युवा

संकटका साथी

संकटका बेला समुदायका लागि उपयोगी बनेको छ, दुई दौँतरीको प्रयास

काठमाडौं– अप्ठ्यारो परेका बेला कसैको साथ पाउनु चानचुने कुरा होइन। सुखमा साथी त फालाफाल हुन्छन्। तर कुरा सुनिदने र मनमा गुनिदने मान्छे चाहिने खास बेला अर्थात संकटको समयमा कोही साथीका रुपमा भेटिनु गज्जब हुने नै भयो। जतिबेला ‘ओइ के छ ?’ भनेर सोधिदिने मात्र कोही भेटिए पनि मन मगन हुन्छ। संकटको बेला यस्तै सोधिखोजी गर्ने र थोरै भए पनि सहयोग गर्ने काम गरिरहेका दुई दौँतरी हुन् भावना गुरुङ र आशा थापा। जसले ‘संकटमा साथी’ पडकास्ट र रेडियो कार्यक्रम उत्पादन गरिरहेका छन्। र समेटिरहेका छन् सँकटका बेला समुदायलाई आवश्यक पर्ने सूचना र जानकारी ।

यसरी भयो सुरुवात
कोरोना महामारीको चर्चा त पहिलेदेखि नै थियो। तर नेपालमा छिरेपछि यसबाट जोगिन सरकारले लकडाउन घोषणा गरेको भने गएको चैत ११ गते हो। लकडाउनसँगै, कोरोनाबाट जोगिनका लागि गर्न नहुने र गर्नै पर्ने कामको सूची पनि बन्यो। ज्यान सबैलाई प्यारो थियो। ज्यान जोगाउन सावधानी अपनाउन आनाकानी गर्ने कुरै भएन। सबैजसोले त्यसै गरे।

कोरोना बढ्दै गएर लकडाउन नै सुरु हुने भएपछि उनीहरूको मनमा प्रश्न जन्मियो, ‘हामी त जोगिउँला तर हामीमात्र जोगिएर पुग्छ त ?’ जवाफ पनि उनीहरूकै मनले दियो, अहँ पुग्दैन। त्यो भए के गर्ने त ? आफुले जानेको कुरा गर्ने। जसले संकटका बेला आम मानिसलाई सहयोग गरोस्। दुःखको समयमा अलिकति भए पनि मलमपट्टी लगाओस। उनीहरूको मतो मिल्यो। किनभने यस्तो बेला दिने जोसँग जे छ त्यहि न हो । उनीहरुसँग सबैभन्दा धेरै थियो संकटका बेला चाहिने जानकारी र सूचनाको सहयोग।

नाम जुराए–‘संकटमा साथी’। प्ल्याटफर्म रोजे पडकास्ट। पडकास्ट नै गर्नु चाहिँ बाध्यता पनि थियो। किनभने कार्यक्रम उत्पादन त जेनतेन खर्च जुटाएर गर्न सकिन्थ्यो। तर प्रसारण गर्ने खर्च तिर्ने ल्याकत थिएन। ‘गर्न त हुन्थ्यो तर पैसा छैन’ भनेर पुर्पुरोमा हात लगाएर झोक्राउनुभन्दा जेजति गर्न सकिन्छ थालि हालौँ भन्नेमा सहमत भइ कार्यक्रम सुरु गरे।

‘लकडाउन सुरु हुने भएपछि के गर्ने होला के गर्न सकिएला भनेर हामीले धेरै छलफल गर्यौँ, यो बेलामा नागरिकलाई चाहिने सूचना र जानकारी दिनुपर्छ भनेर सुरु गरेको’ भावना भन्छिन् ‘हामीले लकडाउन सुरु भएको पहिलो दिन अर्थात चैत ११ गते नै राती ११ बजेसम्म सँगै बसेर पहिलो कार्यक्रम तयार गर्यौं।’

‘संकटको बेलामा सवैले आ–आफ्नो क्षमता र विज्ञता अनुसारको सहयोग गर्नुपर्छ भन्ने भयो, हामीलाई संकटको बेला नागरिकलाई कस्ता सूचना र जानकारी चाहिन्छ भन्ने थाहा थियो नि त’, आशा भन्छिन्, ‘अनि समय अनुसारको जीवनोपयोगी सूचना समेटेर पडकास्ट सुरु गर्यौं।’ उनीहरूको पहिलो अंक कोरोनाबाट बच्न हात मिचिमिचि धुनु पहिलो सतर्कता हो भन्ने विषयमा केन्द्रित थियो।

कोरोना महामारीमा सार्वजनिक सवारीका कर्मचारीसँग कुराकानी गर्दै भावना गुरुङ। तस्बिर– आशा थापा

पडकास्ट हुँदै रेडियोमा पनि
संकटका बेलामा सञ्चार माध्यम अझ रेडियोको भूमिका धेरै हुन्छ भन्ने निष्कर्ष निकालिरहनुपर्ने थिएन। यस्तो बेलामा के गर्ने ? के नगर्ने ? कसरी जोगिने ? जस्ता धेरै कुरा आम नागरिकसम्म पुर्याउनुपर्ने थियो। यो गर्न उनीहरूलाई गाह्रो थिएन। जुन अहिलेसम्मको कामले उनीहरूलाई सिकाएकै थियो। सबैभन्दा धेरै सिकाएको थियो २०७२ को भुकम्पपछि उनीहरूले गरेको कामले। उनीहरूले बीबीसी मिडिया एक्सनको कार्यक्रम ‘मिलिजुली नेपाली’ मा सँगै काम गरेका थिए।

जसले उनीहरूलाई सिकाएको थियो, आपतका बेला सूचनाको महत्व। त्यस्तो बेला कस्ता सूचना पस्कने भन्ने जानकारी। त्यस्ता सूचना केलाउने कला। अर्को पनि कुरा थियो कि ‘क्राइसिस म्यानेजम्यान्ट’ विषयको अध्ययन। दुवैजना संकट व्यवस्थापन विषयमा स्नातकोत्तर तहका विद्यार्थी हुन्।

पडकास्टको पहिलो अंक तयार भएर अपलोड पनि भयो तर यो उनीहरूले चाहेजति र पुग्नुपर्ने जति धेरै मानिसमा पुग्दैन भन्ने पनि उनीहरूलाई थाहा थियो। किनकी इन्टरनेटको पहुँच भएका र अझ पडकास्टलाई बुझेकाहरूको संख्या नेपालमा थोरै मात्र छ। कोभिड–१९ के हो ? कसरी सर्छ ? कसरी जोगिने ? लगायतका धेरै कुराको जानकारी आम मानिस अझ दूरदराजका मानिससम्म पुर्याउनुपर्ने थियो।

त्यसपछि उनीहरूले रेडियोहरूसँग कुराकानी सुरु गरे। ‘हामीसँग कार्यक्रम प्रसारण गरेबापत रेडियोलाई तिर्ने पैसा कहाँ बाट हुनु र ?’ आशा भन्छिन्, ‘तैपनि पहिले काम गर्दाको नेटवर्ककै आधारमा रेडियोका साथीहरूसँग कुरा गर्यौँ, उहाँहरू कार्यक्रम निःशुल्क बजाउन तयार हुनुभयो, जसले गर्दा हामीलाई उर्जा पनि मिल्यो र कार्यक्रम धेरैजनासम्म पनि पुग्यो।’ जसले कार्यक्रम थप गुणस्तरीय बनाउने चुनौती पनि थपियो। अहिले यो कार्यक्रम २० वटा रेडियो र गुगल पडकास्ट, सहित ९ वटा पडकास्ट प्ल्याटफर्मबाट प्रसारण भइरहेको छ। अहिलेसम्म कार्यक्रमका २६ अंक प्रसारण भइसकेको छ।

कार्यक्रममा संकटको समयमा जीवन बचाउने वा जीवन सजिलो बनाउने खालका सामग्री उत्पादन हुने गरेका छन्। विषयवस्तु छनोटको मूख्य आधार यहि हो। अर्को तरिका कुनै निर्णयले समुदायको स्तरमा पार्ने प्रभाव कस्तो हुन्छ भन्ने कोण हो। ‘समुदायलाई काम लाग्ने सूचना के होला भन्ने निक्र्योल गरेपछि हामी त्यससँग सम्बन्धित सामग्री बटुल्छौं’, यस्तै सूचना खोज्न ललितपुरको लेलेमा पुगेका बेला भावनाले मोबाइलमा भनिन्, ‘ती सूचना राखेर हामी कार्यक्रम तयार पार्छौं।’

कार्यक्रममा अहिले संकटको समयमा किशोरीका भोगाइ पस्किरहेका छन्। लकडाउन खुकुलो भएका बेला उनीहरू कार्यक्रम बनाउन मकवानपुरसम्म पुगे। तर आवतजावत असहज भएकाले धेरै कार्यक्रम चाहिँ फोनबाटै तयार पार्नुपरिरहेको उनीहरूले सुनाए।

उनीहरूले कहिले गन्धर्व गीतमार्फत त कहिले विज्ञको परामर्श र जानकारी समेटेर संकटमा साथीका लागि चाहिने कुरा बटुलिरहेका छन्।

आफुसँग जे छ, त्यहि बाँड्ने
कोभिड संकट सुरु भएसँगै सक्नेले सहयोग गर्ने क्रम पनि सुरु भयो। कोभिड कोषमा रकम जम्मा गर्नेदेखि खाना, राहत वा स्वास्थ्य सामग्री वितरण गर्ने क्रम सुरु भयो। उनीहरूले चाहिँ सुचना र जानकारी वितरण गरिरहेका छन्। ‘हामीसँग जे छ वा हामीले जे गर्न सक्छौं त्यहि बाँडौं भन्ने हाम्रो ध्येय हो’, भावना भन्छिन्।

उनीहरूले कार्यक्रम उत्पादन आफ्नै खर्चमा गरिरहेका छन्। रेडियोले निःशुल्क प्रसारण गरिदिएका छन्। सुरुमा त कार्यक्रम उत्पादनका उपकरण पनि थिएनन्, ती सबै किन्ने, रिपोर्टिङका लागि फिल्ड जाने, सामाग्री ल्याउने र उत्पादन गर्ने सबै खर्च आफ्नै गोजीबाट गरिरहेका छौं’ आशा भन्छिन्, ‘हाम्रो कामलाई रेडियो सञ्चालकले निःशुल्क प्रसारण गरेर हौसला दिनुभयो र श्रोताले कार्यक्रमबाट निकै फाइदा पुगेको बताउनुहुन्छ, खुशी अझ थपिन्छ।’

कार्यक्रमको लागि सर्वसाधारणसँग कुरा गर्दै आशा थापा। तस्बिर– भावना गुरुङ

भावनाको संकट साइनो
रेडियोसँग भावनाको संगत सानैदेखिको हो। तर, उनले रेडियोले प्राथमिकताका साथ प्रसारण गर्ने समाचार, गीत संगीत वा कुनै कार्यक्रमभन्दा पनि रेडियो नेपालमा समाचारको अन्तिममा आउने मौसमसम्बन्धी खबर धेरै सुनिन्, सानैदेखि। यसको कारण छ।

उनको घर सिन्धुलीको रानीचुरीको डहरगाउँ। जहाँ जिर्गाहा खोला छ। खोला बर्खामा उर्लिने नै भयो। जिर्गाहा मात्र किन कुनै पनि खोला जब उर्लिन्छ, त्यसले उपद्रो त गर्छ नै। जिर्गाहाले पनि खेतबारी पुर्र्दैनथ्यो मात्र बगाएरै लैजान्थ्यो। भावनाको घर छेउमा ठूलो पहिरो पनि थियो। बर्खामा पीर पहिरोको पनि थपिन्थ्यो। पहिरो रोकिन वा बाढी थामिन पानी कहिले पर्न छोड्ला भन्ने सूचना जरुरी हुन्थ्यो। ‘हामी परिवारका सबैजना घरको बरण्डामा बसेर खोलाको वितण्डा हेर्दै मौसमको खबर सुन्थ्यौं’, भावनाले सुनाइन्, ‘पानी पर्न कहिले रोकिएला भन्ने हुन्थ्यो, त्यसैले समाचारको सुरुमा के भन्यो भन्नेमा होइन अन्तिममा आउने मौसम सम्बन्धी जानकारी चाहिँ हाम्रो लागि महत्वपूर्ण हुन्थ्यो।’

त्यही बेलादेखि भावनालाई रेडियोको शक्ति कति छ? गाउँमा कस्तो सूचना चाहिन्छ? भन्ने जस्ता कुरा थाहा भयो। पछि उनी रेडियोमा आवद्ध भइन्। ‘त्यहिबेलाको छापले पनि हुन सक्छ मैले समुदायको चासो र उनीहरूलाई आवश्यक पर्ने सूचनामा नै आफुलाई केन्द्रित गरें’, भावना भन्छिन्।

उनको मतो मिल्यो आशासँग उनीहरूको सहकार्य मिलिजुली नेपालीमा भएको थियो। जुन अहिले संकटका साथीसम्म पुगेको छ। ‘सञ्चारमाध्यमको काम खाली विपद्का बेला हुने क्षतिको मापन गर्ने, ज्यान गुमाउने वा घाइते हुनेको संख्या गन्ने र अपडेट गर्ने मात्र होइन भन्ने सिकाइ भएर नै हामी विपद्का बेला सहयोग गर्ने खालको पत्रकारिता गरौं भन्नेमा सहमत भएका हाैं’ आशा भन्छिन्।

संकटका बेला समस्यामा परेकाहरूका कुरा सुनौं र संकट समाधानका लागि सकेको सहयोग गरौं भन्ने दुई दौंतरीको काम आफैंमा स्यावासीलायक छ।

हामी पनि जोसँग जे छ त्यहि बाँडौं, कसैले राहत, कसैले रकम त कसैले सूचना।

प्रकाशित : आश्विन १७, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप युवा

गजलमा युवा

अघिल्लो वर्षबाट नेपाल प्रज्ञा प्रतिष्ठानले पनि भव्य रूपमा गजल महोत्सव सुरु गरेको थियो। कोरोना महामाहरीका कारण मेहफिलहरू भर्चुअल दुनियाँमा सीमित हुन बाध्य छन्।

म्युजिक भिडियोमै मख्ख

कलाकारका लागि म्युजिक भिडियो आम्दनीको स्रोत भए पनि लगानीकर्ताका लागि आम्दानीका स्रोत बन्ने अवस्था आइसकको छैन। त्यसकारण पनि लगानीकर्ताले भाइरल प्रवृत्तिको पछि लाग्नुभन्दा गीतको मर्मलाई केन्द्रमा राख्नुपर्ने निकेशको सल्लाह छ ।

जो मनले सुनेर अघि बढ्छन्

सुनाइमा पहुँच नभएपछिको सञ्चारमा बाधा आउनु नै बहिरोपन हो । यसले गर्दा बहिरोपन भएकालाई सामान्य मानिसलाई झैं सहज हुँदैन । तर परिवार तथा समाजले यिनीहरूको होस्टेमा हैंसे गरिदिएमा उनीहरू आफ्नो क्षमता र सीप प्रयोग गरेर अघि बढ्छन् ।

२० फाल्गुन २०७७, बिहीबार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo