समाचार

निराश छन्, नानी–बाबु

आफन्तकहाँ जान नपाउँदा दशैंमा दुःखी छन्, बालबालिका

एजुकेशन टाइम्स संवाददाता
राधिका अधिकारी
कार्तिक ७, २०७७

आमाबुवासँग काठमाडौंमा बस्दै आएका मनन धमला ६ वर्षका भए। पोहोर घटस्थापनाको अघिल्लो दिन उनी आफ्नो घर ओखलढुंगा गएका थिए।

हजुरबुवाले घरमा जमरा राखेपछि बल्ल उनले दशैं आएको महसुस गरेका थिए। यो वर्ष कोरोना कहरका कारण उनी हजुरबुवा भएको ठाउँमा जान पाएनन्। काठमाडौंमा बुवा–ममीसँगै छन्।
उनी बुवा–ममीलाई ‘दशैं कहिले आउँछ ? हामी किन घर नगएको ?’ भनेर बारम्बार प्रश्न गरिरहन्छन्। उनको बाल मस्तिष्कले कोरोना महामारीका बारेमा केही चासो राख्दैन। उनी एकोहोरो घर सम्झिन्छन्, ममी–बुवालाई पिरिरहन्छन्।

छोरालाई कोरोना कहरका कारण घर जान सकिएन भनेर बुझाउन नसकेको मननकी आमा गीता बताउँछिन्। भन्छिन्, ‘उसको घर जाने, हजुरबुवा हजुरआमासँग रमाउने समय नै दशैं थियो। यो दशैंमा चाहेर पनि जान सक्ने अवस्था छैन। हजुरबुवा दमको रोगी। हजुरआमा पनि स्वस्थ हुनुहुन्न। के भनेर सम्झाउँदा उसले सम्झन्छ थाहा छैन।’

पाल्पा घर भएका अभिषेक ७ वर्षका भए । उनी पनि काठमाडौंमा बुवा–आमासँग बस्छन्। उनलाई गाउँ असाध्यै रमाइलो लाग्छ। अभिषेक गाउँले परिवेशमा असाध्यै रमाउँछन्। यो वर्ष उनका बुवा–आमाले कोरोना संक्रमणको जोखिमका कारण घर नजाने, यतै दशैं मनाउने योजना बनाएका छन्।

अभिषेकलाई बुवा–आमाको यो योजना मन परेको छैन। उनी बारम्बार घर जाने जिद्दी कसिरहन्छन्। अभिषेकका बाबुले छोरो रमाउला कि भनेर चंगा किनेर ल्याइदिए। उनलाई मनपर्ने खेलौना जम्मा गरिदिए। तर, अभिषेकको मन लट्टाइको धागो छोडेर उडेको चंगासँगै पाल्पा पुगिरहन्छ।

उनी बुबालाई प्रश्न गर्छन्, ‘मेरो यो चंगा उडेको हजुरबाले देख्नु भएको छ ?’ अभिषेकका बुवा साजन मन अमिलो पार्छन्। उनका छोरा ‘म आफैं घर जाने टिकट किनेर ल्याउँछु’ भन्दै दौडन्छन्।

‘मेरो साथीको बुवाले अनलाइन टिकट काट्नुहुन्छ। म गएर काट्न लगाउँछु। टिकट भएपछि त घर जाने हो है बाबा, भन्छ,’ साजन भन्छन्, ‘हामीले हाम्रा बालबच्चालाई सम्झाउनै बिर्सिएछौं। उसको पीडा बुझेर पनि यो वर्ष घर जाने अवस्था छैन। मेरो छोरालाई यो असहज परिस्थितिका बारेमा बुझाउन सकेको छैन। यही कुराले उसलाई कति दिन बिथोल्छ, थाहा छैन।’

आरोही अधिकारी ८ वर्षकी भइन्। उनको मामाघर सिक्किम। अघिल्ला दशैंहरूमा यतिबेला मामाघर सिक्किम जाने योजना बन्थ्यो। उनलाई मामाघरमा सबैले माया गरेर पुलपुल्याएको खुब मनपर्ने। मामाघर गएपछि उनको माग भुइँमा खस्न नपाउँदै सम्बोधन हुन्थ्यो। त्यसैले पनि उनी मामाघर जाने भनेपछि त्यसै फुरुंग हुन्थिन्।

यो वर्ष अवस्था सहज छैन। उनी यो सहज अवस्थाका बारेमा बुझ्दिनन्। उनी आमालाई मामाघर जाने भनेर बारम्बार सताउँछिन्। भन्छिन्, ‘मामाघर नगएर पनि दशैं आउँछ ? तपाईंहरू नजाने भए म एक्लै जान्छु।’ उनी एक्लै मामाघर जान कस्सिन्छिन्।

‘उसलाई के भनेर सम्झाउने ? के हो कोरोना महामारी, उसले कसरी बुझ्न सक्छे ?’ आमा अनिता दिक्क मान्छिन्।

‘अभिभावकले सम्झाउनुपर्छ’
यो समयमा अभिभावकले शिक्षक बनेर हरेक कुरा आफ्ना बच्चालाई सरल तरिकाले बुझाउनुपर्ने बाल–अधिकारकर्मी प्रदिप्ता कादम्बरी बताउँछिन्।

‘तिमीले माया गरेका हजुरबुवा हजुरआमाको स्वास्थ्य सुरक्षाका लागि अहिले घर जानसक्ने वातावरण छैन। अवस्था सहज भएपछि जानुपर्छ भनेर सम्झाउनुपर्छ,’ कादम्बरी भन्छिन्, ‘यो कुरा आफ्ना बच्चालाई अलि अगाडिदेखि नै बुझाउन सुरु गर्नुपर्थ्याे। बच्चालाई एक्कासि भन्दा पनि बिस्तारै सम्झाउँदै गएमा सजिलो हुन्छ।’

आफ्ना बालबालिकालाई सिर्जनात्मक अभ्यास गराएर पनि खुसी राख्न सकिने कादम्बरीको सल्लाह छ। उनका अनुसार बच्चाका रुचिअनुसार पेन्टिङ गर्न सकिन्छ। मादल, बाँसुरी आदि बाजा बजाउन सकिन्छ। उनीहरूलाई कथा कविता, नियात्रा संस्मरण लेख्न लगाउने, चाडपर्वको महिमा बुझ्ने खेल खेलाउने आदि गर्न सकिन्छ। ‘घर जान नपाएर दुःखी भएका बच्चालाई मनमा लागेका कुरा कपीमा लेख भनेर सिकाउन पनि सकिन्छ,’ उनी भन्छिन्।

धेरै बालबालिका मोबाइलमा सबै खालका खेल खेल्न रुचि राख्ने हुन्छन्। उनीहरूका रुचि अनुसारका खेल खेल्न साथ दिएर पनि परिवारको न्यास्रोपन र निराशाबाट आफ्ना बच्चालाई जोगाउन सकिने कादम्बरी बताउँछिन्।

धेरै हजुरबुवा हजुरआमाहरू पनि आफ्ना नातिनातिना देख्न, भेट्न आत्तिएका हुन्छन्। हिजोआज गाउँमा दशैं आउँदाको पर्खाइ भनेकै घरभन्दा टाढा रहेका आफन्तको त हो। त्यसमा पनि सबैजसो हजुरबुवा हजुरआमाले आफ्ना नातिनातिनालाई बढी सम्झन्छन्। यस्तो बेलामा उनीहरूले पनि कहिले घर आउने भनेर अत्याउन सक्छन्।

गाउँमा हुने हजुरबुवा–हजुरआमाले पनि आफ्ना नातिनातिनालाई यो असहज समय हो भनेर बुझाउनुपर्ने कादम्बरीको बुझाइ छ। ‘उनीहरूले पनि समय सहज भएपछि हामी फेरि दशैं मनाउँछौं भनेर सम्झाउनुपर्छ। तिमी त्यहीँ बस भनेर भन्नुपर्छ। यसो गर्दा बालबालिकालाई बुझाउन अलि सहज हुन्छ,’ कादम्बरी भन्छिन्।

अभिभावकले पनि आफ्ना बालबालिकालाई उनीहरूले सम्झिएका मान्छेसँग फोनमा सम्पर्क गराइरहन कादम्बरीको सल्लाह छ।

प्रकाशित : कार्तिक ७, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप समाचार

योगमायाको योगदान

अन्याय चरम हुन पुगेको अनुभव गर्दै ३१ असार १९९८ शनिबार हरिशयनी एकादशीको बिहानै अरुण नदीको उर्लंदो भेलमा योगमाया सहित ६८ जनाले देह त्याग गरे ।

माइतीघरमा चेलीको प्रदर्शन

‘#अझैकतिसहने?’ अभियानले गरेको प्रदर्शनका सहभागीहरूले कालो पोशाक, कालै मास्क रआँखामा कालो पट्टी बाँधेका थिए ।

अस्पतालको अत्याचार, सरकार लाचार

सरकारले हात झिकेपछि कोरोना उपचारका नाममा अस्पतालको बढ्दो मनोमानी

२० फाल्गुन २०७७, बिहीबार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo