साढे सात महिना बितिसक्यो, बालबालिका स्कुल जान नपाएको । उनीहरूले आफू पढ्ने स्कुलको बाटो बिराउन थालिसके । अब त बालबालिकाले सोध्न पनि छाडिसके, ‘स्कुल कहिले खुल्छ ?’ स–साना बालबालिकालाई त विद्यालय झन् एकादेशको कथा जस्तो बनिसक्यो । विद्यार्थी विद्यालय खुल्ने नखुल्ने अन्योलमै छन् । सरोकारवाला निकाय पनि यस विषयमा मौन छन् । स्थानीय सरकारले पनि शिक्षा सम्बन्धी आफ्नो अधिकारलाई संविधानले दिए जति प्रयोग गर्न सकेको देखिँदैन ।
विद्यालय खोल्ने विषयमा सरोकारवालाबीच नै समन्वयको कमी देखिन्छ । संक्रमण न्यून रहेका केही स्थानीय तहहरूले विद्यालय खोल्ने साहस नगरेका पनि होइनन् तर त्यहाँ जिल्ला प्रशासन हावी भए । यसबाटै समन्वय नभएको स्पष्ट हुन्छ । यत्तिका महिना घरभित्रै गुम्सिएर बस्नुपर्दा विद्यार्थी उकुसमुकुस हुनु अस्वाभिावक होइन । पढाइ त भइरहेको छ, अनलाइनमार्फत । तर त्यति प्रभावकारी नभएको विद्यार्थीको अनुभव छ । स्कुलमा पुगेर लिएको शिक्षा दीगो हुन्छ । अनलाइन कक्षाबाट एक तिहाइ विद्यार्थी पनि लाभ लिन सक्दैनन् भनेर शिक्षाविद् नै भनिरहेका छन् ।
लामो समयसम्म अनलाइन कक्षामा बस्दा विद्यार्थीको आँखामा समस्या आउनुका साथै उनीहरूमा इन्टरनेटको लत लाग्नेजस्ता समस्या देखिने मनोविद्हरूले बताउँदै आएका छन् । अनलाइन माध्यमबाट पढ्नु गलत होइन तर अभिभावक र शिक्षकले सही गाइडलाइन दिन सकेनन् भने त्यसले समस्या निम्त्याउन सक्छ । विद्यालयको वातावरणले बालबालिकालाई मानसिक र शारीरिक रूपमा विकास गर्न मद्दत गर्छ । तर लामो समयदेखि घरको कोठाभित्र खुम्चिएर लिइरहेको भर्चुअल कक्षाले उनीहरूको मनमा सन्तोष नभएको विद्यार्थीको अनुभव छ ।
चार वर्षदेखि २० वर्षसम्मका विद्यार्थी अहिले यही सकसमा छन् । विद्यालय पुगेर सिकिने र घरमै बसेर लिइने अनलाइन कक्षाका बीचमा धेरै नै भेद छ । बालबालिकालाई विद्यालय जान जरुरी छ । ‘विद्यालय दोस्रो घर’ भनेर त्यसै भनिएको होइन । तर सरकार विद्यालय खोलिहाल्ने निर्णय गर्न हच्किरहेको छ । सरकार विद्यार्थीको मामिलामा संवेदनशील भएर होइन, ऊसँग स्कुल खोल्ने कुनै योजना नै नभएर हो ।
स्कुल भनेको संवेदनशील ठाउँ हो । विद्यार्थी झनै संवेदनशील । स्कुल खुल्नासाथ विद्यार्थीको संख्या एकसाथ थुप्रिँदा महामारीको प्रभाव पर्ला कि भन्ने तर्क सरकार, अभिभावक र स्कुललाई हुनु स्वाभाविक हो । यसैले पनि समाजमा धेरै कुरा खुल्ला भइसक्दा पनि स्कुल भने बन्द नै छ । सरकार र स्कुल दुवैसँग विद्यार्थीको स्वास्थ्य जोगाएर स्कुल सञ्चालन गर्नेे कुनै योजना पनि छैन ।
कोरोना अहिले सन्त्रासकै चरणमा छ । यस्तो स्थितिमा स्कुल खोलेर थप जोखिम उठाउने कि नउठाउने? यो नेपालको मात्र होइन, विश्वरभरिका सरकारहरूको टाउको दुखाइको विषय भएको छ। एकैचोटि स्कुल खोल्दा समस्या आउन सक्छ ।
यसैले विद्यार्थीलाई पढाइको भार कम गरेर पढाउन सुरु गर्नुपर्छ । विद्यार्थीलाई कुनै मनोवैज्ञानिक समस्या नआओस् भन्ने ख्याल गर्नुपर्छ । साताको एक वा दुई दिन स्कुलमै पढाउने र अरू दिन अनलाइन कक्षा सञ्चालन गर्न सकिन्छ । संक्रमण नभएका क्षेत्रमा स्कुल खोल्ने दिन बढाउन सकिन्छ । स्वास्थ्य सतर्कता अपनाउनुपर्छ । सबै विद्यार्थीलाई एकसाथ स्कुल बोलाउने भन्दा पनि पालैपालो बोलाउन सकिन्छ । स्कुलको कक्षाकोठा र परिसरलाई सफा राख्ने लगायतका उपायले स्कुललाई पनि घरजत्तिकै सुरक्षित बनाउन नसकिने होइन ।
पढाइलाई निरन्तरता दिनु अपरिहार्य छ । संक्रमणबाट जोगाउने चक्करमा उनीहरू मनोवैज्ञानिक रूपमा विक्षिप्त हुनुपर्ने स्थितिमा पुग्नु नपरोस् । यसैले सरकार, स्कुल र अभिभावकको सहमतिमा बिस्तारै तर सतर्कतापूर्वक विद्यालय खोल्दै लैजानुपर्ने देखिन्छ । अहिले विद्यालय बाहेकका अन्य क्षेत्रले पहिले जस्तै सामान्य रूप लिइसकेका छन् । सरकारले उद्योग, कलकारखाना, यातायातलगायत खोल्न अनुमति दिइसकेको छ । तर विद्यालय कहिले खोल्ने भन्ने विषयमा कुनै निर्णय भएको छैन ।
हिमाली जिल्लाका विद्यार्थीको शैक्षिक सत्र खेर जाने लगभग निश्चित भइसकेको छ । माघमा वार्षिक परीक्षा दिएर फागुनबाट नयाँ शैक्षिकसत्र सुरु हुने ती जिल्लाका बालबालिकाले कसरी परीक्षा दिने ? अतः सरकारले समन्वय गरेर संक्रमण नभएका जिल्लामा स्वास्थ्य मापदण्ड पूर्णरूपमा पालना गरी विद्यालय सञ्चालनमा ल्याउन ढिला गर्नु हुन्न ।
प्रकाशित : कार्तिक १७, २०७७
प्रतिक्रियाहरू