बालपत्र

डिजिटल सिकाइमा भाषाको भेद

बालबालिकाले लिइरहेकोे ज्ञानमा खोइ ध्यान

एजुकेशन टाइम्स संवाददाता
ईश्वरकुमार मैनाली
आश्विन ५, २०७७

काठमाडाैं– ‘बच्चाहरू मोबाइलमा झुण्डिएर हैरानै बनाउँछन्’ यो गुनासो काठमाडौंको गौरीघाट बस्ने रोजन दाहालको हो । दुई सन्तानका पिता रोजनलाई दिक्दार बनाउने कुरा हो मोबाइल । उनलाई आफ्ना सन्तानले ‘काम नलाग्ने’ कुरा हेरिरहेको र त्यसकै लत बस्दै गएकाले चिन्ता बढेको हो । ‘हिन्दी कार्टुन हेर्दा–हेर्दा हिन्दी नै बोल्ने भइसके, अझ कार्टुनकै शैलीमा बाेल्छन्’ उनले दिक्दारी पोखे ।

बच्चालाई खाना खुवाउन होस् वा रोएको बेला फकाउन, मोबाइल वा ल्यापटप दिएर फुल्याउनु धेरै अभिभावकको सजिलाे उपाय हो । केटाकेटीलाई भुलाएर आफ्नो काम गर्न यो सजिलो काइदा त बनेको छ अभिभावकका लागि। तर, यसरी मोबाइल वा ल्यापटपमा उनीहरूले हेर्ने र खेल्नेमध्येका प्राय सामग्री भने विदेशी भाषाका छन् । यस्ता सामग्रीले बालमस्तिकमा मन्द विष छर्ने काम गरिरहेको बालबालिकाकाे सिकाइका कुरा उठाइरहेका शिक्षक मेदिन लामिछाने बताउँछन् । याे अभिभावक वा परिवारका लागि मात्र नभएर देशकै साझा समस्या बन्दै गएको छ ।

सिकाइ र शिक्षाबारे पैरबी गरिरहेका विवेकशील पार्टीका अध्यक्ष मिलन पाण्डेको अनुभवमा नेपालमा बालबालिकाका सिकाइ सामग्री अभिभावकको लागि भुराभुरी भुलाउने माध्यम जस्ताे मात्र भएको छ । ‘अभिभावकलाई काम नगरी पनि भएको छैन, बच्चा पनि अल्मलाउनु छ, बच्चाले त्यो सामाग्री हेरेर के ज्ञान लियो भन्नेमा हाम्रा अभिभावकको ध्यान छैन,’ पाण्डे भन्छन्, ‘छोराछोरीको सिकाइमा अभिभावक प्रत्यक्ष संलग्न नभए त्यसले भोलिका लागि पनि गम्भीर समस्या सिर्जना गर्न सक्छ ।’

’बालबालिकाका लागि बालकथा, कविता, गीत लगायत सिकाइका डिजिटल सामग्री थारै मात्र छन् । त्यसमाथि नेपाली भाषाका त झनै थोरै छन् । बालबालिकाका लागि नेपाली भाषामा सिकाइ सामग्री अपलोड गर्ने युट्युब च्यानल पुकुलुकु, नानीबाबु, विङ्सटेल नेपाल लगायत औँलामा गन्न सकिने मात्र छन् । तीन वर्षदेखि नेपाली भाषामा बालसिकाइ सामग्री उत्पादन गर्दै आएको युट्युब च्यानल पुकलुकुुका संस्थापक सन्तोष पौडेल भन्छन्, ‘बालबालिकाका लागि नेपाली भाषामा सिकाइका गुणस्तरीय सामग्री एक सय वटा पनि पुग्दैनन् ।’ बाल सिकाइका विदेशी सामग्री छनोटमा अभिभावकको बाध्यता र रहर पनि उत्तिकै देखिन्छ । बालबालिका स्वयम भने यो रोजाइमा निर्दोष छन् । पौडेल भन्छन्, ‘बालबालिकालाई राष्ट्रियता, मौलिकता, भाषा केहीको मतलव हुँदैन, उनीहरूलाई जुन मन पर्छ, त्यहि हेर्छन् ।’

नेपाल बाल साहित्य प्रतिष्ठानका अध्यक्ष तथा शिक्षाकर्मी कार्तिकेय घिमिरे विदेशी भाषाक सिकाइ सामग्री अभिभावकको बाध्यता हो भन्ने मान्न तयार छैनन् । ‘हामीले हाम्रा बालबालिकाको लागि समय निकाल्न सक्नुपर्छ’ घिमिरे भन्छन् ‘हाम्रो भाषामा भएका केही राम्रा सिकाइ सामग्री समेत अभिभावकले बच्चालाई देखाउँदैनन् ।’ घिमिरेको अनुभवमा विदेशी भाषाका डिजिटल सामाग्रीको प्रभावले अब धेरैजनालाई झस्काउन थालेको छ ।

शिक्षाकर्मी प्रविधि, जनशक्ति, तथा लगानीको सिमितताका बाबजुद पनि नेपाली बालसिकाइ सम्बन्धी सामग्रीहरू विश्व बजारमा देखाउन लायक बनेको बताउँछन् । शिक्षाकर्मी तथा बालबालिकाको लागि सिकाइ सामग्री उत्पादन गरिरहेकाहरूको अनुभवले अभिभावक स्वयमले बच्चालाई नेपाली भाषा सिक्न बन्देज लगाइरहेको छैन भन्ने शंका उब्जिन्छ । घिमिरे प्रश्न गर्छन्, ‘हाम्रो भाषा हराए हामी कसरी पो रहिरहौँला र ? उनको बुझाइमा बालबालिकामा भाषा मोह बढाउन अभिभावकले भूमिका खेल्न सकेका छैनन् ।

शिक्षक लामिछानेका अनुसार विदेशी भाषाकाे मोहले नेपाली समाजलाई अर्कैतिर डोर्‍याइरहेको छ ।  उनकाे अनुभवमा विदेशी भाषामा बनेका सिकाइ सामग्रीले विदेशी संस्कार र संस्कृतिबारे जानकारी दिने मात्र नभइ त्यसप्रति आकर्षित पनि गर्छ । यसले दुई पुस्ताबीचको बुझाइमा ठूलो अन्तर आउँछ र दीर्घकालीन रूपमा भाषाको संकट मात्र नभइ सामाजिक संकट नै उत्पन्न हुने खतरा रहन्छ । एकातिर नेपाली भाषाको सिकाइ सामग्रीमा अभिभावकको रुची देखिँदैन । अर्काेतिर लगानी र बजारको हिसाबले यसको उत्पादन पनि सहज छैन । पुकलुकुुका संस्थापक पौडेल भन्छन् ‘बनाउन खर्चिलो छ, धेरै लगानी नभइ काम गर्न सकिँदैन, हामीसँग कन्टेन्टको अभाव छैन, जनशक्ती र लगानीको अभाव हो, अनि बजार पनि सानो छ ।’

फाइदै छैन त ?
बाल सिकाइका सामग्री एनिमेशन गरेर बनाउनुपर्ने भएकाले खर्चिलो र धेरै समय लाग्ने हुन्छ । ‘समय र मेहनत धेरै लाग्छ, हामीले त आर्थिक भन्दा पनि सामाजिक सेवाको रूपमा काम गरिरहेका छौं’, पुकुलुकुका संचालक पौडेलले शिक्षापत्रसँग भने । लामिछानेका अनुसार डिजिटल बालसिकाइ सामग्रीमा आफ्नो भाषाका सामग्री नहुँदा घाटा भएपनि अन्य धेरै फाइदा छन् । यसले बालबालिकालाई विश्वसँग जोडेको छ । विवेकशील पार्टीका अध्यक्ष पाण्डे यसको सकारात्मक पक्षलाई पछ्याए सकारात्मक परिवर्तन हुने बताउँछन् । विदेशीपनलाई पछ्याउने भन्दा पनि सही अभ्यासलाई पहिचान गरेर व्यवहारमा लागु गर्नु राम्रो हो । यस्तै अध्यक्ष घिमिरे पनि यसका केही फाइदा देख्छन् । ‘बालबालिकालाई विदेशी संस्कृति बुझाउन पनि जरुरी छ,’ उनी भन्छन्, ‘तर, आफ्नोपन र संस्कृतिलाई पहिलो प्राथमिकतामा राख्नुपर्छ ।’

यस्ता काममा सरकारले अगुवाई लिँदै सहयोग गर्नुपर्ने यस क्षेत्रमा काम गरिरहेकाहरूको भनाइ छ । तर, सरकारले यतातिर कुनै पहल नगरेकोमा भने उनीहरू दुःखी छन् । ‘यो काम सरकारले आफैँ गर्ने त कुरै छोडौँ, निजी क्षेत्रलाई बनाउन लगाएर, सरकारले खरिद गरेर उपलब्ध गराउने सुरसार पनि भएकाे छैन’, लामिछानेकाे गुनासो छ।

राज्यले वार्षिक अर्बौं रुपैयाँ शिक्षामा लगानी गर्छ । जसमध्ये धेरैजसो प्रसाशनिक खर्चमै सकिन्छ । मुनाफा कम भएकाले निजी क्षेत्रले डिजिटल बालसिकाइ सामग्री उत्पादनमा खासै चासो दिँदैन । ‘नेपाल बाल साहित्य प्रतिष्ठानबाट हामीले यो काम गर्न लागेका थियौं’ अध्यक्ष घिमिरे भन्छन् ‘लागतले नभ्याउने भए पछि गर्न सकेनाैं।’ उनका अनुसार उत्पादनमा मात्र होइन, अभिभावकको सोचाइमा पनि समस्या छ । यहि कारण विभिन्न गैह्र सरकारी संस्थाबाट उत्पादन गरिएका सिकाइ सामग्री समेत प्रयोगमा आएका छैनन् ।

डिजिटल बालसिकाइ सामग्री र मनोवैज्ञानिक असर
आफ्नै भाषामा डिजिटल बालसिकाइ सामग्री नहुँदा बालबालिका भाषागत रूपमा परनिर्भर भइरहेका छन् । मनोविद् गोपाल ढकाल विदेशी परिवेशमा बनाइएको कुरा हाम्रोमा ग्रहणयोग्य नहुने बताउँछन् । ‘यस्ता सामाग्रीले सांस्कृतिक, धार्मिक तथा मनोवैज्ञानिक रूपमा अतिक्रमण भइरहेको छ,’ उनी थप्छन्, ‘शिक्षा भनेको जीवन उपयोगका लागि हो, हाम्रा बालबालिकाले बाह्य भाषाका सामाग्री हेरेर यहाँ कसरी टिक्न सक्छन् ?’ उनी प्रश्न गर्छन् । विज्ञान, गणित लगायत केही बिषयमा बाह्य भाषा ठिकै भएपनि अन्य सिकाइमा राष्ट्रभाषा या मातृभाषाको प्रयोग गर्नुपर्नेमा उनी जोड दिन्छन् । बाह्य भाषाको प्रयोगले सिकाइको उमेरमा भएका बालबालिकामा बाह्य प्रवृत्तिकै छाप छाड्ने भएकाले हाम्रो रितिथिती, परम्परा, धर्म, जीवनशैली तथा संस्कार र संस्कृतिमा उनीहरूले अपनत्व पाउँदैनन् । त्यसले राष्ट्रियतामा ठूलो समस्या ल्याउने भएकाले राज्यले बेलैमा यसतर्फ ध्यान दिन जरुरी भएको ढकालको भनाइ छ । आफ्नो धरातल, भूगोल, समाज अनुुसारको डिजिटल बालसिकाइ सामाग्री बनाउन ढिला गर्न नहुने उनको सुझाव छ ।

सरकारलाई वास्तै छैन
वैकल्पिक सिकाइको अवधारणा बिकास हुँदै गर्दा राज्यले यस्ता महत्वपुर्ण कुरामा ध्यान नदिनु लज्जास्पद भएको यो क्षेत्रमा लागेकाहरूको गुनासो छ । पाठ्यक्रम विकास केन्द्रका सूचना अधिकारी गणेश भट्टराईका अनुसार शैक्षिक विकासका लागि राष्ट्रिय केन्द्र (एनसिइडी) सँग २ सय ८० भन्दा बढी डिजिटल बालसिकाइ सामाग्री छन् । ति कहाँ र कुन अवस्थामा छन् भन्ने कसैलाई अत्तोपतो छैन । ‘हामी एक्लैले त्यस्ता सिकाइ सामग्री बनाउन सक्दैनौँ,’ भट्टराईले भने, ‘त्यस्ता सामाग्रीको लागि खासै बजेट पनि छैन ।’

अहिले पाठ्यक्रममा भएका सामग्री उत्कृष्ट रहेको भन्दै उनले पाठ्यक्रमले राष्ट्रियता र राष्ट्रप्रति गौरव गर्ने वातावरण बनाएको समेत दाबी गरे । त्यस्तै, निजी क्षेत्रसँग सहकार्य गरेर त्यस्ता पाठ्यक्रम विकास गर्न केन्द्र तयार रहेको उनकाे भनाइ छ ।शिक्षा मन्त्रालयले चाहेमा याे काम सम्भव रहेकाे उनले बताए । तर, शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्मा भने तत्काल डिजिटल बाल सिकाइ सामग्री बनाउने पक्षमा मन्त्रालय नरहेको बताउँछन् । ‘हामीसँग निजी क्षेत्रसँगको सहकार्यमा बनाएका केही डिजिटल सामग्री छन्, अझै थप गर्ने र मन्त्रालयले नै निर्माण गर्नेबारे कुनै योजना छैन ।’ शिक्षा तथा मानव स्रोत विकास केन्द्रले कुनै योजना बनाएको भए त्यो थाहा नभएको उनले शिक्षापत्रलाई बताए ।

मातृभाषामा डिजिटल सिकाइ सामग्री शून्यप्राय
नेपाली भाषामै सिकाइ सामग्री सिमित मात्र उपलब्ध रहेको अवस्थामा मातृभाषाका सिकाइ सामग्रीको उपलब्धता शून्य सरह नै छ । ‘राष्ट्र भाषामा त थाेरै सामाग्री मात्र छन् भने अन्य मातृभाषामा के होस् ?’, नेपाल बाल साहित्य प्रतिष्ठानका अध्यक्ष घिमिरे प्रश्न गर्छन् । राष्ट्रभाषामा मात्र उल्लेख्य सामाग्री उपलब्ध भए त्यसलाई ठूलो कुरा मान्नुपर्ने अध्यक्ष  पाण्डे बताउँछन् ।

‘मातृभाषामा पढ्न पाउने बालबालिकाकाे अधिकार नै हो । त्यो लागु गर्न सकिए त गजब हुन्थ्यो ।’ तर त्यो अहिले सम्भव नदेखिएकाले दीर्घकाल सम्ममा यसलाई कार्यान्वयन गर्नुपर्ने पाण्डे बताउँछन् । ‘मातृभाषाका सिकाइ सामग्री त्यतिबेलाको बहस हो, जति बेला राष्ट्रभाषामा धेरै त्यस्ता सामग्री उत्पादन हुन्छन्’ सिकाइ विज्ञ लामिछानेले भने । त्यस्तै, लगानी, बजार तथा श्रमको हिसाबले पनि महंगो पर्न आउने भएकाले नेपाली भाषामा मात्र त्यस्ता धेरै सामाग्री बन्दिए धन्य हुनुपर्ने पुकुलुकुका संचालक सन्तोष पौडेलको भनाइ छ । सिकाइको फेरिँदो स्वरुपबीच डिजिटल युग चलिरहेका बेला बालबालिकाको सिकाइमा बेलैमा ध्यान दिन सके विदेशी भाषा वा संस्कृतिकप्रति बालबालिकाको बढ्दो सम्मोहनलाई कम गर्दै आफ्नोपनको जगेर्ना गर्न पनि सहयोग मिल्ने थियो ।

प्रकाशित : आश्विन ५, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप बालपत्र

बालबालिकालाई माया चाहिन्छ

जुनसुकै बहाना वा परिबन्ध भए पनि परिवारबाट टाढिनुपर्दा बालबालिका निराश हुन्छन्। यसरी परिवारबाट अलग्गिएका बालबालिकामा शारीरिक र मानसिक दुवै असर पर्ने बाल–मनोविमर्शकर्ता मनिता धरेल बताउँछिन्।

प्रविधिले एक्लो बनाउँछ

लकडाउनका कारण ६ वर्षीया स्तुतिको स्कुल बन्द भयो । उनी बारम्बार आमाको काममा डिस्टर्ब गरिरहन्थिन् । सरस्वतीले छोरी भुलाउने सजिलो माध्यम भेटिन्, मोबाइल ।

निराश छन्, नानी–बाबु

यो समयमा अभिभावकले शिक्षक बनेर हरेक कुरा आफ्ना बच्चालाई सरल तरिकाले बुझाउनुपर्ने बाल–अधिकारकर्मी प्रदिप्ता कादम्बरी बताउँछिन्। ‘अवस्था सहज भएपछि जानुपर्छ भनेर सम्झाउनुपर्छ,’ कादम्बरी भन्छिन्, ‘बच्चालाई एक्कासि भन्दा पनि बिस्तारै सम्झाउँदै गएमा सजिलो हुन्छ।’

२४ फाल्गुन २०७७, सोमबार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo