युवा

उड्ने रहरले उडाएको सपना

हजार सपना जगाउँदै आफैंलाई जितेको मान्छे

तस्बिर – दिनेश गाेले
एजुकेशन टाइम्स संवाददाता
ईश्वरकुमार मैनाली
आश्विन ९, २०७७

काठमाडाैं–  भर्खर प्वाँख उम्रिन लागेको बेला थियो सायद, गुँड छाड्ने तयारी भइहाल्यो । बाहिरी संसार कस्तो छ के पत्तो ? तर कहानी र आशा निकै जगाइदिए साथीसंगीले । तिनैको उक्साहटले दोलखाबाट राजधानी आइपुगे, रामकाजी । न कुनै योजना न कुनै लक्ष्य । थियो केवल हवाई सपना । पैसो कमाइन्छ भन्ने । उमेर १४ मात्रै टेकेका थिए ।

हवाई सपना पूरा हुने छेकछन्द देखिएन । ती वर्षका तीनवटा तीनसय पैंसट्ठी दिनमा त्यति नै हन्डर, ठक्कर खाए । अब वास्तविक सपना देख्ने बेला आएको आभाष हुन थाल्यो । निदाउनै सकेनन् । एपीजे अब्दुल कलाम भन्थे, ‘ती सपना होइन जुन तिमी निद्रामा देख्छौ, सपना त ती हुन् जसले तिमीलाई निदाउन दिँदैनन् ।’ अब्दुल कलाम को थिए राजकाजीलाई के थाहा ? उनले भनेको कुरा पनि उनलाई थाहा थिएन । तर उनले भनेको कुरासँग उनको सपना भने ठ्याक्कै मिल्यो ।

१७ वर्ष टेके । प्वाँख पलाउन पाउँदा नपाउँदै राजधानीतिर उडेका रामकाजी अब कोसौं टाढाको उडान भर्ने योजना बनाउन थाले । मनमनै सोचे, ‘अब उमेर पुग्यो, नागरिकता बनाउँछु र विदेश जान्छु ।’ गाउँकै थुप्रै दाजुहरू विदेश पसेका थिए । गाउँ आउँदा हाइफाइ बेग्लै थियो । सान नै बेग्लै । गाउँमा चर्चा चल्ने । उनले पनि अब पासपोर्ट बनाउनेबारे सोचे ।

छ कक्षामा फेल भएका थिए । राजधानी आएर फलाम कारखानामा वेल्डिङकोे कामले प्रगति हुने देखेनन् । कल्पना गरे, ‘अब विदेश जान्छु, पैसा कमाउँछु, बिहे गर्छु, जहान परिवारसँगै आँटोपिठो खाँदै आरामको जिन्दगी कटाउँछु । ‘जिन्दगीमा ठूला सपना थिएनन्, बस् आरामको जिन्दगी चाहेको थिएँ,’ रामकाजीले शिक्षापत्रसँग सम्झना साटिरहेका छन्, ‘आम नेपालीको जे सपना हुन्छ, त्यही थियो मेरो पनि।’

त्यही मीठो सपनाको पखेटा हाल्न ०६७ असार ९ गते उनी घर गए । असारको बेला घरमा काम सघाउँदा परिवारलाई राहत पनि हुने । मुुख्य कुरा त नागरिकता बनाउने । जुन पार्सपोर्ट बनाउने सपनाको पहिलो पङ्ख हो ।

तस्बिर – दिनेश गोले

घर पुगे । गाईबस्तु थिए । घाँस हाल्नै पर्‍यो । खुर्पा भिरे । डाले घाँसको रुख चढे । असारे झरीले भिजेको थियो रुख । काट्दै थिए, बिजुलीको नाङ्गो हाइटेन्सन लाइनमा हाँगो जोतियो । ठूलो चट्याङले हाने जस्तो भयो । भुइँमा बजारिए । रुखबाट मात्र होइन, जिन्दगीबाटै बजारिए । जब होसमा आए, रामकाजीको मनले भन्यो ‘उडेर विदेश जाने त परको कुरा अब आफ्नै खुट्टामा उभिन नसक्ने भएँ ।’

भक्तपुरको ग्लोबल हस्पिटलमा ३ महिना उपचार गरेपछि घर फर्किए । उनले एघार वर्ष अघिको कहानी सुनाए ‘मुढो झैं थिएँ, घाममा निकाल्न चारजना चाहिन्थ्यो । सधैं छरछिमेकीलाई गुहार माग्न पनि सजिलो थिएन । बिहान खाए बेलुका के खाउँ भन्ने अवस्था त थिएन तर परिवारलाई काम नगरिकन सुख थिएन । घरमा आमा, बा र दुई भाइबहिनी थिए । म चैं एक्लै हुन्थें । मरेको जुनी लाग्थ्यो ।’ यति भन्दै गर्दा उनको गला अवरुद्ध भयो । एकछिन बोल्न सकेनन्…।

हिँड्ने त के कुरा, आफ्नै खुट्टाले उभिन पनि सक्थेनन् । तर मनको खुट्टाले भने संसार हिँड्न हौस्याइरह्यो । सद्दे भएर विदेश उडेको सपना देखिरहे । डाक्टरले आशा दिन्थे । चाँडै निको हुन्छु भन्ने लागेको पनि थियो । सुधार हुँदै गएको झैं लाग्थ्यो । बिजुलीले हानेको आठ महिनापछि एकजनाको सहाराले भित्रबाहिर गर्न सक्ने भएका थिए । अब पूर्ववत् अवस्थामा फर्किएको कल्पना आउन थाल्यो, साथीभाइसँग डाँडाकाँडा डुलेको, फिल्म हलमा हल्ला गर्दै रमेको…।’

यस्तैउस्तै कल्पनामा रम्दै उनले डेढ वर्ष कटाए । अर्को चरणको उपचारका लागि नेपाल अर्थोपेडिक हस्पिटल पुगे । यसपालि निद्रा नलाग्ने सपनाको छाँगाबाट बजारिने खस्ने पालो थियो । अस्पतालका डाक्टरहरूले उनलाई ‘अब ह्विलचियरलाई सधैं प्रेम गर’ भनिदिए । उनलाई स्पाइनल कर्ड इन्ज्युरी भएको रहेछ । अब साथीभाइसँग रामरमितामा डुल्ने दिन सकिए ।

‘गाउँमा धेरैको हेलाको पात्र भइरहेको थिएँ, परिवारले पनि मलाई मात्र समय दिन सक्ने अवस्था थिएन,’ उनी पुराना दिनमा फर्किन्छन्, ‘त्यसपछि उपचारसँगै हस्पिटलभित्रको आश्रयमा बस्न थालें ।’

पूर्ववत् दिनचर्यामा फर्कन्छु भनेर कल्पिरहेका रामकाजीको अर्थोपेडिक आएपछि आत्मविश्वासै टुट्यो । ‘बाँच्ने रहर नै मनमा रहेन, कहिले गाडीमुनि पसौं पसौं जस्तो लाग्ने, कहिले झुन्डिएर मरौं जस्तो लाग्ने, अब जिन्दगी सकियो,’ उनले सुनाउँदै गए, ‘दुई महिनासम्म निराशाको भुमरीमै रुमल्लिएँ, बिस्तारै आफू भन्दा सानो उमेरका अपाङ्गता भएका बालबालिकालाई देखेर मन बुझाउन थालें ।’ अर्को अर्ती मिल्यो उनको जीवनमा, प्रगति गर्न आफूभन्दा माथिकालाई हेर्नू, चित्त बुझाउन आफूभन्दा तलकालाई ।’

रामकाजीलाई अपाङ्गता भएका व्यक्तिका लागि संस्था हुन्छ भन्ने पनि थाहा थिएन । अर्थोपेडिकमा पुगेपछि थाहा पाए, उनीजस्तै हिँड्न नसक्नेका लागि पनि संस्था हुनेरहेछ । त्यहाँ उनी मात्रै यस्ता थिएनन् । अपाङ्गता भए पनि आत्मनिर्भर भएर बाँचेकाहरू देखे । त्यसपछि रामकाजीलाई म नि केही गर्न सक्छु भनेर आत्मविश्वास बढ्न थाल्यो । अनि जन्मियो बाँच्ने अभिलाषा । निराशालाई बिदा गर्ने र फेरि सपना साँच्ने आशा । पौरखले जिन्दगीमा भर्ने लय र भाका ।

तस्बिर – दिनेश गोले

तर त्यो नयाँ लय र भाकाको यात्रा सहज थिएन । राजधानीमा बस्न थालेपछि गाउँलेको ‘मन्दिरतिर भीख मागेर खाला’ भन्ने वचनले दुखाइरह्यो । घरी कता घरी कता पुगिरहने रामकाजीलाई अशक्तताले बिझाइरह्यो । साङ्ग हुँदाका सपनाले पोलिरह्यो । एक्लोपन र अक्षमताले चर्‍याइरह्यो । त्यही घाउले रामकाजीलाई कर्ममा लादिरह्यो ।

अब रामकाजीको हात फलामका अनेक सामग्री बनाउन होइन, बिग्रिएका ह्वीलचियर बनाउन चल्न थाले । तातोपानी कला केन्द्रको जमिनमाथि क्यानभासमा मसिना कुचीहरू चल्न थाले ।

एक वर्ष सोनम शेर्पाको कला केन्द्रमा चित्रकला सिकेपछि उनी तिनै सोनमको सिफरिसमा राजधानी फर्किए । राजधानीमा छोगेल रेम्पोचेको बीआईए फाउन्डेसनमा जोडिए । आर्थिक रूपमा सहज हुन थाल्यो । काठमाडौं आएपछि परिवारले तीन महिना मात्र खर्च व्यहोर्नुपर्‍यो । आफ्नै पौरखले पैसा कमाउन थालेपछि उनमा आत्मविश्वास बढ्ने नै भयो । उसबेला झन्डै आफूलाई सिध्याउन आँटेका रामकाजीले कुरामा अलिकति दर्शन मिसाए, ‘उतिबेला होस गुमाएर कसो नराम्रो निर्णय गरिनँ । अहिले त लाग्छ जीवनमा सबैले यथास्थिति स्विकार्न सक्नुपर्छ, सम्भावना खोज्नुपर्छ तर सम्भावना नै नखोजी हार मान्नु हुँदैन ।’

उनी भोगाइ सुनाउँछन्, ‘सुन्ने जो–कोहीलाई लाग्छ, कति ज्याद्रो हो यो मान्छे अर्थात् रामकाजी ?’

छोगेल रेम्पोचेको बीआईए फाउन्डेसनमा रामकाजी जस्तै अपाङ्गता भएका थुप्रै व्यक्ति छन् । एक–अर्कालाई सहयोग गरेर बस्छन् । परिवारबाट राम्रो साथ नपाएकाहरूको बाहुल्य रहेको यो संस्थामा अपाङ्गता भएकाहरू नै एक–अर्काका आफन्त हुन् जस्तो लाग्छ रामकाजीलाई । अरूलाई पनि । ‘पारिवारिक, सामाजिक तथा मनोवैज्ञानिक रूपमा हामीलाई धेरै आघात परेको छ,’ रामकाजीलाई अपाङ्गता भएका व्यक्तिलाई सम्मान र माया गर्ने वातावरण नभएकोमा औधी दुःख लाग्छ । उनी सामाजिक धरातललाई हेर्छन्, ‘अपाङ्गता भएका व्यक्तिलाई मान्छे नगन्ने यो समाजबाट आस पो के गर्नु ?’

थाङ्का चित्रमा कुची कुदाइरहने रामकाजी अपाङ्गता भएका व्यक्तिका लागि सहज होस् भनेर ह्वीलचियर मर्मतको काम पनि गर्छन् । बिहान दशदेखि पाँच बजेसम्म थाङ्का बनाउँछन्, त्यसपछि ह्वीलचियर मर्मतको काम । २ हजारभन्दा बढी ह्वीलचियर मर्मत गरिसकेका रामकाजीलाई हरेक काम गर्नुको पछाडि भगवानको खेल छ भन्ने लाग्छ । प्रसङ्ग जोडे, ‘मैले फलामको काम जानेको भएर अहिले ह्वीलचियर मर्मतमा सहज भएको छ । भगवानको खेला हेर्नुस्, सीप भन्ने कुरा कसरी कहाँ प्रयोगमा आउँछ, पत्तै नहुने ।’ रामकाजीलाई सीप पनि भगवान् हो जस्तो लाग्न थालेको छ । सीपले खान दिन्छ नि त ।

स्वदेशमै बसेर पनि कहिलेकाहीँ उनलाई विदेशमा छु कि जस्तो लाग्छ । विशेष काम नपरी दोलखा जाँदैनन् । घर जान होस् वा खेल्न जान, धेरै समस्या हुन्छ । त्यसैले हत्तपत्त बाहिर निस्कँदैनन् । कोरोना महामारीमा समेत उनको दैनिकी उस्तै छ, दश–पाँच थाङ्का, त्यसपछि ग्यारेज । काममा ध्यान भएपछि अरू मतलव नै हुँदैन, कोरोना सोरोनाको ।

आफ्नै मेहेनतले अपाङ्गता भएकाहरूलाई थाेरै मात्र भए पनि राहत दिन सकिए जीवन सार्थक हुन्थ्यो भन्ने लाग्छ रामकाजीलाई । त्यसैले उनी आफ्नो ठाउँबाट नै रूपान्तरणका लागि अभ्यासरत छन् । अपाङ्गता भएकाहरूलाई नेपाली समाजमा हरेक कुरामा चुनौती हुने गरेको उनलाई थाहा छ । भन्छन्, ‘अपाङ्गता भएका व्यक्तिबाहेक हाम्रो समस्या बुझिदिन चाहने सायदै छन्, त्यसैले मैले बिग्रिएको ह्वीलचियर मर्मत गरेर बाँडेँ ।’

तस्बिर – रामकाजीबाट प्राप्त

उनले ‘वैदेश्वर स्वावलम्बन अपाङ्गता समाज’ नामको संस्था पनि खोलेका छन् । यो संस्थाले अपाङ्गता भएकालाई सीप सिकाउने, दैनिकी सहज बनाउने सामग्रीहरू प्रदान गर्ने गरेको छ । रामकाजीलाई अपाङ्गता भएकाहरूका लागि देशव्यापी जाने पैसा पालिका–पालिकामा छर्नुभन्दा जिल्ला–जिल्लाले अपाङ्गता भएकाहरूलाई सीप सिकाएर आधारभूत सामग्री दिए र आत्मनिर्भर बनाइदिए हुन्थ्यो भन्ने लाग्छ । उनको तर्क छ, ‘सीप सिकाएपछि उनीहरू आफैं खर्च जुटाउन सक्छन्, राज्यले बर्सेनि धेरै लगानी पनि गर्नु परेन, उनीहरूको दैनिकी पनि सहज हुने भयो ।

अपाङ्गता भएकालाई कनिका जस्तो पैसा नछरौं भन्ने उनको कुरा साँच्चै सही लाग्छ । खाली भत्ता वा कुनै सहयोगका नाममा केही रकम दिने र जुनीभरि पराश्रित बनाउने कुराभन्दा उनीहरूको अवस्था अनुकूल हुने खालको सीप सिकाऔं भन्ने कुरा साँच्चै राम्रो र सही पनि त हो । सीपले खान दिन्छ । सीपले बाँच्न सिकाउँछ । एकपटक सीप दिने हो भने सधैंभरि पैसा दिइरहनु पनि पर्दैन ।

जो–कोहीलाई जति बेला पनि अपाङ्गता हुन सक्छ । किनकि जीवनका हर जोखिम र सम्भावनाको साँचो व्यक्तिको हातमा हुँदैन । रामकाजीलाई लाग्नेजस्तो भगवानसँग हुन्छ कि हुँदैन थाहा छैन तर यो त सबैलाई थाहा छ, सबै कुराको रिमोट व्यक्तिसँग चाहिँ हुँदैन । उनले आफैंलाई नियाले र भने, ‘त्यस्तो हट्टाकट्टा थिएँ, मैले कहिले सोचेको थिएँ र अपाङ्गता होला भनेर ? तर आखिर भयो नै ।’

अहिले विभिन्न जिल्लामा अपाङ्गता भएकाहरूका लागि ह्वीलचियर र आत्मविश्वास बढाउँदै छन् रामकाजी । अपाङ्गता भएकाहरूको मनोरञ्जनका लागि बास्केटबल तथा क्रिकेट पनि खेल्छन् । जुम्लादेखि ओखलढुङ्गासम्म मात्र होइन, खेल खेल्न भारतसमेत पुगेका छन् । अपाङ्गता भएकाहरूबीच हुने खेलले अपाङ्गता भएकाहरूमा आत्मविश्वास बढाउने गरेकोे अनुभव छ, उनीसँग । ‘व्यावसायिक खेलाडी त होइन, तर हामी जस्तालाई मनोरञ्जन तथा आत्मविश्वास बढोस् भनेर खेल्छु,’ उनले शिक्षापत्रलाई सुनाए ।

पहिले जस्तो कुनै निराशा वा गुनासो छैन । उनी खुसी छन् । किनकि रामकाजीको जिन्दगीले आफ्नै लय समाइसकेको छ । लामो कुराकानीपछि एउटा मनको कुरा पनि खुसुक्क सुनाए, ‘मन मिल्ने कोही भेटिए बिहे गर्ने रहर छ ।’

प्रकाशित : आश्विन ९, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप युवा

गजलमा युवा

अघिल्लो वर्षबाट नेपाल प्रज्ञा प्रतिष्ठानले पनि भव्य रूपमा गजल महोत्सव सुरु गरेको थियो। कोरोना महामाहरीका कारण मेहफिलहरू भर्चुअल दुनियाँमा सीमित हुन बाध्य छन्।

म्युजिक भिडियोमै मख्ख

कलाकारका लागि म्युजिक भिडियो आम्दनीको स्रोत भए पनि लगानीकर्ताका लागि आम्दानीका स्रोत बन्ने अवस्था आइसकको छैन। त्यसकारण पनि लगानीकर्ताले भाइरल प्रवृत्तिको पछि लाग्नुभन्दा गीतको मर्मलाई केन्द्रमा राख्नुपर्ने निकेशको सल्लाह छ ।

संकटका साथी

लकडाउन सुरु हुने भएपछि उनीहरूलाई लाग्याे आफुले जानेको कुरा गराै‌ं जसले संकटका बेला आम नागरिकलाई सहयोग गरोस्। उनीहरूको मतो मिल्यो। नाम जुराए–‘संकटमा साथी र सुरु गरे पडकास्ट। जुन अहिले २० वटा रेडियाेबाट पनि प्रसारण भइरहेकाे छ ।

३० जेष्ठ २०७८, आईतवार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo