स्वास्थ्य / वातावरण

परीक्षणपछि गर्भधारण

सन्तानको रहर गर्ने जोडीले गर्भधारणअघि स्वास्थ्य जाँच गराई शारीरिक तथा मानसिक रूपमा योग्य भए–नभएको पक्का गर्नुपर्छ

एजुकेशन टाइम्स संवाददाता
उपेन्द्र खड्का
आश्विन ३०, २०७७

काठमाडौं–  नेपालमा गर्भवती भएपछि स्वास्थ्य जाँच गराउनुपर्छ भन्ने चेतनाको कमी छैन। गर्भवती भएपछि स्वास्थ्य जाँच गराउनेको संख्या पनि बढिरहेकै छ। तर, गर्भवती हुनुअघि स्वास्थ्य जाँचको चेतना भने कमै छ।

गर्भधारणको तयारी गरिरहेका जोडीले स्वास्थ्य जाँच गराउनु आवश्यक भएको चिकित्सक बताउँछन्। सन्तानको रहर पूरा गर्न पति–पत्नी शारीरिक तथा मानसिक रूपमा योग्य छन् कि छैनन् भनेर दुवैको स्वास्थ्य जाँच गराउनु उपयुक्त हुने चिकित्सकहरूको सल्लाह छ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराकी प्रसूति तथा स्त्रीरोग विशेषज्ञ डा. चुममाया पुन गर्भवती हुनुपूर्व स्वास्थ्य जाँच आवश्यक भए पनि त्यस्ता जोडी कमै मात्र स्वास्थ्य संस्थामा आउने गरेको बताउँछिन्।

‘केही समययता शिक्षित परिवारका जोडीमा भने गर्भवती हुनुअघि स्वास्थ्य जाँच गर्ने प्रवृत्ति देखिएको छ,’ डा. पुन भन्छिन्, ‘यसमा पनि पुरुषभन्दा महिला नै बढी आउने गरेका छन्।’

जोडीकै जाँच
विराटनगरस्थित नोबेल मेडिकल कलेजका प्रसूति तथा स्त्रीरोग विशेषज्ञ प्रा. डा. गेहनाथ बराल पनि गर्भधारणपूर्व पति–पत्नीले स्वास्थ्य जाँच गराउनु उचित हुने सुझाउँछन्।

‘स्वस्थ बच्चा जन्माउन बुवाआमा दुवै स्वस्थ हुनुपर्छ,’ डा. बराल भन्छन्, ‘गर्भधारणअघि कुनै स्वास्थ्य समस्या देखिए उपचार गर्न सकिन्छ र स्वस्थ बच्चा जन्माउन सहयोग मिल्छ।’

सन्तानको चाहना गर्ने जोडीले गर्भाधान गर्नु तीन महिनाअघि नै स्वास्थ्य जाँच गराउनुपर्ने चिकित्सकको सुझाव छ। तीन महिनाअघि स्वास्थ्य जाँच गराउँदा कुनै समस्या देखिएमा उपचार गर्न सकिन्छ र गर्भ नरहने समस्या छ भने समाधान पनि गर्न सकिन्छ। गर्भ नरहेको अवस्थामा भने पतिपत्नी दुवैको स्वास्थ्य जाँच गर्ने चलन रहेको डा. बराल बताउँछन्।

मानसिक तयारी
सन्तानको रहर गर्ने महिला गर्भधारणका लागि शारीरिक र मानसिक रूपमा तयार हुनुपर्ने मनोचिकित्सक डा. सरोजप्रसाद ओझाको सल्लाह छ। त्रिवि शिक्षण अस्पताल, मानसिक स्वास्थ्य विभागका प्रमुखसमेत रहका ओझा मानसिक रूपमै तयार हुनुपर्ने भएकाले मनोपरामर्श लिन हिचकिचाउन नहुने सल्लाह दिन्छन्।

मानसिक रूपमा स्वस्थ नभई गर्भवती हुँदा महिलामा तनाव उत्पन्न हुनसक्छ। बच्चा जन्मिएपछि आमामा डिप्रेसनको जोखिम हुनसक्नेतर्फ मनोविद् केदार ढकाल सजग गराउँछन्। बच्चा जन्माइसकेपछि आमामा देखिने डिप्रेसनलाई ‘पोस्ट नेटल डिप्रेसन’ भनिन्छ। मनोचिकित्सकका अनुसार आमामा यस्तो किसिमको डिप्रेसन भएको अवस्थामा आमाले आत्महत्या गर्ने, शिशुलाई समेत मार्नसक्ने, झर्किने, रिसाउनेजस्ता जोखिम हुन्छन् ।

मानसिक समस्या भएका बुवा–आमाबाट जन्मिएका बच्चामा उमेर बढ्दै जाँदा सिजोफ्रेनिया, बाइपोलर डिसअर्डर, डाउनसिन्ड्रोम जस्ता मानसिक रोगको जोखिम हुन सक्नेतर्फ चिकित्सक सजग गराउँछन्।

नहोस् थाइराइड
थाइराइडको समस्या भएको अवस्थामा गर्भ रहँदा आमालाई त असर हुन्छ नै। गर्भमा भएको भ्रूणलाई समेत नकारात्मक असर गर्छ।

‘थाइराइडको अवस्थामा गर्भधारण गर्दा जन्मिने बच्चामा सुस्त मनस्थिति हुने जोखिम बढी हुन्छ, गर्भपतनकै जोखिम पनि उच्च हुन्छ,’ डा. पुन भन्छिन्।

आयोडिनको कमीका कारण थाइराइडको समस्या उत्पन्न हुन्छ। त्यसैले यस्तो समस्या भएका महिलाले उपचारपछि मात्रै गर्भधारण गर्नुपर्ने चिकित्सकको सुझाव छ।

बच्चामा नसरोस् सरुवा रोग
सिभिल अस्पतालका छाला तथा यौन रोग विशेषज्ञ (डर्माटोलोजिस्ट) डा. रवीन्द्र शर्मा गर्भवती हुनुपूर्व ‘हेपाटाइटीस–बी, सी’, एचआईभी र सिफिलिस जस्ता यौन रोगको जाँच गर्न सुझाउँछन्। गर्भवतीलाई सिफिलिस छ भने गर्भमा रहेको भ्रूणमा पनि सर्छ। अतः उपचारपछि मात्रै गर्भधारण गर्नुपर्ने हुन्छ।

स्त्रीरोग विशेषज्ञ डा. बरालका अनुसार आमामा एचआईभीको समस्या भए उपचार नगरी गर्भधारण गर्दा भ्रूणमा एचआईभी सर्ने सम्भावना करिब ४० प्रतिशत हुन्छ। ‘उपचार गरी गर्भधारण गर्दा भ्रूणमा एचआईभी सर्ने सम्भावना करिब दुई प्रतिशत हुन्छ,’ डा. बराल भन्छन्, ‘यस्तो समस्या भएका बुवा–आमा दुवैले स्वास्थ्य उपचारपछि मात्रै सन्तानको रहर पूरा गर्नुपर्छ।’

भेनेरल डिजिज रिसर्च ल्याबोरेटोरी (भीडीआरएल) को जाँच गरेपश्चात् शरीरमा भएको सरुवा रोगबारे जानकारी पाउन सकिने चिकित्सक बताउँछन्। यसैगरी भाइरल इन्फेक्सन लगायतको जाँच पनि गर्नुपर्ने हुन्छ।

अन्य रोगको जाँच
गर्भवती हुनुअघि जोडीले हेमोग्लोबिन, सुगरलगायतको स्वास्थ्य जाँच गराउनु उचित हुने स्त्रीरोग विशेषज्ञ डा.पुनको सुझाव छ। गर्भवतीलाई क्यान्सर छ भने भ्रूणमा पनि क्यान्सरको जोखिम हुन्छ।

गर्भवती अवस्थामा उच्च रक्तचापको जोखिम हुन्छ। गर्भावस्थामा हुने रक्तचापलाई चिकित्सकीय भाषामा ‘प्र–इक्लाम्प्सिया’ भनिन्छ। सामान्यतः गर्भवती भएको पाँच महिनाभन्दा पछि महिलामा उच्च रक्तचाप बढ्दै जान्छ।

रक्तचापको समस्या भएका महिलाले उपचारपश्चात् गर्भधारण गर्नु ठिक हुने चिकित्सक बताउँछन्। छारेरोगको समस्या भएका महिलाले पनि उपचारपछि मात्रै गर्भधारण गर्नुपर्ने डा. बरालको सुझाव छ। चिनी रोगको उपचार नगरी गर्भधारण गर्दा भ्रूणमा पनि असर गर्छ।

व्यक्तिमा थालासेमिया, सिक्कल सेल एनिमियाको समस्या हुन सक्छ।शरीरमा हेमोग्लोबिनको समस्या उत्पन्न भए यस्तो रोगको जोखिम भ्रूणमा पनि सर्न सक्नेतर्फ चिकित्सक सजग गराउँछन्। ‘गर्भवतीमा भएमा गर्भको भ्रूणमा समेत सर्नसक्छ,’ डा. बराल भन्छन्।

विभिन्न वंशाणु तथा दीर्घ रोगको जाँचपछि मात्रै गर्भधारण गर्नु उचित हुन्छ। पुरुष र महिलामा सुस्त मनस्थिति जस्तो वंशाणु समस्या, पटक–पटक गर्भपतन हुने जस्ता समस्या भएको अवस्थामा जिनको जाँच गर्न सकिन्छ।

भू्रणको वृद्धि–विकास हुने क्रममा स्नायु प्रणालीको विकास नहुन सक्छ। यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘न्युरल ट्युब डिफेक्ट’ भनिन्छ। यस्तो समस्या भई जन्मिएको शिशुको टाउकोको विकास राम्रोसँग हुँदैन। मेरुदण्डमा समस्या हुन्छ। मेरुदण्ड नै चिरिने, हड्डी फाट्ने जस्ता समस्या देखिने चिकित्सक बताउँछन्। यस्तो समस्या हुनबाट बच्न गर्भवती हुनुभन्दा तीन महिनाअगावै महिलाले स्वास्थ्य जाँच गराउनुपर्ने चिकित्सकको सुझाव छ।

स्वस्थ बच्चा जन्माउन महिलाले धूमपान तथा मद्यपान गर्न नहुने चिकित्सकको सुझाव छ। आमाले मदिरा सेवन गरेको अवस्थामा शिशुको तौल कम हुने लगायतका समस्या हुन सक्नेतर्फ चिकित्सक सजग गराउँछन्। विभिन्न रोगको औषधि सेवन गरिरहेको अवस्थामा गर्भधारण गर्दा त्यस्ता औषधिले भ्रूणलाई पनि असर गर्ने भएकाले औषधि सेवन गरिरहेका महिलाले चिकित्सकसँग परामर्श लिनु आवश्यक छ।

गर्भधारण ३५ वर्षभित्रै
चिकित्सकले १८ देखि ३५ वर्ष उमेर समूहमा गर्भधारण गर्नु उचित हुने सुझाएका छन्। अठार वर्षभन्दा कम उमेरमा गर्भधारण गर्नु शारीरिक मात्रै होइन मानसिक हिसाबले पनि उचित नहुने मनोविद् ढकालको तर्क छ। ३५ वर्षपछि गर्भधारण गर्दा पनि आमाको स्वास्थ्यमा जोेखिम हुनसक्नेतर्फ डा. पुन सजग गराउँछिन्।

३५ वर्षपछि गर्भधारण गर्दा रक्तचाप, सुगर, डाउन सिन्ड्रोमको जोखिम हुन्छ।

‘३५ वर्षपछि बच्चा जन्माउँदा करिब पाँच प्रतिशतमा डाउनसिन्ड्रोमको जोखिम हुन्छ,’ डा. बराल भन्छन्।

डाउन सिन्ड्रोमका कारण बच्चा सुस्त मनस्थितिका हुन्छन्। कतिपयमा मुटुको समस्या पनि हुन सक्छ। गर्भवती हुनुअघि स्वास्थ्य जाँच गराए बच्चा अपांग जन्मने जोखिम कम हुन्छ। गर्भवती भएपछि त चिकित्सकको परामर्शमा नियमित स्वास्थ्य जाँच गराउनैपर्यो।

प्रकाशित : आश्विन ३०, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप स्वास्थ्य / वातावरण

थप २७ सय ३६ जनामा कोरोना

पछिल्लो २४ घण्टामा थप २२ जनाको कोभिड–१९ का कारण ज्यान गएसँगै अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार १ सय ४८ पुगेको छ।

जाडोमा झन् जोखिम

जाडोमा सूर्यको प्रकाश कम हुँदा शरीरमा भिटामिन डीको कमी हुन्छ। जसले गर्दा कोषहरूमा असर पर्छ। र शरीरमा प्रतिरोधी क्षमतामा पनि कमी हुन्छ। त्यो समयमा भाइरसले शरीरमा तुलनात्मक रूपमा बढी असर पार्छ।

थप २५ सय ५१ जनामा कोरोना

काठमाडौंमा १ हजार १ सय ३६, ललितपुरमा २ सय १ र भक्तपुरमा ९१ जना गरी काठमाडौं उपत्यकामा १ हजार ४ सय २८ जना छन् ।

९ श्रावण २०७८, शनिबार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo