सुदूरपश्चिम प्रदेश

मासिँदै मास्या

डोटीको मौलिक परिकार ‘मास्या रोट’ अब पकाउने कसले ?

एजुकेशन टाइम्स संवाददाता
निर्मला खडायत
आश्विन १३, २०७७

कैलाली– मास्या रोट । मासको दाल र चामलको पिठोबाट बन्ने विशेष परिकार । डोटी जिल्लाको प्रसिद्ध र मौलिक खान्की। कुनै बेला डोटीका हरेक घरमा पाक्ने मास्या रोटीको स्वाद अचेल बिरलै चाख्न पाइन्छ । कारण हो, धेरैले यो परिकार बनाउनै छाडेका छन्।

कञ्चनपुर बेल्डाडी गाउँपालिकाकी बाटुदेवी बलायरको कुरा भने बेग्लै छ । उनको घरमा यो परिकार पाक्न छाडेको छैन । पहिला झैं नपाके पनि पहिचान जोगाउनकै लागि बाटुदेवी कहिलेकाहीँ पकाउँछिन्।

नाति–नातिना पनि मास्या रोट पाकेको दिन हुरुक्कै हुन्छन् । हजुरआमाले बनाइदिएको दिन मात्रै उनीहरू खान पाउँछन् । रोटी बनाउन त्यति गाह्रो नभए पनि अचेलका बुहारीहरूले बनाउने इच्छै नगरेको बाटुुदेवीको अनुुभव छ। परिवारका १२ सदस्यमध्ये मास्या रोट बनाउन बाटुदेवीलाई मात्रै आउँछ।

‘हमले आफ्ना सासू बठेइ सिक्या । अचेलका ब्वारिन्, बनाउनुइ नजान्ना,’ मास्या रोट बनाउँदै गरेकी बाटुदेवीले माैलिक लवजमा भनिन् । (यो परिकार बनाउन मैले सासूआमा बाट सिकेकी हुँ । अहिलेका बुहारीलाई यो रोटी बनाउन आउँदैन)
बाटुुदेवीका अनुुसार मास्या रोट बनाउन एक दिनअघि मास भिजाउनुपर्छ।

भिजाएको मासलाई दोस्रो दिन मसिनो गरी पिस्नुपर्छ । त्यसैमा नुन, बेसार मिसाउनुपर्छ । मास र मसला तयार पारिसकेपछि, चामलको पिठोलाई पातलो हुने गरि पानी हालेर फिट्नुपर्छ । अनि बल्ल रोट बनाउन सुरु गर्न सकिन्छ। ‘रोट आगोमा पकाउँदा मिठो हुन्छ । तर, यसलाई ग्यासमा पनि बनाउन सकिन्छ । मास सिलौटोमै पिसेको राम्रो, मिक्स्चरमा पनि पिस्न सकिन्छ,’ बाटुदेवी भन्छिन्।

रोट बनाउँदा आवश्यक सामग्री तयार पारिसकेपछि तावामा पातलो गरी चामलको पिठोको लेप लगाउनुपर्छ । त्यसमाथि मासको लेप लगाउनुपर्छ । एकफेर बनाइएको माणा (चामलको रोटी)मा माथिबाट घिउ पनि लगाइने भएकाले यो परिकार साह्रै मिठो हुन्छ।

रोटको दुवैतिर पाकिसकेपछि त्यसलाई तावाबाट निकालेर चुलोको छेउछाउ कोइलामा सेक्नुपर्छ । कोइलामा जति सेक्यो रोट त्यति राम्रो बन्ने गरेको बाटुदेवीको अनुुभव छ। ‘मास्या रोट स्वादिष्ट र शरीरका लागि फाइदाजनक छ,’ बाटुदेवीका श्रीमान् तुले बलायर भन्छन्, ‘पहिले हरेक चाडपर्व, मेला महोत्सव र गोठालो जाँदा आमाले यही परिकार बनाएर दिनुहुुन्थ्यो।’

अहिले धेरै बालबालिका र छोराबुहारी विदेशी परिकार खान मन पराउँछन् । चाउचाउ, मःम, पिज्जा, बर्गरमै भुलेका छन् । डोट्याल (डोटीवासी)ले आफ्नो मौलिक स्वाद बिर्सिएको तुलेलाई मन परेको छैन । छोराछोरीलाई चाउचाउ, चाउमिनको साटो विद्यालय जाँदा मौलिक परिकार नै दिनु उत्तम हुने उनको सुुझाव छ।

‘मानिसहरू छोराछोरीलाई मःम, चाउमिन, पिज्जा बनाउन सिकाउँछन् तर स्वास्थ्यका लागि हितकर आफ्नै मौलिक परिकार बनाउन सिकाउँदैनन्,’ तुलेको गुनासो छ। तुले बलायरका घरमा तीनजना बुहारी भित्रिएको लामो समय भइसकेको छ । तीनै बुहारीलाई बाटुले रोट बनाउँदा हरेक पटक ध्यान दिन र सिक्न अनुरोध पनि गर्छिन् । तर, कसैले पनि यसमा चासो दिएको देखिँदैन ।

‘रोट बनाउन त आउँछ तर झन्झट लाग्छ । त्यो बनाउन भन्दा त पास्ता बनाउन सजिलो,’ जेठी बुहारी गोमती बलायर भन्छिन्। गोमती आफ्ना छोराछोरीलाई विद्यालय जाँदा रोटको साटो पास्ता र चाउचाउ बनाएर दिने गरेको बताउँछिन्। ‘एक डेढ घण्टा समय लगाएर रोट बनाउनभन्दा बच्चाहरूलाई १०, २० रुपैयाँ दिएर बाहिर नास्ता गर भन्छु,’ गोमती भन्छिन्।

तुले भने बुहारीहरूलाई धेरैपटक नातिनातिनालाई बाहिरको परिकार नखुवाउन भन्दा पनि नमानेको गुनासो गर्छन् । बाहिरको खानाका परिकार रोगको घर भएको उनको ठम्याइ छ । ‘बाहिरका खाना खाएर बिरामी हुनुुभन्दा आफ्नो मौलिक परिकार खाएर स्वस्थ रहन जाती,’ तुले भन्छन्, ‘पुरानो पुस्तासँग नयाँ पुस्ताले यस्ता परिकार बनाउने शिक्षा लिनैपर्छ।’

प्रकाशित : आश्विन १३, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप सुदूरपश्चिम प्रदेश

गिट्टीले भएन गुुजारा

स्थानीय सरकारले केही सीप सिकाइदिए गिट्टी कुट्ने काम छोडिदिने बल्मीकी यशोदा विष्ट बताउँछिन् । एसएलसीसम्म अध्ययन गरेकी यशोदाले सीप नभएकाले अन्य काम गर्न नसकेको बताइन्।

‘मेरो विशेषज्ञता, मेरै प्रदेशका लागि’सहित शिक्षालाई जोड दिँदै सुदरपश्चिम प्रदेश

प्रदेशस्तरमा विश्वविद्यालय, प्राविधिक विद्यालय, तथा पोलिक्लिनिक संस्था स्थापनाको लागि सम्भाव्यता अध्ययन गर्न आवश्यक बजेट विनियोजन गरिएको प्रदेश सरकारले जनाएको छ ।

सुदूरपश्चिमका ९ क्याम्पसको स्तरोन्नति

असार ३० गते बसेको मन्त्रीस्तरीय बैठकको निर्णयले प्रत्येक जिल्लाको एउटा क्याम्पसलाई नमूना क्याम्पसको रुपमा स्तरोन्नति गरेको मन्त्रालयलका शाखा अधिकृत जयदेव महराले जानकारी दिए ।

९ श्रावण २०७८, शनिबार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo