राष्ट्रिय

डा. केसीको ‘इसारा’ काफी

१९ औं अनशनको १९ औं दिन

त्रिवि शिक्षण अस्पतालको बेडमा अनशनरत डा. गोविन्द केसी । तस्बिर– उपेन्द्र खड्का
एजुकेशन टाइम्स संवाददाता
उपेन्द्र खड्का
आश्विन १६, २०७७

काठमाडौं– डा. गोविन्द केसीलाई भेट्न शुक्रबार त्रिवि शिक्षण अस्पताल (टिचिङ) पुग्दा शिक्षापत्रकर्मीलाई सुरक्षागार्डले गेटबाहिरै रोके।

चिकित्सा शिक्षा तथा स्वास्थ्य सुधारको माग राख्दै डा. केसीले थालेको १९ औं पटकको अनशनको शुक्रबार १९ औं दिन थियो । सुरक्षागार्डले रोकेपछि केसीका सहयोगी पुकार बम, प्रितम सुवेदी, सञ्जीव कार्कीलाई गुहार्नुपर्‍यो।

करिब आधा घण्टाको पर्खाइपछि गेटमा लिन सञ्जीव कार्की आइपुगे । तर, सहकर्मी फोटो पत्रकार दिनेश गोलेले क्यामेरा बोकेको थाहा पाएपछि सुरक्षा गार्डले उनलाई भित्र छिर्नै दिएनन्।

अस्पताल प्रशासनले अनशनरत केसीलाई भेट्न मिडियालाई निषेध गरेको रहेछ । तैपनि कसोकसो डा. केसीलाई राखिएको क्याबिनतर्फ लागियो । माथिल्लो तलामा पुगेपछि ढोका बाहिर ‘५०१ डिलक्स क्याबिन’ लेखिएको देखिन्छ । ढोकामाथि ‘प्रवेश निषेध’ लेखिएको छ । ढोकाबाट प्रवेश गरेपछि देखियो, दुई जना प्रहरी सोफामा बसिरहेका रहेछन् । ती प्रहरी न त कुनै भीआईपीलाई पहरा दिन बसेका हुन् न त कुनै अपराधीका लागि खटिएका हुन्।

प्रहरी बसेको भन्दा भित्रपट्टि अर्को ढोका आउँछ । स्यानिटाइजर लगाएर ढोकाभित्र छिरेपछि एउटा डोरी टाँगिरहेको देखिन्छ । त्यो डोरीमा तीनवटा छुट्टाछुट्टै कागज झुन्डिएका छन् । ढोकाबाट हेर्दा देब्रेतर्फको कागजमा लेखिएको छ, ‘सामाजिक दूरी कायम राखाैं ।’ अर्कोमा ‘नो इन्ट्री’ लेखिएको छ । तेस्रो कागजमा ‘मास्क अनिवार्य लगाउनुहोला’ लेखिएको छ।

डोरीभन्दा करिब तीन मिटर पर कुनामा बेड छ र सोही बेडमा उत्तानो पल्टिरहेका छन्, अनशनरत चिकित्सक डा.केसी । उनी न त बिरामी भएर भर्ना भएका हुन् न त कोरोना संक्रमित नै।

मैले नमस्कार गरेपछि डा. केसीले बिस्तारै आँखा घुमाउँदै हल्का हात उचाले । अनि हल्का मुन्टो हल्लाउँदै इसाराले नमस्कार फर्काए।

उनको अनुहार बडो टिठलाग्दो देखिन्थ्यो । शरीर शिथिल । करिब पाँच मिनेट उनको स्वास्थ्य अवस्था नियाल्दै कुरा गरियो । तर उनीबाट शब्द होइन, इसारा मात्र अभिव्यक्त भयो । उनले इसाराले प्रतिक्रिया जनाइरहे।

स्वास्थ्य लाभको कामना गर्दै म बिदा भएँ । उनले पनि हल्का हात र मुन्टो हल्लाएर इसाराले नै विदाइ गरे।

ढोका बाहिर निस्किएपछि डा. केसीका सहयोगी सञ्जीव कार्कीसँग थप कुरा भयो । ‘डा. साबको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ,’ कार्कीले भने, ‘वार्ताका लागि सरकारले कुनै पहल गरेन।’

कार्कीका अनुसार उपचारमा संलग्न चिकित्सकको टोलीले आईसीयूमा सार्नुपर्ने भने पनि डा. केसीले मानेका छैनन् । स्लाइनबाहेक कुनै उपचार लिएका छैनन्।

‘उहाँलाई धेरै दुखाइ भएको देखिन्छ । निकै गाह्रो भइसक्यो । बोल्न गाह्रो छ,’ कार्कीले भने।

सरकारले केसीका माग सम्बोधन भइरहेकाले अनशन तोड्न आग्रह गरिसकेको छ । केही दिनअघि डा. केसीलाई भेट्न पुगेका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पनि घुमाउरो ढंगले अनशन तोड्न आग्रह गरेको कार्कीले बताए।

पूर्वराष्ट्रपति डा. रामवरण यादवले भने शुक्रबार डा. केसीलाई भेटेर सरकारले उनको मागको सम्बोधन गर्नुपर्ने बताएका छन्।

पूर्वमन्त्री दीपक बोहरा पनि डा. केसीलाई भेट्न पुगेका थिए । यी नेताबाहेक डा. केसीलाई भेट्न कुनै पनि दलका शीर्षस्थ नेता नआएको कार्कीले बताए।

केही दिनअघि एकजना व्यापारी डा. केसीलाई भेट्न पुगेका रहेछन् । उनले लगानी गरेर अस्पताल खोलिदिने भन्दै केसीलाई अनशन तोड्नसमेत आग्रह गरेका रहेछन्। कार्कीले ती व्यापारीको नाम भने खुलाएनन्।

प्रकाशित : आश्विन १६, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप राष्ट्रिय

कमालको कालिका

सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीले प्रायः आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाइरहेको देखिन्छ। कालिका माविको कुरै बेग्लै छ। शिक्षक÷कर्मचारीका बालबच्चा अन्यत्र पढदैनन्, कालिकामै पढछन्।

किन बढ्दै छ बलात्कार ?

बलात्कारविरुद्ध साना–ठूला आन्दोलन भइरहेकै छन्, तर बलात्कार बढेको बढ्यै छ । कानुन संशोधन गरेर बलात्कारीमाथि कडा कारबाहीको माग गर्नेहरू फेसबुकमा मात्र होइन, सडकमा पनि उत्रिन थालेका छन्।

गणेश गौरव

नयाँ भर्नाका लागि आउने विद्यार्थीसँग पनि प्रवेश परीक्षा लिइन्छ। बाहिरबाट आएका विद्यार्थी अंग्रेजीमा कमजोर छन् भने उनीहरूलाई नेपाली माध्यमबाट पढाइ हुने अन्य विद्यालयमा जान आग्रह गरिन्छ।

९ श्रावण २०७८, शनिबार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo