कला / मनोरञ्जन

म्युजिक भिडियोमै मख्ख

चलचित्र प्रदर्शन नहुँदा म्युजिक भिडियो निर्देशनमै व्यस्त निकेश

तस्बिर– दिनेश गोले/शिक्षापत्र
एजुकेशन टाइम्स संवाददाता
ईश्वरकुमार मैनाली
आश्विन ३०, २०७७

काठमाडौं– म्युजिक भिडियोमा पछिल्लो समय चर्चामा रहेका निर्देशक हुन् निकेश खड्का। तर, उनको सपना भने म्युजिक भिडियो तथा फिल्म बनाउने थिएन। सुरुमा व्यवस्थापन विषय लिएर पढेका निकेश प्लस टु सक्काएर अमेरिका हानिने सोचमा थिए।

‘परिवारका धेरै सदस्य बाहिर हुनुहुन्थ्यो। म पनि त्यही सोचाइमा थिएँ,’ उनी भन्छन्, ‘मेरो बाहिर जानुबाहेक अरू कुनै सपना थिएन।’ निकेश आफूलाई नियतिले नै मनोरञ्जन क्षेत्रमा तानेको मान्छन्। खाली समयमा नेपाल वान टेलिभिजनमा इन्टर्नसिप गर्न थाले। गएको केही दिनमै प्रतिष्ठित गायकको एल्बम विमोचन देखेपछि भने उनलाई यो क्षेत्र रमाइलो लाग्न थाल्यो।

‘ठूलाठूला दाइहरूको काम देख्थे, बिस्तारै आत्मविश्वास बढ्दै गयो,’ उनी भन्छन्।

खड्का टेलिभिजन कार्यक्रम उत्पादन शाखामा काम गर्थे। सिनियर दाइहरूको लहलहैमा लागेर निर्देशक बनेको निकेश बताउँछन्।

‘दाइहरूको संगतले हाँसखेल गर्दागर्दै काम गर्न थालेँ। १८ वर्षको कलिलो उमेरमै यो क्षेत्रमा काम सिक्न पाएँ, यसले मलाई फिल्म बनाउन अभ्यास भयो,’ खड्का भन्छन्।

सुरज थापाको ‘बहुला’ र सुगम पोख्ररेलको ‘मेरो जीवन यस्तो होस्’ बोलका दुई गीतलाई निकेश आफ्नो भाग्य लेख्ने गीत मान्छन्।

‘ती गीतका कारण इन्डस्ट्रीमा म चिनिएँ। यी दुई गीतको सफलतापछि धेरै काम पाएँ,’ उनी भन्छन्, ‘यी गीतबाट धेरैले ममा सम्भावना देखे, देखाइदिए र मैले पछाडि फर्केर हेर्नु परेन।’

हजार भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका निकेशले चलचित्र बनाउने सुर कसे। र, बन्यो युवा पुस्तालाई केन्द्रित ‘जिन्दगी रक्स’। निकेशलाई आफ्नो पहिलो चलचित्र त्यति चित्त बुझेको छैन। बनाउन हतार गरेको उनको अनुभव छ। ‘जिन्दगी रक्स’को असफलताले निकेशलाई आफू चलचित्रका लागि होइन कि जस्तो पनि लाग्थ्यो।

‘दुई वर्ष त म निराश नै भएँ। पहिलो चलचित्रले पाठ सिकायो,’ उनी भन्छन्, ‘फाटेको जुत्तामा ती पहिलेका गल्ती दोहोरिन दिइनँ।’

कमर्सियल्ली हिट ‘फाटेको जुत्ता’ले सकारात्मक ऊर्जा प्रवाह गर्यो। त्यही ऊर्जालाई ‘चपलीहाइट तीन’ मा प्रयोग गरेको निकेश शिक्षापत्रलाई बताउँछन्। सधैं नयाँ प्रयोग गर्न रुचाउने निकेश आफ्नो गन्तव्य चलचित्र नै भएका कारण राम्रा चलचित्र दिन मेहनत गरिरहेको सुनाउँछन्।

‘म प्रयोग गर्न रुचाउने मान्छे। म्युजिक भिडियोमा जस्तै दर्शकको माया चलचित्रमा पनि पाउनेछु,’ उनी भन्छन्।

‘चपलीहाइट तीन’मा कथादेखि प्रस्तुतिमा पनि केही फरक गर्ने प्रयास गरेको उनी बताउँछन्। कोभिडका कारण प्रदर्शन रोकिएको ‘चपलीहाइट तीन’लाई डिजिटल प्लेटफर्ममा रिलिज गर्ने भने कुनै योजना छैन।

‘प्रदर्शनका लागि हामी हल नै कुर्छौं। ओटीटी प्लेटफर्ममा रिलिज गर्दा चलचित्रको लागत उठ्ने सम्भावना न्यून रहेका कारण पनि टिम ओटीटी प्लेटफर्ममा जान नचाहेको हो,’ उनी भन्छन्।

म्युजिक भिडियोबाट चम्केका निकेश चलचित्र प्रदर्शन नहुने भएपछि पछिल्लो समय म्युजिक भिडियो निर्देशनमै व्यस्त छन्। खड्काको एकै दिन तीन–चार वटासम्म भिडियो रिलिज हुँदै आएका छन्। उनलाई म्युजिक भिडियोमा पछिल्लो समय देखिएको विकृतिले भने चिन्ता बढाएको छ। ‘म्युजिक भिडियो भन्दै हामी के बनाइरहेका छौं, सोच्ने बेला आएको छ,’ खड्का भन्छन् ‘म्युजिक भिडियोको पनि आफ्नो मर्म हुन्छ। त्यसलाई बिर्सनु त भएन नि।’

पछिल्लो समय म्युजिकल फिल्म भन्दै म्युजिक भिडियो बनाउने चलन निकेशलाई उति साह्रो जँचेको छैन।

‘म्युजिक भिडियो नै त हो। म्युजिक भिडियोमा पनि कथा भइहाल्छ। पात्र भइहाल्छन्। म्युजिक भिडियोलाई अर्को नाम दिएर दर्शक बढाउन खोजेको पो हो कि ?’ उनी भन्छन्, ‘जे नाम दिए पनि राम्रो म्युजिक भिडियो बन्नुपर्छ।’

नाम चलेका चलचित्र कलाकारलाई राख्दा पहिले राजेश हमालको अनुहार देखाए चलचित्र चलेझैं चल्छ भन्ने मानसिकता फेर्नुपर्ने खड्काको बुझाइ छ। ‘नाम चलेका कलाकार लिएपछि त उनीहरूको क्षमताको भरपूर प्रयोग गर्नुपर्यो नि,’ उनी थप्छन्, ‘म्युजिक भिडियो बनाउनेले के प्रयोजनका लागि बनाउँदै छु भनेर ख्याल गर्नुपर्छ। नेपाली दर्शकले पनि आफ्नो स्तर सुधार्दै लानुपर्छ।’

कलाकारका लागि म्युजिक भिडियो आम्दनीको स्रोत भए पनि लगानीकर्ताका लागि आम्दानीका स्रोत बन्ने अवस्था आइसकको छैन। त्यसकारण पनि लगानीकर्ताले भाइरल प्रवृत्तिको पछि लाग्नुभन्दा गीतको मर्मलाई केन्द्रमा राख्नुपर्ने निकेशको सल्लाह छ । ‘गीतले कथा बोक्छ, त्यो कथा अनुसारको पात्र छान्ने हो। यसमा चलेका, नचलेका भन्ने नै हुँदैन,’ उनी भन्छन्।

चलचित्र र म्युजिक भिडियो फरक भएको उनको ठम्याइ छ। चलचित्र बनाउन म्युजिक भिडियोले अभ्यासको काम मात्र गर्छ। निकेशको विचारमा चलचित्र लामो प्रक्रिया हो। म्युजिक भिडियो छोटो समयमा गर्न सकिन्छ। पछिल्लो समय धरैको चासो म्युजिक भिडियोमा बढ्नु सुखद् भए पनि बुझेर हात हाले समग्र क्षेत्रलाई नै फाइदा हुन्थ्यो भन्छन्, उनी।

‘चलचित्र बनाउन धेरै लगानी चाहियो, म्युजिक भिडियो बनाउन लागत पनि कम हुने भयो। चलचित्र बनाउन खोज्नेका लागि म्युजिक भिडियो राम्रो अभ्यास हो,’ उनी भन्छन्।

प्रकाशित : आश्विन ३०, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप कला / मनोरञ्जन

दहचोकमा फार्महाउस खोल्दै दिपकराज

गिरी दहचोकमा रहेको आफ्नो पुर्ख्याैली जग्गामा फार्म–हाउस खोल्दैछन्। झण्डै ५ करोड लगानीमा सुरु गर्न लागेको फार्म–हाउसमा स्थानीय गाउँलेलाई रोजगारी दिने उनको तयारी छ।

मंसिरबाट ‘सक्किगोनि’

तिहारलगत्तै यसको छायाँकन सुरु हुँदैछ। टेलिश्रृंखलाका निर्देशक एवं कलाकार कुमार कट्टेल ‘जिग्री’ले ५० जना बढीको टीममा छायांकन हुने भएकाले स्वास्थ्य सुरक्षा अपनाइने बताए।

कलाकारलाई कोरोना

चर्चित कलाकारमा कोरोना संक्रमण, लुकाउने पनि देखिए ।

३० जेष्ठ २०७८, आईतवार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo