काठमाडौं– आजको प्रविधि अत्यावश्यक हो, तर यसमै भर पर्दा बालबालिकामा नकारात्मक असर देखा परेका छन् । मोबाइल, कम्प्युटर र इन्टरनेटमै झुम्मिने बालबालिकामा मानसिक समस्या उत्तिकै छ ।
सञ्चारकर्मी सरस्वती अधिकारीकी छोरी स्तुति सापकोटाकै कुरा गरौं । लकडाउनका कारण ६ वर्षीया स्तुतिको स्कुल बन्द भयो । उनी बारम्बार आमाको काममा डिस्टर्ब गरिरहन्थिन् । सरस्वतीले छोरी भुलाउने सजिलो माध्यम भेटिन्, मोबाइल ।
मोबाइल पाएपछि स्तुति त्यसमै भुल्न थालिन् । तर, उनले मोबाइलमा के हेरिरहेकी छन् भन्नेबारे सरस्वतीले कहिल्यै हेक्का राखिनन् । कामको दबाबका कारण लखतरान परेकी उनलाई छोरीले ज्ञानी भएर मोबाइल हेरेकोमा आनन्द लाग्थ्यो । छोरीले एकदिन एकाएक ‘ममी म अब युट्युब हेर्दिनँ’ भनिन् । त्यसको केही समय छोरीले मोबाइलमा खासै चासो देखाइनन् । सरस्वतीलाई छोरी डराएजस्तो लाग्यो । तर, छोरीले किन युट्युब हेर्न छोडिन्, के कारणले डराइरहेकी छन् भन्ने ख्याल भएन ।
छोरीलाई मनोचिकित्सककहाँ लिएर जाने तयारी गर्दै थिइन् । एक साँझ छोरीले झ्यालको पर्दा खोलेर ‘मामु भूत आयो’ भनिन् । त्यसपछि सरस्वती झल्याँस्स भइन्, छोरीले भूतको कथा हेरेकी रहिछन् । त्यसपछि उनले छोरी झन् धेरै डराएको महसुस गरिन् ।
छोरीको मनबाट कसरी भूतको डर हटाउन सकिन्छ भनेर सोच्दै थिइन् । एकदिन छोरी आफैंले भनिन्, ‘मामु भूतभन्दा त भगवान् ठूला हुन् । भगवानले त भूतलाई पनि जित्न सक्छन् ।’ त्यसपछि सरस्वतीले आफ्नी छोरीलाई हरेक दिन भजन बजाएर सुनाउन थालिन् । अहिले उनकी छोरी पुरानै लयमा फर्किसकेकी छन् ।
प्रविधिका असर
बालबालिका प्रविधिको नजिक हुँदा सकारात्मक र नकारात्मक दुवै असर भएको शिक्षक छविलाल श्रेष्ठ बताउँछन् । ‘बालबालिकालाई प्रविधिबाट टाढा राख्न सम्भव छैन । तर, उनीहरू प्रविधिको कसरी उपयोग गरिरहेका छन् र केमा रमाइरहेका छन् भन्नेमा चाहिँ अभिभावक सजग हुनैपर्छ’, श्रेष्ठ भन्छन् ।
प्रविधिले बालबालिकालाई संसारको नजिक पु¥याए पनि प्राकृतिक सिर्जनशीलतामा कमी ल्याउने श्रेष्ठ बताउँछन् । बालबालिकालाई मोबाइल, कम्प्युटर तथा इन्टरनेटको भरमा मात्रै छोड्न नहुने उनको सुझा छ । ‘हरेक कुराको तालिका बनाएर छोराछोरीलाई दैनिकीमा अभ्यस्त पार्नुपर्छ,’ उनको सुझाव छ ।
अभिभावकलाई सुझाव
– प्रविधिका असर र सकारात्मक पक्षबारे बालबालिकालाई सम्झाउँदै जानुपर्छ ।
– बालबालिका युट्युबमा के हेर्दै छन् भन्नेबारे अभिभावकले जानकारी राख्नुपर्छ ।
– आफ्ना बालबालिकाका लागि सामग्री आफैंले छनोट गरिदिनुपर्छ ।
– बालबालिकाको रचनात्मक विकासमा सहयोग गर्ने खालका सामग्रीलाई प्राथमिकता दिनुपर्छ ।
– प्रविधिका कारण बालबालिकाको पारिवारिक दूरी बढिरहेको हुन्छ, त्यो रिक्ततातर्फ अभिभावकले बेलैमा ध्यान दिनुपर्छ ।
– बालबालिकाकाले मोबाइल, कम्प्युटर तथा इन्टरनेटमा कुन समय के गर्ने भनेर अभिभावकले दैनिक तालिका बनाइदिनुपर्छ ।
चिकित्सकको सुझाव
– रामपुकार शाह/ मनोविद् चिकित्सक
अभिभावकले आफ्ना बालबालिकासँग उनीहरूको स्वभावअनुसार व्यवहार गर्नुपर्दछ । उमेरसँगै हर्मोन परिवर्तन हुने भएकाले उनीहरूको स्वभाव पनि परिवर्तन भइरहन्छ । अहिले धेरै ‘न्युक्लियर फेमिली’ बस्छन् । अभिभावक सबै कामकाजी हुन्छन् । उनीहरूसँग आफ्ना बच्चाका लागि पर्याप्त समय हुँदैन । तर, अभिभावकले आफ्ना बालबालिकालाई पर्याप्त समय दिनुपर्दछ । बालबालिकाले गलत काम गरेछन् भने पनि नराम्रा शब्द प्रयोग गरी गाली गर्नु हुँदैन किनभने उनीहरूले यस्ता कुरा चाँडै टिप्छन् ।
बालबालिका जिज्ञासु स्वभावका हुने भएकाले एउटै काम गरेर बस्दैनन् । एउटा खेल खेलेपछि अर्को काममा लागिहाल्छन् । बालबालिकालाई ग्याजेट खेल्न दिनुभन्दा प्रत्यक्ष खेल खेल्न प्रेरित गर्नुपर्छ । उनीहरूसँग आफूले पनि खेल्नुपर्छ ।
प्रकाशित : कार्तिक २०, २०७७
प्रतिक्रियाहरू