काव्य

गजलमा युवा

युवा गजलकार प्रेमसँगै देश र समाज पनि लेखिरहेका छन्

एजुकेशन टाइम्स संवाददाता
सुनीता खनाल
कार्तिक १, २०७७

पछिल्लो समय मेहफिलहरूमा गजल सुन्ने र सुनाउनेको भीड बाक्लो हुन थालेको थियो। अघिल्लो वर्षबाट नेपाल प्रज्ञा प्रतिष्ठानले पनि भव्य रूपमा गजल महोत्सव सुरु गरेको थियो। कोरोना महामाहरीका कारण मेहफिलहरू भर्चुअल दुनियाँमा सीमित हुन बाध्य छन्। तैपनि युवा गजलकारहरू प्रेमसँगै देश र समाज पनि लेखिरहेका छन् र यो क्रम अझै बढ्दो क्रममा छ।

पारिश्रमिक लिने सुमन
पारिश्रमिकमा गजल प्रस्तुत गर्न युवा गजलकारहरू देशका विभिन्न स्थानमा हुने सभा, सम्मेलन र गोष्ठीहरूमा गइरहन्छन्। यसरी गजल प्रस्तुतिमा सक्रिय हुनेहरूको अग्रपंक्तिमा छिन् सुमन स्मारिका।

‘घरिघरि लाग्ने गर्छ जिन्दगानी के गर्नु ?
तिमी छैनौ, भएर यो जवानी के गर्नु ?’

सुमनका यी सेरहरूले यतिबेला धेरैको ध्यान तानिदिएको छ। उनका कतिपय गजल त युट्युबमा पाँच लाखभन्दा बढीले सुनेका/हेरेका छन्।

केही वर्षअघि यो क्षेत्रमा प्रवेश गरेकी सुमन गजलमा युवा पुस्ताको अवस्था केही स्वस्थकर भए पनि पूरै स्वस्थ भने नभएको बताउँछिन्। पूरै स्वस्थ हुन समय लाग्ने तर्क गर्ने उनी युवाहरूबाट लेखिनैपर्ने गजल लेखिन बाँकी र लेख्ने कसरत जाीर रहेको स्विकार्छिन्।

सुमन स्मारिका

युवाहरूको गजलमा शालीनता कम र कडकपन ज्यादा भेटिनुलाई समय, युग, परिवेश, अवस्थाको उपज र प्रभाव मान्छिन् उनी। ‘युवाहरूलाई समाज र सामाजिक मुद्दा भन्दा बढी मायाप्रेमका कुरामा ध्यान हुन्छ भन्ने आरोप गलत हो। यसो भन्नेहरूले बाबु त्रिपाठी, ईश्वर दाहाल, संगीता थापा, रसिक राज आदिका गजल सुन्न, हेर्न, पढ्न छुटाएका छन्,’ सुमन तर्क गर्छिन्।

महिला गजलकारहरू स्वयंले नै आफूलाई सौन्दर्यात्मक वस्तुका रूपमा गजलमा प्रस्तुत गर्ने गरेको चर्चा हुन्छ। गजलमा पनि महिलाले ‘बुर्का’ लाऊन् भन्ने सानो मानसिकता पुरुष या महिलामा अझै व्याप्त रहेको सुमन बताउँछिन्। उनका अनुसार गजलमा गरिएको त्यस्तो प्रयोगले एकोहोरो नभई शोषण दोहोरो पनि भइरहेको हुन्छ, कुरा कम र बढीको मात्रै हो।

गजलमा चमत्कार खोज्ने ईश्वर
युवा गजलकारको अग्र भागमा छन् गजलकार ईश्वर दाहाल।

‘टेकिनै परे पर्स जसरी टेकिन पाऊँ,
ताकि फर्कंदा ऊ आफैंले टेकेर जानु परोस्।’

यस्ता गजलहरूले प्रशंसकहरू टन्नै कमाएका ईश्वरलाई विद्यालय पढ्दै गर्दा पत्रिकामा पहिलोपटक गजल पढ्दा मज्जा लागेपछि गजल कोर्न मन लाग्यो। तर उनको गजल लेखनले औपचारिकता भने २०६८ सालदेखि पायो। अहिले नेपाली गजल युवापुस्ताकै बाहुल्यमा यहाँसम्म आइपुगेको तर्क गर्ने उनी युवा पुस्ताका गजलभित्र प्रेम, समाज, देश, चमत्कारलगायत सबथोक देख्छन्।

युवाका गजलमा कडापन आउनुमा समयको आवश्यकता, वर्तमान नेपाली गजलका पाठक–श्रोताहरूको रुचि र राज्य शासन पद्धतिप्रतिको आक्रोश आदि रहेको उनी बताउँछन्। ‘मूल जडचाहिँ पाठक–श्रोताको आकर्षण नै हो,’ उनको अनुभव छ।

ईश्वर दाहाल

युवा पुस्तालाई मायाप्रेमको मात्रै मतलव हुन्छ, समाजमा भएका सामाजिक घटनाको चासो हुँदैन भन्ने आम बुझाइसँग ईश्वर सहमत छैनन्। युवाका गजलमा सामाजिक घटनाप्रति नै लेखिएका सेरहरू धेरै रहेको उनी बताउँछन्।

जीवन र जगत्बाट प्राप्त अनुभव र अनुभूतिलाई कोमल, हार्दिक र कलात्मक रूपमा प्रस्तुत गर्ने काव्यिक विधा गजल भएकाले महिलालाई सौन्दर्यात्मक वस्तुको रूपमा प्रस्तुत गर्नु मात्र गजल हो भन्ने भ्रमबाट मुक्त रहन आवश्यक देख्छन् उनी। ‘गजलका सेरभित्र चमत्कार खोजिन्छ। चामत्कारिक सेर लेख्ने गजलकार महिलालाई सौन्दर्यात्मक वस्तु बनाएर अल्झिरहँदैन,’ उनको तर्क छ।

गजल सुन्दै लेखनतिर संगीता
युवा गजलकारको अग्रपंक्तिमै आउने चर्चित नाम हो, संगीता थापा।

‘ऊ मलाई सम्झेर नरुनु भनेर गएपछि,
सिउँदो पुछिँदा पनि रुन पाएको छैन।’

पछिल्लो समय गजलसँगै रंगमञ्चमा पनि सक्रिय संगीता वर्ष २०६६ तिर मधुवन साहित्यिक संस्था र अनाममण्डलीसँग जोडिँदा श्रोता मात्रै थिइन्। केही समय श्रोता मात्रै भएर त्यहाँ जाने गरेकी उनलाई अनाममण्डलीका दाइहरूले ‘तिमीले अब पनि गजल लेखेनौ, सुनाएनौ भने तिमीलाइ श्रोता हुने हक दिँदैनौं’ भनेपछि गजल लेख्न थालेको सुनाउँछिन्। भन्छिन्, ‘गजल नै सुन्न जान नपाउने हो कि भन्ने डरले मलाई गजल सिक्ने, बुझ्ने, लेख्ने बनायो।’

युवा पुस्ताले गजलमा आफ्नो दह्रो उपस्थिति देखाइरहेका छन्। युवापुस्ताको गजल अवस्था उर्वर रहनुको कारण उनीहरू अध्ययन गरेर लेख्छन् र उनीहरूको बुझाइको स्तर गजलमा छर्लंग हुन्छ भन्छिन्, संगीता।

संगीता थापा

युवाका गजल अग्रज गजलकारको भन्दा फरक छन्। त्यो परिवर्तन आवश्यक भएको र त्यसले श्रोतामा पारेको प्रभाव महत्त्वपूर्ण हुने उनको तर्क छ। युवा पुस्ताको गजलमा विद्रोह र कडकपनको बाहुल्य पाइनुमा अहिलेको सामाजिक, राजनीतिक, भौगोलिक, आर्थिक पक्ष नै भएको दृष्टान्त दिँदै उनी भन्छिन्, ‘युवाले जुन परिवेश भोगिरहेका हुन्छन्, त्यही नै लेखनमा आउने हो।’

युवापुस्ताको उमेर नै मायाप्रेम, हाँसखेल गर्ने भए पनि गजल लेखिरहेका युवा (एकाध लाई छोडेर) लाई सामाजिक घटनाको चासो या मतलव नहुँदो हो त उनीहरूको गजलमा राजनीतिक, देश, माटो, परिवेश, धर्म, जात, गरिबी, अभाव, घरपरिवार, माया आउन्नथ्यो भन्ने तर्क गर्दै उनी अहिले लेखिरहेका युवालाई सामाजिक मुद्दाहरूको चासो छैन भन्ने आरोप गलत भएको बताउँछिन्।

महिला गजलकारहरू स्वयंको गजलमै नारीलाई कमसल वस्तु बनाएर प्रस्तुत गरिने गरिएको प्रसंगमा उनी भन्छिन्, ‘यो कुरा व्यक्तिपिच्छेको बुझाइमा भरपर्छ। महिलाले आफैंलाई सौन्दर्यात्मक वस्तुका रूपमा गजलमा प्रस्तुत गर्दैमा महिलामाथि भइररहेको शोषणमा सघाउ पुर्याउँछ जस्तो मलाई लाग्दैन।’

गजलबाटै ‘गोल’ गर्दै वसन्त
युवा गजलकारहरूमा धेरैले रुचाएका गजलकार हुन् वसन्त वली ‘वसन्ती’।

‘हात्ती, बाघ, गैंडाहरू एकछिन बस्न मान्दैनन्,
सायद मेरो पर्सको निकुञ्ज दुर्गम छ।

गजलमा यसरी पोखिने वली सुरुमा नेपालको राष्ट्रिय फुटबल खेलाडी बन्ने सपना देख्थे। उनले एन्फा एकेडेमीमै बसेर राजु शाक्यबाट प्रशिक्षण पनि लिए। तर घुँडामा गहिरो चोट लाग्यो, जसले गर्दा दुईपटक घुँडा शल्यक्रिया गरेर लामो समय उनले अस्पताल र रेस्टमा बस्नुपर्‍यो।

वसन्त वली ‘वसन्ती’

बैसाखी बोकेर कतै घुम्न जान पनि सहज थिएन। त्यो बेला साथीहरूले पढ्न लागेको गजलको किताब ‘एउटा बन्द खाम’ उनको हातमा पर्‍यो। जुन ललिजन रावलको यही गजल संग्रहमा रहेका केही गजल र गजलका नियमहरू पढे उनले। वर्ष २०६७ बाट त्यसरी गजल सिक्न थालेका उनले पछि अग्रजहरू, ज्ञानुवाकर पौडेल, घनश्याम परिश्रमी, बूँद राना, टक गुरुङ, करुण थापा, रवि प्राञ्जल, बाबु त्रिपाठी, आवाज शर्मा, शीतल कादम्बिनीहरूको गजल युट्युबमा हेर्न थाले। फेसबुकमा पनि थुप्रै गजल पढ्न थाले। बहर पाठशाला गु्रपमा टक गुरुङले इन्बक्समा खुब सिकाउँथे उनलाई।

युवाहरूले अहिले सबैभन्दा बढी लेखिरहेको विधा नै गजल हो भन्छन् वली। उनका अनुसार राम्रो लेख्नेहरूले केही आम्दानी पनि गरिरहेकै छ्न्। विचारले समाजका सामान्य लाग्ने विषयलाई एउटा फ्रेममा पारेर पोटिला भएका गजलहरू युवाले लेख्नु नै नेपाली गजलले प्राप्त गरेको सफलता भएको उनको ठम्याइ छ।

‘गजल लेख्ने युवाहरू विगत द्वन्द्वको समयमै हुर्किएका हुन्। देशको बेरोजगारी समस्याकै कारण गजलमा नरमपन प्रस्तुत हुन नसकेको हो,’ उनी स्विकार्छन्। युवालाई नै समाज र देशप्रति अझ बढी चासो भएकाले मायाप्रेममा फस्ने उमेर हुँदाहुँदै पनि अधिकांश युवा देश, समाज र सामाजिक घटनाप्रति गजलबाटै चासो राखिरहेका प्रमाणहरू सामाजिक सञ्जालमा प्रशस्त भेटिने उनी बताउँछन्।

गजलमा सरकार ललकार्ने विमला
पछिल्लो समय श्रोताको नजरमा परेकी गजलकार हुन् विमला दाहाल।

नाबालक छोरीको घाँगर च्यातिएको छ सरकार,
के म पनि च्यातिनुपर्ने हो अदालत हेर्नु छ भने ?’

गजलमा यसरी पोखिने विमलालाई कलेज पढ्दा गुरुहरूले लेख/रचनाहरू पनि लेख्नु भनेर हौसला दिन्थे। यसबाटै साहित्यतर्फ रुचि बढ्दै गयो। विशेषतः गजल सम्बन्धी कार्यक्रम ‘बुलबुल’ जस्ता थुप्रै कार्यक्रमले गजल लेखनमा प्रेरणा दिए उनलाई। युवा पुस्ताको ठूलै जमात गजल लेखनप्रति आकर्षित भएको र उनीहरू बहर, छन्द वा स्वतन्त्र गजलमध्ये आफूलाई सहज लाग्ने धारमा मेहनतका साथ गजल लेखनमा लागिपरेकोे बताउँछिन् उनी। उनी चाहिँ युवाका गजलमा प्रेम, देश, सामाजिक विषयवस्तु नै हावी भएको देख्छिन्।

विमलाका अनुसार जुन समयमा जुन कुराको बहुलता रहन्छ, कल्पनाशीलतामा पनि त्यही कुराको बढी प्रभाव पर्ने हो। सामाजिक, राजनीतिक तथा सांस्कृतिक परिवेशले मानिसको सोचलाई असर पुर्याउँछ। यही कारण अग्रज र अहिलेको पुस्ताबीचमा भाव उठानको पृथकता छ।

विमला दाहाल

‘गजलको उद्गम नै प्रणयसँग सम्बन्धित भएकाले पनि उनीहरू बढी प्रेम लेख्छन्। वर्तमान परिप्रेक्ष्यमा युवा पुस्ताले सबै प्रकारका विषयवस्तुहरू प्रेम, देश, समाज, संस्कृति, कुरीति, विद्रोह तथा सामाजिक सचेतना उठान गरेका छन्,’ उनी भन्छिन्।

विमलाका अनुसार पितृसत्तात्मक समाजमा महिलाको सौन्दर्यलाई प्राथमिकतामा राखेर गजल लेख्नु नयाँ कुरा भएन। त्यही समाजमा हुर्के÷बढेका नारी गजलकारहरूमा पनि यो खालको प्रभाव देखिनु स्वाभाविकै हो।

‘सबै नारी गजलकार परम्परागत धारलाई अंगीकार गरेर बढिरहेका छैनन्। यहाँ थुप्रै नारी गजलकारहरू छन्, जसले पितृसत्तात्मक समाजको नकारात्मक पक्षलाई औंला ठड्याएका छन्। देश, समाज, संस्कृतिको पक्षमा गजलमार्फत आवाजहरू उठाइरहेका छन्,’ विमला भन्छिन्।

महिलालाई सौन्दर्यात्मक वस्तुको रूपमा गजलमा प्रस्तुत गरिरहेका नारीहरूलाई नारीमाथि भएका शोषण, अन्याय, अत्याचारको विषयलाई पनि प्राथमिकतामा राख्न अनुरोध गर्छिन् उनी।

गजलमा रौसिएका रोदन
युवापुस्ताका गजलकारमा प्रदीप रोदनको नाम छुटाइदिने हो भने त्यो अपूरो लाग्छ।

‘डाक्टर साब चामल बेचेर जँचाउन आएको हुँ,
बिन्ती मलाई खाली पेटमा खाने दबाई दिनुहोस्।’

गजलमा समाज लेख्छन् रोदन। उनलाई सुन्न र लेख्न खुब मन पर्ने विधा हो, गजल। वर्ष २०७० तिर उनले आफूलाई गजलको एक श्रोताको रूपमा उभ्याए। गजलका केही आधारभूत पक्ष बुझे। गोरखाका स्रष्टा रमेश भट्ट ‘साधु’सँगको चिनजानपछि जानीनजानी गजल लेख्न थालेको बताउँँछन् उनी।

रोदनका अनुसार गजलमा युवा पुस्ताको चासो मात्र पनि प्रशंसाको विषय हो, अहिले गजल प्रेममा उभिएका युवा देख्दा नेपाली गजल अब युवाको अन्दाजमा छिट्टै तन्नेरी हुनेछ।

प्रदीप रोदन

‘प्रेम कमजोर हुँदैन, बरु प्रेम वयक्त गर्ने तौरतरिका कमजोर होलान्, यो सुध्रँदै जानेछ। बहाव, तेज, गति समयको हातमा छ। युवाको जो उमेर हो, जो अनुभव हो, जो संवेग हो, त्यो लेखिएको छ,’ रोदन भन्छन्, ‘उनीहरूमा अनुभव साधना र अध्ययनबाट गहनता थपिँदै जानेछ।’

रोदनको ठम्याइमा शालीनता र समर्पण, विद्रोह र कडकपन हुँदैहुँदै आउन सक्ने कुरा हो। यो उमेरगत दूरी, समाजको वर्तमान स्थिति, राज्यको अवस्था, युवाले भोगिरहेको समस्या, युवाको जीवन उनीहरूले सोचेझैं नहुनु पनि युवाका गजलमा कडकपन आउनुको कारण हो। जुन युवालाई सुहाउने कुरा पनि हो। प्रायः फलहरू कटमरो हुँदैहुँदै कमलो हुने नै हुन्, एकैपटक कोमलता आउँदैन गजलमा, शालीनता र समर्पण साधनाको उमेर हुँदै आउने हो।

उनी भन्छन्, ‘प्रेमबाट नै त उठ्ने हो समाज प्रेम, राष्ट्र प्रेम। मलाई त लाग्छ चासो भएर प्रेम भन्दा प्रेम भएर चासो आउँछ। त्यसो भएर पनि युवाहरूले लेख्ने गजलमा प्रेमभाव बढी झल्झेजस्तो देखिएको हो। गजलमा प्रयोग गरिने नारी सौन्दर्य वर्णन आफैंमा नराम्रो भने होइन, तर त्यसको ध्येय के हो, त्यो भने महत्त्वपूर्ण हुन्छ र कति सुहाउँछ कति वर्णन जरुरी हो त्यसको ख्याल भने युवा गजलकारले राख्न जरुरी छ।’

युवामा सम्भावना देख्ने लक्ष्मण
अहिले युवा गजलकार लक्ष्मण संगमका गजलहरू खुब रुचाइन्छन्।

‘दुश्मनका खुट्टाबाट यो भूमि नकुल्चियोस्,
बरु मलाई दुश्मनकै खुट्टाको चप्पल हुने मन छ।’

यी र यस्तै सेरहरूका गजलकार संगममा संस्कृत गुरुकुल देवघाट पढ्दै गर्दा त्यहाँको साहित्यिक र देशमा बढिरहेको गजलको माहोलले गजलप्रति रुचि पलायो। वर्ष २०७१ तिरबाट गजल लेखनमा होमिए। उनका अनुसार अहिले संख्यात्मक र गुणात्मक दुवै हिसाबले युवाहरू गजल लेखनमा अगाडि छन्। उनीहरू सामाजिक, आर्थिक, राजनीतिक विकृति, समसामयिक सन्दर्भ, प्रेमिल भाव, प्राकृतिक सौन्दर्य आदिलाई विषय बनाएर उत्कृष्ट गजल लेखिरहेका छन्।

लक्ष्मण संगम

गजलकारको उमेर, गजल लेखिने समय र परिवेशले गजलमा प्रभाव पार्छ भन्ने उनी युवाका गजलमा कडकपन आउनुलाई पनि सकारात्मक परिवर्तन नै मान्छन्। गजल लेखनमा युवाहरूले सामाजिक मुद्दालाई नै बढी चासो दिइने गरेकोमा फरक मत राख्छन् उनी। उनका अनुसार बरु पहिलेका गजलमा प्रेमीप्रेमिकाको संवादका रूपमा मात्रै गजल लेखिँदै आएको थियो। ‘गजललाई अहिलेको उचाइमा पु¥याउनमा बढी जिम्मेवार युवा नै हुन्,’ उनको दाबी छ।

प्रकाशित : कार्तिक १, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप काव्य

गजल

चिरबिर चिरबिर गर्छन्, के गीत गुन्छन् चराहरू ? मलाई त लाग्छ, पीर पोख्छन्, रुन्छन् चराहरू । गुँडै छोडेको आरोप किन लाग्छ लाग्ने बेलामा? खासमा चारो खोज्न उडेका हुन्छन् चराहरू । तैपनि मनमा घमण्ड अलिकति पनि छैन छुन त कैयौं पटक आकाश छुन्छन् चराहरू । हामी त उनीहरूलाई सुनेर खुब आनन्द मान्छाैं हामीबाट चाहिँ खासमा के […]

श्रुति (कथा)

श्रुति सोध्न मन त थियो नि। स्टुडेन्टमा आएकी हौ कि डिपेन्डेन्ट? बिहे गर्यौ कि छैन? मैले तिम्रो नाममा लेखेको कविता पढ्यौ कि पढिनौ? मैले तिम्लाई कलेजमा खोज्दै गएको खबर सरले तिमीलाई दिए कि दिएनन्?

आँखा चिम्लिएका मानिस

यो युगका विषालु सर्पहरू समय निल्न तम्तयार छन् प्रदूषित हावा निरन्तर निरन्तर चलिरहेछ मरुभूमिझैँ वर्तमान शून्यता बोकेर दगुरिरहेछ सोच्नुस् सूर्यग्रहणको समय हो यो धरतीमा निष्पट्ट अँध्यारो खसिरहेछ नदीमा पानी बग्दै छ कि रगत ? बाटो सन्त्रस्त दौडिरहेछ रुखहरू काँपिरहेछन् तुफानसँगै तर तपाईं–हामी मानिस ढुक्क आँखा चिम्लिएका छौँ कोही निर्धक्क निदाएका छौँ कोही निदाउने उत्कट प्रयत्नमा […]

३१ जेष्ठ २०७८, सोमबार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo