समाचार

नभाँडियोस् वार्ता, नटाढियोस् सहमति

प्रधानमन्त्रीले बुँदा नम्बर ४ नमान्दा सहमति हुन सकेन

त्रिभुवन विश्वविद्यालयमा १९औं पटक अनसनरत डा. गोविन्द केसी। तस्बिर– उपेन्द्र खड्का/शिक्षापत्र
एजुकेशन टाइम्स संवाददाता
उपेन्द्र खड्का
आश्विन २४, २०७७

काठमाडाैं– डा. गोविन्द केसीको अनशनको २५ औं दिनमा बल्ल वार्ता सुरु भए पनि त्यसको केही घण्टापछि खुसीको खबर आयो। वार्ता सकारात्मक मात्रै होइन सहमतिको मस्यौदा नै तयार भइसकेको खबर थियो। १९ औं पटकको अनशनले गलेका डा. केसीका माग पूरा हुँदा एकातिर स्वास्थ्य सेवा र मेडिकल शिक्षालाई गुणस्तरीय बनाउन थप उपलब्धि हात पर्नेे त छँदै थियो अर्कातिर डा. केसीको ज्यान जोगिने कारणले पनि खुसी थपिएको थियो। तर रात रहे अग्राख पलाउँछ भनेजस्तै भयो।

बिहीबार केसीका मागलाई बुँदागत रूपमै सम्बोधन गर्नेगरी मस्यौदा बनाइ डा. केसी र प्रधानमन्त्री केपी शर्मा ओलीको सहमति लिएर टुंगोमा पुग्ने अठोटसहित दुवै टोली छुटेका थिए। मस्यौदामा डा. केसीले सहमति जनाए पनि सरकारी वार्ता टोलीले प्रधानमन्त्री ओलीको सहमति ल्याउन सकेन। जसले गर्दा शुक्रबार राती ९ बजेतिर मात्र दोश्रो दिनको वार्ता सुरु भयो। राती साढे १० बजेसम्म चलेको वार्तामा सहमति होइन दुवै पक्षबीच दूरी बढेको खबर पो आयो। दिनभरि कुराएर राती वार्तामा बोलाएको सरकारी टोली अघिल्लो दिनको सहमतिभन्दा पनि पछि हटेको पाएपछि डा. केसी पक्ष आक्रोशित बन्यो।

वार्ता लगत्तै डा. केसी पक्षले सरकारले, सहमति गरेर डा.केसीको जीवन बचाउन भन्दा आलटाल गरेर उनको मृत्यु होस् भन्ने चाहेको गम्भीर आरोप लगायो। बिहीबार सकारात्मक भए पनि शुक्रबार विश्वासको वातावरण नै उल्टिएको डा. केसी पक्षको वार्ता टोलीका संयोजक डा. जीवन क्षेत्री बताउँछन्।

‘बिहीबार करिब सहमति नै भइसकेको थियो’ डा.केसी पक्षबाट वार्ता टोलीका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले भने, ‘डा. केसीले पनि करिब ओके गरिसक्नुभएको थियो, तर सहमति भएका विषयबाट पनि सरकारी टोली पछाडी फर्किएपछि सहमति हुन सकेन।’ सहमतिको मस्यौदामा शिक्षामन्त्री पोखरेल र प्रधानमन्त्री ओलीले सहमति नदिँदा कुरा अड्किएको केसी पक्षको दाबी छ।

शुक्रबार मध्यरातमा वार्तास्थलबाट उठेका दुवैपक्षका सदस्यबीच शनिबार बेलुकीसम्म पनि भेटघाट हुन सकेको छैन। बरु शनिबार दिउँसो सरकारी वार्ता टोलीका संयोजक समेत रहेका शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीले विज्ञप्ति निकालेर डा. केसीलाई अनशन ताेड्न लिन आग्रह गरेका छन्। यो आग्रह लगत्तै नेपाल चिकित्सक संघले फेरि आन्दोलन घोषणा गरेको छ।

शनिबार दिउँसो मन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर फर्किएको जानकारी पाएको अर्यालले जानकारी दिए । संयोजक डा. क्षेत्रीले शनिबार अनौपचारिक कुराकानी भएको तर सरकारी पक्ष शुक्रबारभन्दा पनि टाढिएको बताए ।

कुरा अड्किएको बुँदा नम्बर ४
डा. केसीले राखेकामध्ये बुँदा नम्बर ४ को मागमा सरकार अड्किएको केसीपक्षको आरोप छ। केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) का डिन र निर्देशकमा वरिष्ठता मिचेर भएका नियुक्ति सच्याउँदै सबै पदमा वरिष्ठताका आधारमा नियुक्ति गर्नुपर्ने माग गरेका छन्। यो मागमा प्रधानमन्त्री ओली असहमत रहेको डा.केसी पक्षको दाबी छ। आईओएमका डिन दिव्या सिंह शाह र निर्देशक दिनेश काफ्लेलाई प्रधानमन्त्री ओलीले हटाउन नचाहँदा समाधान ननिस्किएको हो। डा. शाह प्रधानमन्त्री ओलीका निजी चिकित्सक पनि हुन् भने काफ्ले नेकपा निकट हुन् ।

केसीले विश्वविद्यालय, काउन्सिल र प्रतिष्ठानहरूमा पदाधिकारी मापदण्ड निर्धारण समितिले दिएको सुझावअनुरूप निष्पक्ष र पारदर्शी ढंगले पदाधिकारी नियुक्त गर्ने कानुनी व्यवस्था गर्नुपर्ने माग राखेका छन्। दलीय भागभण्डाका आधारमा जथाभावी गरिने नियुक्ति रोकिनुपर्ने केसीको माग रहेको उनका सहयोगी प्रितम सुवेदी बताउँछन्।

डा. केसीका माग पूरा गरी उनको जीवनरक्षा गर्न सरकारलाई चौतर्फी दबाब बढे पनि सरकारले यो विषयलाई गम्भीरतापूर्वक नलिएको आरोप लाग्दै आएको छ।

प्रकाशित : आश्विन २४, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप समाचार

योगमायाको योगदान

अन्याय चरम हुन पुगेको अनुभव गर्दै ३१ असार १९९८ शनिबार हरिशयनी एकादशीको बिहानै अरुण नदीको उर्लंदो भेलमा योगमाया सहित ६८ जनाले देह त्याग गरे ।

माइतीघरमा चेलीको प्रदर्शन

‘#अझैकतिसहने?’ अभियानले गरेको प्रदर्शनका सहभागीहरूले कालो पोशाक, कालै मास्क रआँखामा कालो पट्टी बाँधेका थिए ।

अस्पतालको अत्याचार, सरकार लाचार

सरकारले हात झिकेपछि कोरोना उपचारका नाममा अस्पतालको बढ्दो मनोमानी

९ श्रावण २०७८, शनिबार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo