स्वास्थ्य / वातावरण

सौन्दर्य सकस

आफ्नो रूप आफैंलाई नराम्रो लाग्नु ‘बडी डिस्मर्फी डिसअर्डर’को लक्षण हुन सक्छ

एजुकेशन टाइम्स संवाददाता
उपेन्द्र खड्का
आश्विन १४, २०७७

काठमाडौं– झापाकी २२ वर्षीया सम्झना बस्नेत (नाम परिवर्तन) निकै सुन्दर थिइन् । बिस्तारै उनलाई आफ्नै नाक लामो लाग्न थाल्यो । नाक नसुहाउँदाे भएर अनुहारको सौन्दर्य नै बिग्रिएको ठान्दै उनी तनावमा परिन् । उनले सर्जरी गरिन् । नाकको आकार मिलाइन् । तर, सर्जरीपछि नाक झन् बिग्रिएको भन्दै दिक्क मान्न थालिन्।

तनावको तह झन् बढ्यो । आफ्नो नाक देखेर अरूले गिज्याउने पो हुन् कि भनेर घर बाहिरै निस्कन छाडिन् । समस्या बढ्दै गएपछि दुई वर्षअघि सम्झना मनोविद् करुणा कुँवरकहाँ पुगिन् । उनी डिप्रेसनकै चरणमा पुगिसकेकी थिइन्।

खानपानसमेत छोडेकी थिइन् । सम्झनामा सानैदेखि आत्मबल कमजोर हुने, तनाव लिनेजस्तो सामान्य मानसिक समस्या थियो । १५/१६ वर्षको किशोरी अवस्थापछि ‘बडी डिस्मर्फी डिसअर्डर’ थपिएछ । मनोपरामर्श तथा औषधि उपचारपछि भने सम्झना सामान्य अवस्थामा फर्किइन्।

वासमती शर्मा (नाम परिवर्तन)को समस्या पनि नाककै हो । वासमती १४ वर्षको उमेरमा लडेकी थिइन् । नाकमा सानो चोट लाग्यो । घाउ त निको भयो तर नाकमा खत देखियो । त्यही खतकै कारण उनको चिन्ता बढ्न थाल्यो।

खत देखेर साथीहरूले वासमतीलाई गिज्याउन पनि थाले । ‘तँ जस्तीलाई कसले मन पराउँछ ? तेरो त बिहे हुन गाह्रो छ’ भन्दै साथीहरूले हैरान पार्दा वासमतीको मन कटक्क खान्थ्यो । साथीहरूले गिज्याउन थालेपछि वासमती स्कुल जान छाडिन् । उनमा ‘म कुरूप रहेछु’ भन्ने तनाव बढ्दै गयो । कसैले गिज्याउने पो हुन् कि भनेर घरबाहिर निस्कनसमेत छाडिन् । निस्किहाल्नुपर्दा मान्छेको चहलपहल कम भएको मौका छोपेर साँझमा मात्रै निस्कन्थिन्।

२४ वर्षको उमेरमा उनको विवाह भयो । श्रीमानले ‘कुरूप छेस्’ भन्लान् भन्ने भयले उनी श्रीमानको छेउसमेत पर्न डराउँथिन् । विवाहपछि पनि उनी घरबाहिर निस्किइनन् । पारिवारिक खटपट बढ्दै गएपछि एक्लै बस्न थालिन् । डिप्रेसनको चरणमा पुगिन् र आत्महत्याको प्रयास समेत गरिन्।

२८ वर्षीया वासमती दुई वर्षअघि मनोविद् गोपाल ढकालकहाँ पुगिन् । ढकालले समस्याको पहिचान गर्दा थाहा भयो, उनलाई बडी डिस्मर्फिक डिसअर्डर भएको रहेछ । ढकालले मनोपरामर्श तथा साइको थेरापी उपचार विधि अपनाएपछि उनको समस्या समाधान हुँदै गयो।

डन्डीफोर र आँखी भौंको भ्रम
वासमतीकै जस्तो समस्या लिएर एक वर्षअघि २४ वर्षीया अविवाहित भजन श्रेष्ठ (नाम परिवर्तन) लाई मनोविद् ढकालकहाँ पुर्‍याइयो । उनलाई ‘डन्डीफोरले अनुहार कुरूप भयो’ भन्ने चिन्ताले सताएको थियो। वास्तविकता त्यस्तो थिएन । उपचारपछि ती युवाको समस्या समाधान भएको ढकाल बताउँछन्।

२७ वर्षीया अविवाहित गुणकेशरी मगर ब्युटिपार्लरमा थ्रेडिङ (आँखी भौंका रौं मिलाउन) जान्थिन् । गुणकेशरीलाई आफ्नो एकपट्टिको आँखी भौं नै तल खसेको भान भएछ । ब्युटिपार्लरमा आँखी भौं निकाल्ने क्रममा तानिएर आँखी भौं नै तल झरेको उनलाई भ्रम भयो । मनको समस्या बढ्दै गएपछि परिवारले उनलाई लगनखेलस्थित मानसिक अस्पतालका प्रमुख कन्सल्ट्यान्ट साइक्याट्रिस्ट (मनोचिकित्सक) डा. अनन्त अधिकारीकहाँ पुर्‍याए । डा. अधिकारीले पत्ता लगाए, ‘बडी डिस्मर्फिक डिसअर्डर’ को समस्या । उपचार सुरु भयो । उपचारकै क्रममा रहेकी गुणकेशरीको समस्या समाधान हुँदै गएको छ।

पुरुषका आफ्नै व्यथा
३२ वर्षीय कृष्ण गुरागाईं (नाम परिवर्तन) लाई एक दिन आफ्नो लिंगको आकार सानो लाग्यो । लिंग सानो भएकाले सम्भोग क्षमता घट्दै गएको र श्रीमतीले समेत बेवास्ता गर्न थालेको उनलाई महसुस भयो।

श्रीमतीलाई सन्तुष्टि दिन नसकेकोमा कृष्णलाई हीनताबोध मात्रै भएन, श्रीमतीसँग किचकिच नै हुन थाल्यो । समस्या बढ्दै गएपछि डेढ वर्षअघि मनोपरामर्शका लागि उनलाई लिएर श्रीमती आफैं मनोविद् कुँवरकहाँ पुगिन्।

समस्याको पहिचान भयो, कृष्णलाई ‘बडी डिस्मर्फी डिसअर्डर’ नामक मानसिक समस्याले सताएको रहेछ । ‘समस्या पहिचानपछि कृष्णमानलाई मैले मनोपरामर्श दिएँ । केही महिनाको मनोपरामर्शपछि उनी समस्यामुक्त भए।’

के हो डिस्मर्फिक डिसअर्डर ?
आफू सुन्दर छैन भन्ने सोच आउने मानसिक समस्यालाई चिकित्सकीय भाषामा ‘बडी डिस्मर्फिक डिसअर्डर’ भनिन्छ । मानिसले आफ्नो रूपको सामान्य चिन्ता लिनु स्वाभाविक हो । तर, अनावश्यक चिन्ता बढ्दै गए यो समस्या रोगमा परिणत हुन सक्छ।

मनोविद् कुँवरका अनुसार कतिपयमा बडी डिस्मर्फिक डिसअर्डरको मात्रै लक्षण देखिन्छ भने कतिपयमा अन्य मानसिक रोगका लक्षण पनि देखिन्छन् । ‘यस्तो लक्षण लिएर चिकित्सककहाँ पुग्नेमध्ये कि त बडी डिस्मर्फिक डिसअर्डरको लक्षण लिएर आउँछन् या त सिजोफ्रेनियाको,’ डा. अधिकारी भन्छन्।

मनोचिकित्सकका अनुसार कुनै मानसिक रोगको समस्या देखिएका व्यक्तिमा बडी डिस्मर्फिक डिसअर्डर समस्या थपिँदा अवस्था थप जटिल हुन्छ । यो डिसअर्डर भइसकेपछि पनि डिप्रेसन, एन्जाइटीजस्ता मानसिक समस्या थपिन सक्छन्।

लक्षण तथा व्यवहार
लक्षण तथा व्यक्तिले गर्ने व्यवहारका आधारमा बडी डिस्मर्फिक डिसअर्डरको समस्या छुट्याउन सकिने मनोचिकित्सकको अनुुभव छ । यस्तो रोग लागेका मानिस आफ्नो अनुहार कुरूप ठानेर पटक–पटक ऐना हेरिरहन्छन् । उनीहरू एउटा आँखा सानो भएको, नाक नमिलेको, कपालको रंग नमिलेको, शरीरभरि रौं पलाएको, शरीरमा नसैनसा भएको, शरीर नमिलेको, मोटो वा पातलो भएको भ्रममा पिरोलिन्छन्।

मनोविद् कुँवरका अनुसार शारीरिक उचाइको समस्याले सताउने पुरुष बढी हुन्छन् । महिला भने स्तनको आकार नमिलेको, हिप नमिलेको, अनुहार सुन्दर नभएको भन्दै परामर्श तथा उपचारका लागि पुग्छन्। ‘स्तन नमिलेको चिन्ताले सताउँदा महिलाले स्तनको कस्मेटिक सर्जरी समेत गरेको पाइन्छ,’ कुँवर भन्छिन्, ‘कोही मोटो छु भनेर खानै नखाने, कोही पातलो छु भनेर खाएको खायै गर्ने हुन्छन्।’

यो रोग लागेका व्यक्ति कसरी सुन्दर हुन सकिन्छ भन्ने चिन्ताले पटकपटक मेकअप तथा सिँगारपटार गरिरहने मनोविद् ढकाल बताउँछन् । बारम्बार ड्रेस फेरिरहने, गेटअप परिवर्तन गरिरहने व्यवहार देखाउनु बडी डिस्मर्फिक डिसअर्डरका लक्षण हुन्।

‘पटक–पटक आफ्नो सौन्दर्यबारे अरूलाई सोधिरहन्छन्,’ ढकाल भन्छन्, ‘आफूलाई अरूसँग तुलना गर्छन् । अरूले सुन्दर भन्दिए पनि विश्वास गर्दैनन्।’

समस्या बढ्दै जाँदा निद्रा नलाग्ने, खान र घर बाहिर हिँड्न मन नलाग्ने जस्ता लक्षण देखिन्छन्।

बढाउँछ, डिप्रेसन
बडी डिस्मर्फिक डिसअर्डर समस्या बढ्दै गए पारिवारिक सम्बन्धमै असर पर्छ । दैनिक काममा व्यावधान खडा हुन्छ । करिअरमा बाधा पर्छ । समस्या बढिरहे ‘अब्सेसिभ कम्पल्सिभ डिसअर्डर’को पनि जोखिम हुन्छ।

एउटै विचार तथा व्यवहार बारम्बार दोहोरिने सोच तथा व्यवहारलाई मनोचिकित्सकीय भाषामा ‘कम्पल्सिभ अब्सेसिभ डिसअर्डर (ओसीडी)’ भनिन्छ । यो समस्या भएको अवस्थामा व्यक्तिमा पटक–पटक ऐना हेरिरहने, हात धुनेजस्ता लक्षण देखिन्छन्।

मनोचिकित्सकका अनुसार बारम्बार आफूलाई ‘आफैं सुन्दर छैन’ भन्ने लाग्नु पनि एक प्रकारको अब्सेसन हो।

‘बडी डिस्मर्फिक डिसअर्डरको समस्याबाट प्रभावितमध्ये ९० प्रतिशत व्यक्तिको जीवनकालमा डिप्रेसनको जोखिम हुन्छ,’ ढकाल भन्छन्, ‘७० प्रतिशतमा डरचिन्ता (एन्जाइटी) हुन सक्छ‍।’

यो रोगको समस्या भएका व्यक्तिले धूमपान तथा मद्यपान गर्न सक्छन् । मनोचिकित्सक यस्तो समस्या बढ्दै गए रोगीले आत्महत्या गर्ने जोखिमसमेत हुनेतर्फ सजग गराउँछन्।

महिलामै बढी किन ?
नेपालका कति व्यक्तिमा ‘बडी डिस्मर्फिक डिसअर्डर’को समस्या छ भन्ने यकिन तथ्यांक छैन । यो समस्या लिएर उपचारका लागि स्वास्थ्य संस्था पुग्ने व्यक्ति पनि कमै हुनेगरेको मनोचिकित्सक डा. अधिकारी बताउँछन्।

‘यो अलि रेयर कन्डिसन हो । वर्षमा करिब ८/१० वटा केस आउँछन्,’ डा. अधिकारी भन्छन् । मनोविद् कुँवर र ढकालकहाँ पनि वर्षमा ८/१० जना बिरामी बडी डिस्मर्फिक डिसअर्डरको समस्या लिएर पुग्छन् । मनोविद् कुँवरका अनुसार उनीकहाँ वर्षमा करिब तीन सय व्यक्ति मानसिक समस्या लिएर आउँछन्, जसमध्ये १० वटा जति यस्तो डिसअर्डरका केस हुन्छन् । यस्तो समस्या भएका लगभग १० मध्ये ६ जना महिला र ४ पुरुष हुने उनको अनुभव छ।

विकिपिडियामा प्राप्त तथ्यांकअनुसार संसारमा करिब २.४ प्रतिशत व्यक्तिलाई यो समस्याले प्रभावित बनाएको छ । यो समस्या पुरुषको तुलनामा महिलामा बढी हुनुको कारण समाजमा ‘महिला राम्रो हुनुपर्ने, देखिनुपर्ने’ मानसिकता नै हो।

‘कलिलै उमेरदेखि महिलाको शारीरिक सौन्दर्यमा बढी जोड दिइन्छ । महिलामै यस्तो समस्या बढी देखिनुको कारण यही हो,’ मनोविद् कुँवरको तर्क छ । मनोचिकित्सकको मतअनुसार विशेषगरी सौन्दर्यबारे बढी चासो राख्ने १५ देखि ४० वर्ष उमेर समूहका व्यक्तिमा यस्तो समस्या बढी देखिन्छ।

हुर्काइको परिवेश, वातावरण तथा बाल्यवस्थामा भएको दुर्व्यवहारले यस्तो समस्या उत्पन्न हुन सक्छ । त्यसैगरी कुनै दुर्घटनामा लागेको चोटपटकका कारण सौन्दर्य तनाव बढ्दै जाँदा यो समस्या उत्पन्न हुन सक्ने मनोचिकित्सकको मत छ । मस्तिष्कको रसायनमा हुने परिवर्तनको प्रभाव पनि देखिन्छ । पछिल्लो समयमा सेल्फी खिचेर र सामाजिक सञ्जालमा फोटो पोस्ट गर्दा कसैले नराम्रो भनिदिएको अवस्थामा पनि तनाव उत्पन्न हुन सक्नेतर्फ ढकाल सजग गराउँछन्।

बच्ने उपाय र उपचार
मनोविद् ढकालका अनुसार यो रोगको उपचार मनोपरामर्श र साइको थेरापी हो । यस्तो समस्या भएका व्यक्तिलाई साइको थेरापी उपचार विधिमध्येको ‘कग्निटिभ विहेवियरल थेरापी (सीबीटी) उपचार विधि अपनाइन्छ । यो थेरापी विधिबाट ‘म सुन्दर छैन भन्ने सोच तथा व्यवहार’मा परिवर्तन ल्याइन्छ । यो विधि प्रभावकारी भएको मनोचिकित्सकको दाबी छ।

डिप्रेसन तथा एन्जाइटी भएको अवस्थामा भने औषधिसमेत खानुपर्ने हुन्छ । यस्तो समस्या उत्पन्न हुन नदिन तनाव लिन नहुने मनोविद् ढकालको सुझाव छ । ‘आफू राम्रो छैन’ भनेर बारम्बार आउने सोचाइ वास्तविक नभएर रोगको लक्षण हो भन्ने कुरा समस्यामा परेका व्यक्तिलाई बुझाउनुपर्ने ढकालको सुझाव छ।

प्राकृतिक जीवनशैलीलाई अँगाल्ने हो भने यस्तो समस्याको जोखिम कम हुन्छ । व्यक्तिको शारीरिक बनावटको आधारमा सौन्दर्य परिभाषित गर्ने हो भने पनि यस्तो समस्याबाट बच्न सकिन्छ । शारीरिक मात्रै होइन, मानसिक सौन्दर्यलाई पनि ध्यान दिए यस्तो समस्या उत्पन्न नै नहुने कुँवरकाे सल्लाह छ।

प्रकाशित : आश्विन १४, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप स्वास्थ्य / वातावरण

थप २७ सय ३६ जनामा कोरोना

पछिल्लो २४ घण्टामा थप २२ जनाको कोभिड–१९ का कारण ज्यान गएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार १ सय ४८ पुगेको छ।

जाडोमा झन् जोखिम

जाडोमा सूर्यको प्रकाश कम हुँदा शरीरमा भिटामिन डीको कमी हुन्छ। जसले गर्दा कोषहरूमा असर पर्छ। र शरीरमा प्रतिरोधी क्षमतामा पनि कमी हुन्छ। त्यो समयमा भाइरसले शरीरमा तुलनात्मक रूपमा बढी असर पार्छ।

थप २५ सय ५१ जनामा कोरोना

काठमाडौंमा १ हजार १ सय ३६, ललितपुरमा २ सय १ र भक्तपुरमा ९१ जना गरी काठमाडौं उपत्यकामा १ हजार ४ सय २८ जना छन् ।

९ श्रावण २०७८, शनिबार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo