था तथा विश्वविद्यालयले ज्ञान निर्माणमा कस्तो भूमिका निर्वाह गरिरहेका छन् लगायत विषयमा संस्थाका सदस्य डा. उत्तमबाबु श्रेष्ठसँग शिक्षापत्रले गरेको कुराकानी –

राष्ट्रिय युवा एकेडेमी नेपाल (नयन) गठन गर्ने योजना कसरी बन्यो ?
हामीले एक वर्षदेखि नै नेपाली युवा वैज्ञानिकहरूबीच तीन चरणमा औपचारिक र थुप्रै अनौपचारिक छलफल गर्यौं । त्यो गर्नेमा म लगायत केही ‘विश्व युवा वैज्ञानिक एकेडेमी’का सदस्य साथीहरू पनि थियौं । त्यसकारण हामीलाई युवा वैज्ञानिक एकेडेमीका बाह्य अनुभव थियो । संसारका ४१ देशमा यस्ता एकेडेमी खोलिएको जानकारी थियो । तर नेपालमा त्यस्तो एकेडेमी नभएकाले नेपालमा पनि युवा वैज्ञानिकको संस्था खोलौँ भन्ने योजना बन्यो र नयन जन्मियो ।

यो संस्था गठन गर्नुको उद्देश्य के हो ?
नेपालमा वैज्ञानिक र प्राज्ञिक विधागत सोसाइटी थुप्रै छन् तर युवा वैज्ञानिकको आवाज उठाउने एकेडेमी जस्तो संस्था थिएन । त्यसको आवश्यकता महसुस गरेर हामीले यो एकेडेमी स्थापना गरेका हौं । यो नाम अनुसारकै राष्ट्रियस्तरको संस्था हुनेछ । यसका सदस्यहरूको औसत उमेर ४० वर्ष हाराहारीको हुनेछ । त्यसैले यो युवाहरूको संस्था हुनेछ । तेस्रो, यो संसारका अन्य एकेडेमी जस्तै यसका सदस्य प्राज्ञिक तथा वैज्ञानिक उत्कृष्टताको आधारमा मात्रै चयन गरिनेछ । चौथो, यो बहुविधागत वैज्ञानिकको संस्था हुनेछ । हाम्रो जानकारीमा नेपालमा अहिलेसम्म यस्तो प्रकृतिको संस्थाको गठन भएको छैन ।

नयनमा सदस्यको छनोट कसरी हुन्छ ? सदस्य कति छन् ?
अहिलेलाई हामीले सात सदस्यीय तदर्थ समिति मात्रै गठन गरेका छौं । तर यसको वास्तविक सदस्यहरूको छनोट अझै हुन बाँकी छ । निकट भविष्यमा आवेदन खुलाएर यसका सदस्यहरू मनोनयन गरिनेछ । अहिलेका सदस्यहरूले पनि सदस्यता लिनुपर्नेछ । तदर्थ समितिको गठन सुरुवाती चरणको प्रशासनिक कामको लागि मात्र हो ।

अरू संस्था र यसमा केही फरक छ कि ?
पहिलो कुरा यो बहुआयामिक संस्था हो । जुनसुकै शैक्षिक विधाका अध्येता, अनुसन्धानकर्ता, वैज्ञानिकहरू (प्रकृति विज्ञान, समाज विज्ञान, मानवशास्त्र, चिकित्सा विज्ञान, इन्जिनियरिङदेखि कानुनसम्मका) ले यसको सदस्य बन्न आवेदन दिन सक्नेछन् र छानिएर सदस्य बन्न पाउनेछन् । दोस्रो, एकेडेमीका सदस्यहरूको छनोट प्राज्ञिक र वैज्ञानिक उत्कृष्टताका विश्व स्थापित मापदण्ड र मान्यताको आधारमा गरिनेछ । त्यो भनेको आवेदक सदस्यको वैज्ञानिक खोज र प्रकाशनको गुणस्तर, त्यसको प्रभाव साथै उनीहरूले समाजमा गर्न सक्ने योगदानको मूल्यांकन आदि हो ।

संस्थाको सदस्य बन्न अरू प्रक्रिया के के पूरा गर्नुपर्छ ?
यो संस्थाले प्रत्येक वर्ष नयाँ सदस्यका लागि निवेदन दिन आह्वान गर्ने छ । आवेदक मध्येबाट प्राज्ञिक उत्कृष्टताका आधारमा प्रत्येक वर्ष औसत २० जना सदस्य छनोट गरिने छ । संस्थामा जम्मा सय जना सदस्य हुनेछन् । पदपूर्तिका लागि पहिलो वर्ष धेरै सदस्यहरू छनोट हुनेछन् । त्यसपछि प्रत्येक वर्ष २० जनाको पदावधि सकिँदै जानेछ । पदावधि सकिएका सदस्यको स्थानमा नयाँ सदस्य आउनेछन् । पाँच वर्षपछि यसका सदस्य सबै फेरिनेछन् । प्रशासनिक काम गर्न सदस्य मध्येबाट एउटा कार्यसमितिको गठन गरिनेछ । यसका अन्य सदस्यहरूले कार्य समूह (वर्किङ ग्रुप) बनाएर ज्ञान–विज्ञानका क्षेत्रमा काम गर्न सक्नेछन् । यो संस्थाले अन्य देशका त्यस्ता युवा वैज्ञानिक एकेडेमीहरूसँग हातेमालो गरेर अगाडि बढ्ने योजना पनि बनाएको छ ।

नेपालमा यो संस्थाले युवा वैज्ञानिकका लागि पुर्‍याउन सक्ने योगदान के–के हुन् त ?
यस संस्थाको मुख्य उद्देश्य भनेको युवा वैज्ञानिकको आवाजलाई मूर्त रूपमा उठाउने हो । दोस्रो, ज्ञान–विज्ञानको क्षेत्रको विकास गर्ने हो । यसले आफ्नो पहिलो प्रोजेक्ट भनेको नेपालका युवा वैज्ञानिकहरूको राष्ट्रिय सर्वेक्षण हो । हामीले खुला तथ्यांक (ओपन डेटा) सम्बन्धी काम गर्न खोजेका हौंं । अर्को काम भनेको सिनियर एकेडेमीको सदस्य बन्न योग्य वैज्ञानिक तयार पार्ने पनि हो । अन्यत्र पनि त्यस्तै गरिन्छ ।

यो नेपालको कुनै विश्वविद्यालय वा एकेडेमी अन्तर्गतको संस्था हो ?
होइन । यसको सदस्यको चयन विधि, कार्यक्षेत्र नेपालका शैक्षिक संस्था भन्दा फरक र फराकिलो छ । तर, नेपालका विभिन्न एकेडेमी र शैक्षिक संस्थाहरूसँग मिलेर काम गर्ने योजना भने संस्थाले बनाएको छ ।

नेपालमा युवा वैज्ञानिकको अवस्था कस्तो छ ?
त्यसको उत्तर ठ्याक्कै मसँग छैन । त्यो थाहा पाउन पहिलो पटक सर्वेक्षण गरिरहेका छौं । त्यसमा युवा वैज्ञानिकका उपलब्धि, उनीहरूका समस्या, उनीहरूका काम लगायतका विभिन्न पक्षहरू समेटिएको छ । सर्वेक्षणको रिपोर्ट आएपछि यकिन रूपमा जानकारी गराउन सजिलो हुनेछ ।

अन्तर्राष्ट्रिय तहमा नेपालका युवा वैज्ञानिकको सहभागिताको अवस्था कस्तो देखिन्छ ?
पहिलेभन्दा त धेरै राम्रो सहभागिता छ । तर पनि सन्तोषजनक सहभागिता देखिँदैन । यतिखेर राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा नेपाली युवा वैज्ञानिकले निकै राम्रो काम गरिरहेका छन् ।

युवा वैज्ञानिकको हितमा राज्यले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?
राज्यले अनुसन्धानको समग्र वातावरण निर्माण गर्नुपर्दछ । उनीहरूका लागि उत्प्रेरणा र अवसरहरूको सिर्जना गर्नुपर्दछ । त्यो भनेको युवा वैज्ञानिक वा अर्लि करिअर रिसर्चरहरू केन्द्रित अनुसन्धान अनुदानका कार्यक्रम, उनीहरूको क्षमता अभिवृद्घिका कार्यक्रम, उनीहरू र सिनियर वैज्ञानिकबीच सहकार्य गराउने खालका कार्यकम हुन् । विकसित देश र हाम्रै दक्षिण एसियाका देशहरूमा त्यस्ता थुप्रै कार्यक्रम हुन्छन् । नेपालका विश्वविद्यालय वा अनुसन्धान संस्थाहरूमा केही वर्ष पहिलेसम्म पीएचडीपछि गरिने पोस्ट डक्टरल तालिमको पद नै थिएन । यहाँका सीमित अनुसन्धान वृत्तिहरूमा बीसौं वर्ष अनुभव भएका प्राध्यापक वा सिनियर वैज्ञानिकसँग भर्खरै पीएचडी सकेका अनुसुन्धानकर्ताले अनुसन्धान अनुदानका लागि प्रतिस्पर्धा गर्नपर्ने अवस्था छ ।

दक्ष युवा वैज्ञानिक उत्पादनका लागि विश्वविद्यालयले के गर्नुपर्छ ?
ज्ञान उत्पादन जुनसुकै पनि विश्वविद्यालयको उद्देश्य हो तर हाम्रा विश्वविद्यालयहरू यसमा चुकेका छन् । ज्ञान उत्पादनको लागि अनुसन्धान चाहिन्छ तर अपवादलाई छोड्ने हो भने हाम्रा विश्वविद्यालयहरूमा अनुसन्धानलाई बढावा दिने राम्रो वातावरण अझै बनेको छैन । नेपालका अधिकांश विश्वविद्यालयहरू पढाउन वा ज्ञान बाँड्न केन्द्रित छन् । त्यसैले नेपालका विश्वविद्यालयहरूले अनुसन्धानलाई बढावा दिने, विकास गर्ने अनुसन्धान संस्कृति वा प्रणालीको विकास गर्नपर्दछ । अनुसन्धानमा संलग्न हुनेहरूले उत्प्रेरणा पाउने वातावरण हुनुपर्दछ । त्यस्तो भएमा युवा वैज्ञानिकहरूको उत्पादन र विकासमा टेवा पुग्दछ ।

प्रकाशित : आश्विन १, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप कुराकानी

‘विश्वविद्यालयमा दलको झन्डा बोक्न दिन्नँ’

नेपालमा दल विशेषको झण्डा बोक्ने गलत चलन छ। हाम्रो विश्वविद्यालयमा कुनै प्राध्यापक, कर्मचारी वा विद्यार्थीले कुनै दल विशेषमा आवद्ध भएकै कारण वा नेता भएकै कारण कुनै सम्झौता गर्न पाउने छैन।

शैक्षिक बेरोजगार थपि‌दैनन् : दाहाल

‘नेपालको फिल्म इतिहासदेखि नेपाल र नेपालीपन बुझाउने र विदेशीको नभई हाम्रै अनुहार समेट्ने गरी पाठ्यक्रम निर्माण गर्ने तयारी गरिरहेका छौं ।’

झर्रा शब्दमा हुरुक्क हर्क

खास त्यस्तो केही छैन । फिल्ममा लेख्दा केही पैसा दिन्छन् । त्यत्ति हो । हाम्रा बाैद्धिक सम्पतिकाबारे, कहिँ कसैले चर्चा गरेको छैन । तर आर्टमाण्डुसँग भने एकखाले सम्झाैता हुँदैछ । त्यसपछि चाहिँ केही होला कि !

३१ जेष्ठ २०७८, सोमबार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo