भक्तपुर– अभिभावक, विद्यार्थी र आम सर्वसाधारणको मुखबाट अचेल मेधा माध्यमिक विद्यालयकै महिमा सुनिन्छ । हुन पनि, भक्तपुर नगरपालिका तेखापुखुस्थित मेधा माविको चर्चा देशव्यापी भइसकेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विसं २०७६ को शिक्षा दिवसमा मेधालाई नेपालको सर्वोत्कृट सामुदायिक विद्यालयको पुरस्कार दिएपछि त यसको ख्याति झनै चुलियो ।
मन्त्रालयले विगत तीन वर्षको एसईई नतिजाका आधारमा उत्कृष्ट विद्यालय छनोट गर्छ । एसईईमा उत्कृष्ट नतिजा ल्याएकै कारण प्रदेश सरकारले पनि मेधा माविलाई सम्मान गरेको थियो । शिक्षामा सरोकार राख्ने संस्थाहरूले पनि धेरै पटक सम्मान गरेको प्रधानाध्यापक गंगाधर हाडा बताउँछन् ।
भर्ना हुनेको लर्को
विद्यालयमा अंग्रेजी माध्यमबाट मात्रै पढाइ हुन्छ । हरेक कक्षाकोठामा प्रोजेक्टरको व्यवस्था छ । कुनै समय बन्द हुने अवस्थामै पुगेको यो विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न थालेपछि आफ्ना बालबालिका पढाउन अभिभावक हरप्रयास गर्छन् ।
‘भर्ना गरिदिनुपर्यो भन्दै माथिल्लो ओहोदामा रहेका व्यक्तिले पनि फोन गर्छन्,’ प्रधानाध्यापक हाडा भन्छन्, ‘जोसुकैले फोन गरे पनि हामी वास्ता गर्दैनौं, जो प्रवेश परीक्षामा अब्बल ठहरिन्छ, उसैलाई स्थान दिन्छौं ।’
काठमाडौं उपत्यकाका अधिकांश सामुदायिक विद्यालय विद्यार्थी नपाएर बन्द हुने अवस्थामा पुगेको बेला मेधामा भने भर्ना नपाएर विद्यार्थी फिर्ता हुने गरेका छन् ।
गत वर्ष ठाउँ अभावका कारण करिब सात सय विद्यार्थीलाई फिर्ता पठाउनुपरेको प्रधानाध्यापक हाडा बताउँछन् । ‘कक्षाकोठाको अभाव भएकाले भर्ना लिन सकिएन,’ भन्छन्, ‘गत वर्ष डेढ सय विद्यार्थी भर्ना लिएर बाँकी सात सय विद्यार्थी फिर्ता गर्न बाध्य भयौं।’
बेग्लै छ, इतिहास
मेधा मावि स्थापनाको छुट्टै इतिहास छ । सामाजिक रूपान्तरण गर्ने उद्देश्यले वर्ष २००४ मा स्थापना हुँदा यो विद्यालयको नाम शान्तिभक्त विद्यालय थियो ।
विद्यालयका संस्थापक विष्णुभक्त बोजू हुन् । बोजू नेतृत्वको समूहले विद्यालयका माध्यमबाट सामाजिक रूपान्तरण ल्याउने उद्देश्य राखेर यस विद्यालयको स्थापना गरेको प्रधानाध्यापक हाडा बताउँछन् ।
२०१३ मा विद्यालय नेपाल सरकारलाई हस्तान्तरण गरियो र कन्या प्राथमिक विद्यालयका रूपमा नाम परिवर्तन गरीयो । विद्यालय छात्राका लागि मात्र सञ्चालन हुन थाल्यो ।
प्रधानाध्यापक हाडाका अनुसार विद्यालयले सफलता पाउँदै गएपछि २०२७ मा प्राविबाट निमावि र २०३१ मा माविमा उन्नति भयो । ०३४ मा एसएलसी (हालको एसईई) परीक्षामा सहभागी हुँदा राम्रै विद्यालयका रूपमा परिचित थियो, कन्या मावि । ०४५ पछि भने विद्यालयको शैक्षिक गुणस्तरमा ह्रास आउन थालेको हाडा बताउँछन् ।
धेरै पटक एसएलसीमा नील भएपछि २०५३ मा तत्कालीन जिल्ला शिक्षा कार्र्यालयले अर्को वर्ष पनि राम्रो नतिजा ल्याउन नसके माविबाट निमाविमा झार्ने चेतावनीसहितको पत्र पठाएको थियो ।
सोही वर्षदेखि कन्या मावि (हालको मेधा) मा जोडिएका हुन् अहिलेका प्रधानाध्यापक हाडा । त्यस बेला हाडाको दश जनाको समूह विद्यालयमा स्वयंसेवक बनेर आएको थियो । उनको समूहले स्वयंसेवी शिक्षण गरेको वर्ष २०५३ मा कन्या मावि एसएलसीमा ५९ प्रतिशत विद्यार्थी उत्तीर्ण गराउन सफल भयो ।
‘हामीले छोडेपछि विद्यालयको हालत फेरि खस्कियो । एसएलसी परीक्षामा पुनः नील हुन थाल्यो,’ हाडा भन्छन्, ‘विद्यालय बन्द हुने स्थितिमा पुगिसकेको थियो ।’
हाडाको सुखद् आगमन
विद्यालयको पर्खाल र भवनमा झ्यालढोका नभएका कारण कुनै समय टोलका मानिसले फोहोर गर्ने थलो बनेको थियो, कन्या मावि । अवस्था दिन प्रतिदिन खस्कँदै गएपछि गाउँकै अग्रजको बारम्बारको आग्रहमा २०६० मा कन्या माविको शिक्षकका रूपमा हाडाको आगमन भयो ।
‘शिक्षक भएर आएको भोलिपल्ट नै मलाई सहायक प्रधानाध्यापकको जिम्मेवारी दिइयो,’ हाडा भन्छन्, ‘जिम्मेवारी पाएपछि सबैभन्दा पहिला शिक्षकहरूलाई काम गर्न प्रोत्साहन गरेँ ।’
विद्यार्थी कमजोर भएका कारण बिहान सात बजेदेखि साँझ ६ बजेसम्म पढाएको हाडा सम्झन्छन् । जसको फलस्वरूप २०६१ को एसएलसी परीक्षामा १२ जना विद्यार्थी सहभागी भएकोमा शत प्रतिशत नै उत्तीर्ण भए ।
कन्या मावि त्यस बेला शत प्रतिशत विद्यार्थी पास गर्ने भक्तपुर जिल्लाको पहिलो विद्यालय पनि भएको थियो । वि.सं. २०६१ देखि २०७६ सम्म यो विद्यालय १३ पटक एसएलसी परीक्षामा शत प्रतिशत पास हुन सफल भएको छ ।
कन्याबाट यसरी भयो, मेधा
०६३/६४ मा विद्यालयको नाम परिवर्तन भएर कन्या सहशिक्षा माध्यमिक विद्यालय भयो । त्यसपछि छात्रको पढाइ पनि सुरु भयो।
वर्ष २०६४ बाट कक्षा १ मा अंग्रेजी माध्यमबाट पढाइ थालिएको यस विद्यालयमा अहिले कक्षा १० सम्मै अंग्रेजी माध्यमबाट पढाइ हुन्छ ।
विद्यालयको नाम कन्या मावि भएकाले छात्रहरूको प्रामाणपत्रमा आशंका उत्पन्न हुने समस्या देखियो । अन्ततः २१ फागुन २०७१ मा विद्यालयको नाम कायम गरियो, मेधा माध्यमिक विद्यालय ।
भवन र शिक्षक अभाव
विद्यालयमा करिब सात सय विद्यार्थी अध्ययनरत छन् । पर्याप्त शिक्षक र भनेजस्तो भवन नहुँदा समस्या भइरहेको प्रधानाध्यापक हाडा बताउँछन् ।
‘विद्यालयमा अहिले २० जना शिक्षकको मात्र दरबन्दी छ,’ उनी भन्छन्, ‘शिक्षक र कर्मचारी अभावका कारण ३० जना शिक्षक निजी स्रोतबाट राखिएको छ ।’
बर्सेनि भर्ना हुन आएका सयौं विद्यार्थी फर्काउन बाध्य हुनुको कारण विद्यालय भवन, कक्षा कोठा र शिक्षक अभाव नै हो ।
याे पनि पढ्नुहाेस् ।
सामुदायिक विद्यालयको सान (हाम्रो विद्यालय, प्रदेश १)
जनकपुरको शैक्षिक धाम (हाम्रो विद्यालय, प्रदेश २)
सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीले प्रायः आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाइरहेको देखिन्छ। कालिका माविको कुरै बेग्लै छ। शिक्षक÷कर्मचारीका बालबच्चा अन्यत्र पढदैनन्, कालिकामै पढछन्।
पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत आमसञ्चार विषयको पहिलो पुस्तक भएको लेखकद्वयको दाबी छ।
नयाँ पाठ्यक्रममा कक्षा ११, १२ मा गणित विषयलाई ओझेलमा पार्न खोजिएको भन्दै गणित विषय प्र्रेमीहरूले नयाँ पाठ्यक्रमको विरोध गर्दै आएका छन् ।
प्रतिक्रियाहरू