स्वास्थ्य / वातावरण

कानुन कागजमा, झोला बजारमा

प्लास्टिक प्रयोग उस्तै, नपरी नचेत्ने हाम्रो बानी

एजुकेशन टाइम्स संवाददाता
उपेन्द्र खड्का
आश्विन ११, २०७७

काठमाडाैं– ललितपुर जावलाखेलमा रहेको सदर चिडियाखाना दिनहुँ सयौं मानिस पुग्ने एउटा गन्तव्य हो । जनावर हेरेर रमाउन मात्र होइन जनावरबारे धेरै कुरा थाहा पाउन मानिसहरु पुग्ने यो ठाउँका केही नियम छन् । यहाँ रहेका जनावरलाई जिस्क्याउन, दुःख दिन र खानेकुरा खुवाउन नपाइने नियम छ । यहाँ अर्को पनि नियम छ, त्यो हो प्लाष्टिकका झोला लैजान नपाउनु ।

जनावर बस्ने ठाउँमा प्लाष्टिक लैजान किन नपाइएको होला ? प्रश्न उठ्न सक्छ । यो त्यसै हचुवाका भरमा बनाइएको नियम होइन । घुम्न जाने मानिसले जथाभावी फाल्ने प्लाष्टिकका थैलाले चिडियाखाना हेरिनसक्नु कुरुप बनायो । यो त छँदै थियो, प्लाष्टिकका थैला र खोल खाएर जनावर बिरामी पर्न थाले । केही त मरे नै । त्यसपछि यो क्षेत्रलाई ‘प्लाष्टिक मुक्त’ बनाइएको हो । प्लाष्टिकजन्य फोहोरले आजित भएपछि चिडियाखानाले सन् २००९ जुन ५ बाट प्लाष्टिक झोला निषेध गरेको हो । ‘अब चाउचाउ लगायत प्लाष्टिक प्याकेटका खाना समेत भित्र ल्याउन निषेध गर्ने तयारी भइरहेको छ ’ चिडियाखानाकी सूचना अधिकारी लिना चालिसेले शिक्षापत्रसँग भनिन् ।

अहिले चिडियाखानाभित्र प्लाष्टिकजन्य फोहोर देखिँदैन । जनावरहरु बस्ने चिडियाखानामा प्लाष्टिक लैजान पाइँदैन । तर मानिस बस्ने ठाउँमा भने प्लाष्टिकको प्रयोग रोकिएको छैन । प्रयोग नगरे पनि हुने अवस्थामा पनि प्लाष्टिकको उपयोग रोकिएको छैन । यसले हानि गर्छ भन्ने थाहा पाएरै पनि हामीले यसको प्रयोग रोकेका छैनौँ । हाम्रो हेलचेक्र्याईँ यसको सबैभन्दा मुख्य कारण हो ।

यसो गरौं न
गायिका अन्जु पन्त सामान किन्न पसल जाँदा कपडाको हाते झोला पनि सँगै लिएर जान्छिन् । किनमेलका लागि सुपरमार्केटमा जाँदा सकभर प्लाष्टिकको झोला प्रयोग गर्दिनन् । ‘सुपरमार्केटमा जाँदा पनि सामान बास्केटमा हाल्छु र गाडीमा राखेर ल्याउँछु’, त्यतिमात्रै होइन घरमा ल्याएका हार्पिक, स्याम्पु, दुध लगायतका बट्टा र खोल पनि जम्मा पारेर पुनपर्योग गर्ने अर्थात रिसाइकलका लागि दिने गरेको उनले सुनाइन् । सकेसम्म प्लाष्टिकको प्रयोगै नगर्न र गरे पनि नजलाउन, गायिका पन्त आग्रह गर्छिन् ।

जनस्वास्थ्य तथा पोषणविद डा. अरुणा उप्रेती त यसबारेमा झनै सचेत छिन् । सामान किन्न जाँदा कपडाको झोला साथैमा लैजाने त छँदैछ । सामान प्याक गरेर आउने प्लाष्टिकका प्याकेट जम्मा पारेर पसलमै लगिदिने गरेको उनी बताउँछिन् । चिया पनि प्लाष्टिकको कपमा नपिउने उनले सुनाइन् । ‘म त झोलामा काँच अथवा स्टिलको गिलास बोकेरै हिंड्छु’, डा उप्रेतीले शिक्षापत्रलाई सुनाइन्, ‘त्यसैमा चिया खान्छु ।’ घरमा प्लाष्टिक नभित्र्याउन पन्त र उप्रेतीले अपनाउने गरेका तरीका, केही नमूना हुन् । अब कुरा गरौं, प्लाष्टिक निषेध गर्ने केही प्रयासको ।

भएका छन् प्रयास
प्लाष्टिक निरुत्साहनको कुरा गर्दा इलाम नगरपालिका उदाहरणीय छ । करिब सात वर्षअघि हो, नगरपालिकालाई प्लाष्टिक झोला निषेधित क्षेत्र घोषणा गरिएको । तर पसलदेखि घरघरसम्म प्लाष्टिकको झोला प्रयोग गर्ने गरिएको त्यसबखत बन्देज लगाउन सजिलो थिएन । त्यसैले चलाखीपूर्ण तरिका अपनाइयो । एकैचोटी प्लाष्टिक झोला निषेध गरिएन । प्लाष्टिकले इलाम शहर कुरूप भइरहेकाले कसरी सुन्दर बनाउने भन्ने विषयमा समुदाय, संघसंस्था र सरोकारवालासँँग बहस र समन्वय गरियो । ‘नयाँ प्लाष्टिक झोला आयात र उत्पादन गर्न दिएनौं, इलाम नगरपालिकाका तत्कालीन कार्यकारी प्रमुख महेन्द्रकुमार खाम्याहाङ सम्झिन्छन्, ‘छ महिनापछि प्लाष्टिकका झोला किनबेच गर्न नपाइने व्यवस्था गर्यैं र त्यो अवधिमा नगरबासीलाई प्लाष्टिकका झोला प्रयोग गर्न नहुने रहेछ भन्ने कुरा बुझायौँ ।’ नियमित अनुगमन गरियो । नगरपालिकामा प्लाष्टिकका झोला विक्रि गर्नेलाई एक सय रुपैँया र किन्नेलाई ५० रुपैयाँ जरिवाना गर्ने व्यवस्था गरियो र इलाम नगरपालिका प्लाष्टिकमुक्त भएर नमुना बन्यो ।

राजधानीको कुरा
प्लाष्टिक मुक्त क्षेत्रको अर्को उदाहरण हो, नेपाली सेनाको मुख्य कार्यालय अर्थात ‘जंङ्गी अड्डा’ । जुन प्लाष्टिक मुक्त क्षेत्र हो । सेनाको मुख्यालय मात्रै होइन, सेनाका सम्पूर्ण इकाइमा प्लाष्टिकका झोलालाई निरुत्साहित गरिएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले शिक्षापत्रलाई जानकारी दिए । मातहतका निकायमा भने कार्यान्वयनको चरणमै रहेको उनको भनाइ छ ।

यस्तै, कीर्तिपुर नगरपालिकाले पनि ‘फोहोरमैला व्यवस्थापन तथा प्लाष्टिक झोला प्रतिबन्ध सम्बन्धि निर्देशिका, २०७५’ जारी गरेको छ । नगरपालिकामा प्लाष्टिक झोलाको प्रयोग कम गर्न जनचेतनामुलक कार्यक्रम भइरहेको नगर उप–प्रमुख सरस्वती रिजालले जानकारी दिइन् । स्थानीय महिलालाई गत वर्षदेखि कपडाको झोला बनाउने तालिम दिन थालिएको छ । अब बिस्तारै नगरपालिकाभित्र प्लाष्टिकका झोलाको प्रयोगमा पूर्ण रुपमा रोक लगाउने तयारी छ । केही डिपार्टमेन्ट स्टोर र मार्टहरुले प्लाष्टिक झोलालाई निरुत्साहन गरेको देखिन्छ । केही स्थानीय तहले पनि प्लाष्टिक झोला नियन्त्रणको प्रयास गर्न थालेका छन् ।

इलाममा जस्तै चिडियाखानामा पनि प्लाष्टिक झोला निषेध गर्न चुनौती थियो । कतिपय व्यक्ति त चिडियाखानाभित्र झोला लान नपाएको झोंकमा झगडा गर्न पनि खोज्थे । तर, विस्तारै बुझ्दै जान थाले । अहिले जैविक र अजैविक फोहोर फाल्ने फरक–फरक टोकरी राखिएको छ । सूचना अधिकारी चालिसेका अनुसार ‘चिडियाखानाको मित’ अर्थात् ‘फ्रेण्ड अफ जु’ कार्यक्रम पनि राखिएको छ । गत वर्षको तथ्यांक अनुसार, यो कार्यक्रममा करिब ८० हजार विद्यार्थी सहभागी छन् । उनीहरुले विद्यालयस्तरमा पनि प्लाष्टिक झोला निरुत्साहित गर्न सहयोग मिलेको चालिसेको बुझाइ छ ।

कानूनमा यस्तो
प्लाष्टिक झोला प्रयोगलाई निरुत्साहन गर्ने उद्धेश्यले ‘प्लाष्टिक झोला (नियमन तथा नियन्त्रण) निर्देशिका, २०६८’ जारी भएको छ । निर्देशिका अनुसार ३० माइक्रोनभन्दा कम मोटाइको प्लाष्टिक झोलाको उत्पादन, भण्डारण, बिक्री वा प्रयोग गर्न पाइँदैन । यसो गरेमा त्यस्ता कम्पनीको दर्ता खारेजी गर्ने प्रावधान राखिएको छ ।

सरकारले काठमाडौं उपत्यकालाई स्वच्छ, सफा र प्रदुषणमुक्त बनाउने भन्दै २०७२ साल वैशाखदेखि लागू हुनेगरी ४० माइक्रोन मोटाइसम्मका प्लाष्टिक झोलाको आयात, भण्डारण, विक्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाएको थियो । तर, विना विकल्प यस्तो निर्णय गरेको भन्दै प्लाष्टिक उत्पादक व्यवसायीले चर्को विरोध गरेपछि सरकारले कार्यान्वयन गर्नै सकेन ।

बौद्धमा प्लास्टिकसहितका फोहरमैला संकलन गरिदैं । तस्बिर– दिनेश गाेले

हुन त सरकारले २०६३ साउनदेखि प्लाष्टिक र पोली प्रोपिलिन झोलामुक्त नेपाल घोषणा पनि गरेको हो । प्लाष्टिक झोला प्रतिबन्ध गर्ने सरकारी निर्णयसँगै नेपालमा प्लाष्टिक तथा पोली प्रोपिलिन झोला आयात, निर्यात, विक्रि वितरण र उपयोग गर्न पनि नपाइने हो । तर, व्यावहारिक रूपमा नेपालका केही थोरै स्थान बाहेक प्लाष्टिक झोलाको प्रयोग यत्रतत्र सर्वत्र छ । न त सरकारले अनुगमन गरेको छ न त नागरिकले नै यो हाम्रो स्वास्थ्य र जीवनका लागि घातक भएकाले प्रयोग गर्दिन भन्ने नै बुझेको देखिन्छ ।

छैन असम्भव
सरोकारवालाका अनुसार प्लाष्टिक झोला एकैचोटी प्रतिबन्ध गर्न गाह्रो छ । तर, विकल्प दिएर भने विस्तारै प्लाष्टिक झोला नियन्त्रण गर्न सकिने वातावरणविद् भुषण तुलाधर बताउँछन् । ‘प्लाष्टिक झोला प्रयोगका विकल्प हुँदै नभएका हैनन्’, उनले भने, ‘सुरुमा जनचेतना जगाउनुपर्छ र अलि कडाइ गर्दै नियन्त्रण गर्न सकिन्छ ।’

तर, सरकारसँग प्लाष्टिक झोला प्रतिबन्ध गर्ने ठोस योजना नै देखिँदैन । वातावरण मन्त्रालय स्रोतका अनुसार नेपालमा प्लाष्टिक झोला उत्पादक उद्योगलाई कुनै विकल्प दिने बारे कुनै कार्यक्रम बनेको छैन ।

प्लाष्टिकको प्रयोग निरुत्साहन गर्न विद्यालय स्तरदेखिनै चेतनामुलक कार्यक्रम गर्न सके प्रभावकारी हुने डाक्टर उप्रेती बताउँछिन् । तर विद्यालयमै प्लाष्टिकका प्याकेटका खाजा लैजाने र घरमा अभिभावकले पनि प्लाष्टिकको मनग्य प्रयोग गर्नाले बालबालिकामा यो प्रयोग गर्न नहुने चिज हो भन्ने ज्ञान नै दिन नसकिएको अवस्था छ ।

नचेत्ने हामी
प्लाष्टिक यत्ति जब्बर हुन्छ कि, ४० वर्षभन्दा बढी समयसम्म पनि कुहिँदैन । प्लाष्टिकजन्य फोहोरले वातावरणीय प्रदुषण त हुन्छ नै मानव स्वास्थ्यमा समेत असर पर्ने भएकाले बेलैमा सचेत हुनुपर्ने वातावरणविद्को सुझाव छ । वातावरणविद् तुलाधरले भने, ‘प्लाष्टिक जलाउँदा निस्कने हानिकारक ग्यासले स्वास्थ्यमा सिधै नकारात्मक असर गर्छ ।’ त्यसैगरी प्लाष्टिक जम्मा भएर ढल बन्द हुने, ठाउँ कुरूप हुने त सामान्य असर भइहाले ।

प्लाष्टिक झोलामाथि कडाइ गर्न थालेको झण्डै डेढ दशक हुँदा समेत सरकारसँग कुन–कुन स्थानीय तहले प्लाष्टिक झोला निषेध गरेका छन् भन्ने तथ्यांक समेत छैन । तालुकदार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय समेत यसबारे बेखबर छ । मन्त्रालयका उप–सचिव डिलाराम पन्थी, कुन–कुन स्थानीय तहले प्लाष्टिक झोला मुक्त घोषणा गरेका छन् भन्ने यकिन तथ्यांक नभएको स्वीकार्छन् । ‘स्थानीय तहले आ–आफ्नै ढंगले वातावरण संरक्षणका विभिन्न कार्यक्रम गरेको देखिन्छ । त्यो स्थानीय तहको कार्य हो । तर, सरकारसँग स्थानीय तहले गरेको कार्यको विवरण चाहिँ छैन ।’

त्यसो त गाउँपालिका राष्ट्रिय महासंघका अध्यक्ष होमनारायण श्रेष्ठले पनि, प्लाष्टिकमुक्त घोषणा भएका गाउँपालिकाको संख्या दिन सकेनन् । नगरपालिका संघ नेपालका अध्यक्ष अशोक ब्याञ्जुका अनुसार ‘करीब सात वटा’ नगरपालिकाले प्लाष्टिक झोला निषेध गरेका छन् । साथै कतिवटाले प्रभावकारी काम गरेका छन् भन्ने कुरा पनि यकिन गर्न नसकिएको मर्म उनले सुनाए ।

विश्वका कैयौं मुलुकले प्लाष्टिक झोला निषेध गरेका छन् । दक्षिण एसियाली मुलुक बंगलादेशले प्लाष्टिकका कारण ढल जाम भएर बाढी आएपछि, प्लाष्टिक झोला निषेध गरेको दृष्टान्त, तुलाधरले सुनाए । नेपालले चेत्ने चाहिँ कहिले हो, भन्नै मुस्किल छ । नपरी नचेत्ने बानी हामीलाई जो लागेको छ ।

प्रकाशित : आश्विन ११, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप स्वास्थ्य / वातावरण

थप २७ सय ३६ जनामा कोरोना

पछिल्लो २४ घण्टामा थप २२ जनाको कोभिड–१९ का कारण ज्यान गएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार १ सय ४८ पुगेको छ।

जाडोमा झन् जोखिम

जाडोमा सूर्यको प्रकाश कम हुँदा शरीरमा भिटामिन डीको कमी हुन्छ। जसले गर्दा कोषहरूमा असर पर्छ। र शरीरमा प्रतिरोधी क्षमतामा पनि कमी हुन्छ। त्यो समयमा भाइरसले शरीरमा तुलनात्मक रूपमा बढी असर पार्छ।

थप २५ सय ५१ जनामा कोरोना

काठमाडौंमा १ हजार १ सय ३६, ललितपुरमा २ सय १ र भक्तपुरमा ९१ जना गरी काठमाडौं उपत्यकामा १ हजार ४ सय २८ जना छन् ।

९ श्रावण २०७८, शनिबार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo