समाचार

संकुचनमा संस्कृत

विद्यालयमा अनिवार्य या ऐच्छिक भन्ने बहसको घानमा संस्कृत विषय

एजुकेशन टाइम्स संवाददाता
उपेन्द्र खड्का
आश्विन २०, २०७७

काठमाडौं– दश वर्ष लामो हिंसात्मक द्वन्द्वका क्रममा विद्यालय तहबाट संस्कृत विषय पलायन भयो। तत्कालीन माओवादीले ‘जनवादी शिक्षा’का नाममा विद्यार्थीले हातमा बोकेका संस्कृत किताब खोसेर च्याते, जलाए । विद्यालयमा संस्कृत पढ्नै दिइएन।

पूर्वीय दर्शन र अध्यात्म, पुराण अनि प्राचीन साहित्यको अध्ययन गर्न संस्कृत भाषा जान्नु अपरिहार्य छ। विकसित मुलुकका कलेजमा संस्कृत भाषा पढाउन थालिएको छ भने वैज्ञानिकहरूले समेत यो भाषामा अन्तरिक्षसम्म सन्देश पठाउन थालेका छन्।

संस्कृत भाषाको पुनरुत्थानको पहल भइरहेकै बेला नेपालमा पनि विद्यालय तहमा संस्कृत विषय आवश्यक छ कि छैन भन्ने बहस चलिरहेको छ । पाठ्यक्रममा ऐच्छिक रूपमा यो विषय पुनः समेटिन थालेको छ।

विद्यालय तहको पाठ्यक्रमलाई ‘साधारण शिक्षा’,‘प्राविधिक तथा व्यावसायिक शिक्षा’, ‘परम्परागत शिक्षा’ गरी तीन धारमा वर्गीकरण गरिएको छ । परम्परागत धारको शिक्षा अन्तर्गत संस्कृत, वेद विद्याश्रम, गुरुकुल शिक्षा पर्दछन् । यही धार बमोजिम एक कक्षादेखि नै संस्कृत विषय समावेश छ।

साधारणतर्फको पढाइ हुने विद्यालय तहमा संस्कृत विषय अनिवार्य छैन । यस्ता विद्यालयमा एक देखि १२ कक्षासम्म संस्कृत अनिवार्य छैन । तर, विद्यालय तहको पाठ्यक्रममा मातृभाषा वा स्थानीय विषय समेटिएको छ । यसको अर्थ ऐच्छिक रूपमा भने संस्कृत विषय अध्ययन गर्न पाइन्छ।

प्राविधिक तथा व्यावसायिक (धार) अन्तर्गतका पाठ्यक्रममा भने ऐच्छिकरूपमा समेत संस्कृत विषयलाई समेटिएको छैन । यो धारको अध्ययन गर्ने विद्यार्थीले ऐच्छिक रूपमा समेत संस्कृत पढ्न पाउँदैनन्।

संकुचित हुँदै
पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेश भट्टराईका अनुसार साधारणतर्फको धारमा यही वर्ष (शैक्षिक सत्र २०७७) बाटै एक कक्षादेखि संस्कृतलाई ऐच्छिक विषयका रूपमा समेटिएको छ । वि.संं.२०८० सम्ममा क्रमशः २, ३, ४ गर्दै १२ कक्षासम्म नै ऐच्छिक विषयका रूपमा संस्कृत विषय लागू गर्ने सरकारी योजना छ।

‘नयाँ पाठ्क्रमसँगै एक कक्षामा संस्कृत विषय समेटिएको छ,’ त्रिपुरेश्वरस्थित विश्व निकेतन माविका प्रधानाध्यापक हेरम्बराज कडेल भन्छन् । स्थानीय तहको निर्णयअनुसार आधारभूत तहमा कक्षा एकदेखि मातृभाषा, स्थानीय विषय र संस्कृतमध्ये कुनै एक विषय छनोट गर्न पाइन्छ।

९, १० र ११, १२ कक्षामा ऐच्छिक रूपमा संस्कृत विषय पढाइ हुँदै आएको छ । मातृ भाषा वा स्थानीय विषयको विकल्पका रूपमा पनि आठ कक्षासम्म संस्कृत विषय पढ्न सकिने भएको छ । ऐच्छिक रूपमा रहेको ११ कक्षाको संस्कृत विषयमा केही परिमार्जन भएको प्रधानाध्यापक कडेल बताउँछन् । ‘चार वर्ष भित्रमा १२ कक्षासम्म नै संस्कृत शिक्षा लागु गर्ने योजना छ,’ उनी भन्छन्।

प्रा.डा. माधवशरण उपाध्यायका अनुसार प्राथमिक शिक्षा परियोजनाको पुरानो पाठ्यक्रममा पहिलेदेखि नै संस्कृत विषय समेटिएको थियो । पुरानो पाठ्यक्रममा चारदेखि आठ कक्षासम्म अनिवार्य र नौ कक्षापछि भने ऐच्छिक रूपमै पढाइ हुन्थ्यो।

माओवादी विद्रोहको प्रभाव बढ्न थालेपछि (२०५७/०५८ ताका) यो विषय हटेको हो । विद्यालय तहमा संस्कृतलाई ऐच्छिक विषयका रूपमा खुम्च्याइयो । त्यसयता संस्कृत शिक्षाबाट सरकार पछि हट्दै गयो । कडेलका अनुसार विद्यालयले आधारभूत तहमा ऐच्छिक विषय छनोट गर्न पाउने व्यवस्था भएसँगै धेरै विद्यालयले संस्कृत विषय हटाए । संस्कृत विषयको विरोध गर्नेहरू सतहमा आउन थाले।

पक्ष-विपक्षका तर्क
पूर्वसांसद तथा मानव अधिकारकर्मी मल्ल के सुन्दर विद्यालय तहमा संस्कृतलाई अनिवार्य विषयका रूपमा राख्न नहुने बताउँछन् । तर, ऐच्छिक रूपमा संस्कृत विषय राख्न भने उनी पनि सकारात्मक छन्।

प्रा.डा. उपाध्याय मातृभाषा वा स्थानीय भाषा पढाइ नभएको अवस्थामा विकल्पका रूपमा संस्कृत विषय अध्ययन गर्न सकिने बताउँछन् । तर, लेखक तथा विचारक आहुती संस्कृतलाई मृत भाषा दाबी गर्छन् । एक कक्षाका शिशुहरूका लागि संस्कृत भाषा राख्नु बोझ र अत्याचार मात्रै हुने आहुतीको दाबी छ।

‘संस्कृत भाषा नेपालका कुनै पनि समुदायको जीवन व्यवहारको मातृभाषा होइन,’ आहुती भन्छन्, ‘नेपाल र विभिन्न मुलुकमा जीवनबाहेक संस्कृत भाषा प्राज्ञिक अध्ययन अनुसन्धानका लागि मात्रै पढिन्छ।’

परिमार्जित पाठ्यक्रमअनुसार संस्कृतले बहुभाषिक ज्ञान बढाउने र बहुउपयोगी हुने कडेलको तर्क छ । प्राथमिक तहबाटै संस्कृत विषय राख्दा माध्यमिक र त्यो भन्दा माथिल्लो तहमा अध्ययनका लागि सहज हुने शिक्षाविद्को तर्क छ। आधारभूत तहमा यो विषय नराखी एकैचोटि माध्यामिक तहमा मात्रै राख्दा विद्यार्थीले यो विषयप्रति रुचि नराख्ने सम्भावना बढी हुने कडेलको अनुभव छ।

यो पनि पढ्नुहोस्
संस्कृत : त्रिकालमै सान्दर्भिक

आहुती दुई हजार वर्षदेखि अमरकोशमा कुनै नयाँ संस्कृत शब्द नथपिएको बताउँछन्। ‘एक स्तरको उमेर, शिक्षा र रुचि भएका प्राज्ञिक कार्य रुचाउने व्यक्तिका लागि संस्कृत अध्ययनको विषय हो,’ आहुती भन्छन्, ‘यो भाषा उच्च शिक्षामा ऐच्छिक (इच्छाधीन) विषयका रूपमा भने समावेश गर्न सकिन्छ।’

मल्ल के सुन्दर साधरणतर्फका विद्यालयमा पाठ्यक्रममै अनिवार्य रूपमा रहेको संस्कृत विषय हटाउनुलाई उचित नै ठान्छन् । ‘संस्कृत भाषा नेपालभित्र कुनै पनि समुदायको मातृभाषा होइन,’ उनी भन्छन्, ‘यो भाषा व्यावहारिक रूपमा बोलिँदैन । संस्कृत भाषालाई पाठ्यक्रममा समावेश गरिनु आवश्यक छैन।’

संस्कृृत धारको अवस्था
परम्परागत धारमा संस्कृत शिक्षा पर्छ । संस्कृतमा पनि साधारण र गुरुकुल धार छन् । विद्यालय तहका परम्परागत धार (संस्कृत, वेद विद्याश्रम, गुरुकुल) को पाठ्यक्रममा संस्कृत विषय पढाइ हुन्छ । जसमा वेद, ज्योतिष, प्राकृतिक चिकित्सा, योग शिक्षा, कर्मकाण्ड साहित्य, व्याकरण लगायतका विषय पढाइ हुन्छन्।

संस्कृत मावि (दरबार हाइस्कुल)का प्रधानाध्यापक शिवराज अधिकारीका अनुसार संस्कृत धारका विद्यार्थीले कक्षा चारदेखि १२ सम्म नै संस्कृत विषय अनिवार्य रूपमा पढ्नुपर्ने हुन्छ। साधारण धारको तुलनामा गुरुकुल धारमा संस्कृत विषयलाई बढी जोड दिइन्छ।

‘गुरुकुल धारमा चारदेखि र साधारण धारमा ६ देखि अनिवार्य संस्कृत पढ्नुपर्छ । परम्परागत धारको पुरानो पाठ्यक्रममा भने चार कक्षाभन्दा तल ऐच्छिकरूपमा संस्कृत विषय समेटिएको छैन,’ प्रधानाध्यापक अधिकारी भन्छन्।

संस्कृत वर्तमान अवस्थामा जन–जीवनको अंगका रूपमा नभएकाले गुरुकुल, संस्कृत, वेद विद्याश्रमजस्ता परम्परागत धारका पाठ्यक्रममा खुम्चिएको मल्ल के सुन्दरको तर्क छ।

‘यो भाषा कर्मकाण्डमा मात्रै सीमित छ,’ उनी भन्छन्, ‘व्यक्तिगत रूपमा भारतीय महाद्वीपका प्राचीन ग्रन्थहरूको अध्ययन गर्न इच्छुकहरूका लागि यो उपयोगी हुन सक्छ । आम विद्यालयस्तरमा संस्कृत भाषाको पठन–पाठन आवश्यक छैन ।’ विशेषगरी हिन्दु तथा महायानी बौद्ध साहित्य अध्ययन गर्न इच्छुकहरूका लागि यो भाषा सहयोगी बन्न सक्ने उनको तर्क छ।

राष्ट्रिय परीक्षा बोर्ड (परीक्षा नियन्त्रण कार्यालय कक्षा–१०) का अनुसार २०७६ को परीक्षामा ६ सय ८४ जना विद्यार्थीले एसईईमा संस्कृत विषयको परीक्षा दिएका थिए । बोर्डका अनुसार संस्कृत विषयको परीक्षा दिने विद्यार्थीको संख्या घट्दै गएको छ । संस्कृत पढ्ने छात्रा अत्यन्तै न्यून छन् । तर, पछिल्लो समय संस्कृत भाषा जान्नुपर्छ भन्ने उद्देश्यले विभिन्न समुदायका विद्यार्थीमा यो विषयप्रति आकर्षण बढ्दै गएको संस्कृत माविका प्रधानाध्यापक अधिकारी बताउँछन्।

संस्कृतको सान्दर्भिकता
पहिलाको इतिहास तथा नयाँ आविष्कारको ज्ञान थाहा पाउन संस्कृत भाषाको ज्ञान लाभदायक हुने संस्कृतिविद् बताउँछन् । शुद्ध आचरणका लागि पनि संस्कृतको ज्ञान आवश्यक हुने उनीहरूको तर्क छ। संस्कृत विश्वको पुरानो भाषा भएकाले यसको अध्ययन आवश्यक भएको विश्वनिकेतनका प्रधानाध्यापक कडेल बताउँछन्।

‘नेपाली भाषाको जननी, जग संस्कृत भाषा हो,’ कडेल भन्छन्, ‘धेरै ग्रन्थ संस्कृत भाषामा लेखिएका छन् । बहुउपयोगी ज्ञानका लागि विद्यालय तहमा यो विषय राख्नैपर्छ ।’ विश्वको सभ्यता, विज्ञान, आयुर्वेद तथा स्वास्थ्यको विकास संस्कृतमै भएकाले बहुपक्षीय ज्ञानका लागि संस्कृत भाषा जान्नु लाभदायक हुने कडेल बताउँछन् । संस्कृत माविका अधिकारी पनि ज्ञान र दर्शनका लागि पनि संस्कृत आवश्यक भएको बताउँछन्।

विश्वको प्राचीन र धेरै शब्द भएको भाषा संस्कृत भएकाले शोध–खोज, अनुसन्धानका लागि पनि यो भाषा जान्नु आवश्यक हुने अधिकारीको तर्क छ । तर, जर्मनीमा विशेष अध्ययनका लागि संस्कृत विषयको पढाइको व्यवस्था गरिएको भए पनि आम शिक्षा क्षेत्रमा संस्कृत विषयको पढाइ समावेश नगरिएको मल्ल के सुन्दर बताउँछन्।

उपेक्षाको कारण
राजनीतिक पक्ष र विपक्षका कारण पनि संस्कृत शिक्षा ओझेलमा परेको संस्कृतका जानकारको भनाइ छ । शिक्षा मन्त्रालय अन्तर्गतका एक कर्मचारीका अनुसार सरकार नै विद्यालय तहमा संस्कृत शिक्षालाई बढावा दिन चाहँदैन।

रिपोर्टिङका क्रममा शिक्षा मन्त्रालय मातहतका विभिन्न निकायमा सम्पर्क गर्दा अधिकांशले विद्यालय तहमा संस्कृत विषय आवश्यक हुने भए पनि राजनीतिक तर्कवितर्कका कारण विवाद निम्तने भएकाले पाठ्यक्रममा अनिवार्य रूपमा यो विषय नसमेटिएको बताउँछन् । शिक्षा सम्बद्ध कर्मचारीको आशय अनुसार विद्यालय तहका पाठ्यक्रममा संस्कृत विषय नसमेटिनु विवादबाट जोगिने सुरक्षित उपाय हो।

प्रकाशित : आश्विन २०, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप समाचार

योगमायाको योगदान

अन्याय चरम हुन पुगेको अनुभव गर्दै ३१ असार १९९८ शनिबार हरिशयनी एकादशीको बिहानै अरुण नदीको उर्लंदो भेलमा योगमाया सहित ६८ जनाले देह त्याग गरे ।

माइतीघरमा चेलीको प्रदर्शन

‘#अझैकतिसहने?’ अभियानले गरेको प्रदर्शनका सहभागीहरूले कालो पोशाक, कालै मास्क रआँखामा कालो पट्टी बाँधेका थिए ।

अस्पतालको अत्याचार, सरकार लाचार

सरकारले हात झिकेपछि कोरोना उपचारका नाममा अस्पतालको बढ्दो मनोमानी

९ श्रावण २०७८, शनिबार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo