बालबालिका अर्थात् आमाबुवा तथा हजुरबा–हजुरआमाका काखमा लुटपुटिँदै खेल्ने, सिक्ने र हुर्कने उमेर। यो उमेरमा अरूको लाख भन्दा आमाबुवाको काख प्यारो हुन्छ। तर अहिले धेरै बालबालिका आमाबुवाको वात्सल्य र परिवारको स्नेहबाट वञ्चित हुँदै छन्। यसरी अभिभावकको संरक्षण, स्नेह र अनुरागबाट वञ्चित हुनुपर्दा उनीहरूमा मानसिक र शारीरिक समस्या देखा पर्दै छ।
नेपालको कानुनअनुसार बालबालिकालाई कुनै पनि बहानामा परिवारबाट टाढा राख्न नपाइने प्रावधान छ। तर धेरै बालबालिका परिवारबाट अलग्गिएका छन्। कोही गुणस्तरीय शिक्षाको आसमा बाहिरिएका छन्। कोही गरिबी र अभावले परिवारबाट बिछोडिने गरेका छन्। आमाबुवा कमाउन बिदेसिएपछि कतिपय बालबालिका एक्लिएका छन्। सानैमा अभिभावक गुमाएर कतिपय अलपत्र परेका छन्।
जुनसुकै बहाना वा परिबन्ध भए पनि परिवारबाट टाढिनुपर्दा बालबालिका निराश हुन्छन्। यसरी परिवारबाट अलग्गिएका बालबालिकामा शारीरिक र मानसिक दुवै असर पर्ने बाल–मनोविमर्शकर्ता मनिता धरेल बताउँछिन्।
‘बालबालिकालाई आमाको काख न्यानो लाग्छ। बोल्न र हिँड्न नसक्ने उमेरमा पनि उनीहरू आमालाई देख्नासाथ चिनेर अँगालोमा हामफाल्छन्,’ धरेल भन्छिन्, ‘मातृ वात्सल्य र परिवारको संरक्षणबाट अलग गराउनु भनेको उनीहरूलाई मानसिक तनाव दिनु हो।’
विभिन्न कारणले परिवारसँग बिछोडिएका बालबालिका लागूऔषध बेचबिखन तथा वेश्यावृत्तिमा फस्ने जोखिममा रहेको बाल–अधिकारकर्मी प्रदीप्ता कादम्बरी बताउँछिन्।
‘परिवारबाट बिछोडिएका बालबालिका नै घरेलु श्रमिक, कलकारखानामा बालमजदुरका रूपमा काम गर्न पुग्छन् । कति बालबालिका सडकमा पुग्ने गरेका छन्,’ कादम्बरी भन्छिन्। सरकारले बालबालिकाको शिक्षा मात्रै नभई पारिवारिक बिछोडको पाटोतर्फ पनि ध्यान दिनुपर्ने कादम्बरीको ठम्याइ छ।
‘पछिल्लो समय व्यस्तताका कारण अभिभावकले बच्चालाई हेरचाह गर्ने समय नै हुँदैन। नानीबाबुलाई होस्टेलमा राख्ने क्रम बढ्दो छ,’ कादम्बरी भन्छिन्, ‘परिवारको माया पाउनुपर्ने बाल उमेरमै बिछोडिन पुगेका बालबालिकमा एक्लोपन, कम अपनत्व भाव, कुलतमा फस्ने सम्भावना बढी हुन्छ ।’
पारिवारिक बाल विछोड रोक्न सबैभन्दा पहिले अभिभावकले बाल संवेदनशीलता बुझेर बालमैत्री व्यवहार गर्नुपर्ने राष्ट्रिय बाल अधिकार परिषदका कार्यकारी निर्देशक मिलनराज धरेल बताउँछन् । ‘बालबालिका आफ्नै हिसाबले परिवारसँग टाढा हुँदै छन् भने उनीहरूको र परिवारको मूल्यमान्यताबीच दूरी छ भनेर बुझ्नुपर्छ,’ उनी भन्छन् ।
नेपालको कानुनले बालबालिकालाई परिवारबाट छुटाउन नपाउने व्यवस्था गरेकाले कुनै पनि हिसाबले बालबालिकालाई परिवारबाट छुटाउनु अपराध भएको धरेलको टिप्पणी छ ।
बाल विछोडले निम्त्याउने मानसिक असर
–एक्लै सुत्न डराउने ।
–बारम्बार परिवारबाट विछोड भएको सपना देख्ने ।
– आफ्नो परिवारबाट बारम्बार विछोड हुन्छ कि भन्ने चिन्ता व्यक्त गरिरहने
–पढाइमा रुचि घट्दै जाने
–जीवनमा जहिले पनि एक्लै मात्र हुन्छु कि भन्ने चिन्ता लिने ।
–परिवारमा फर्केपछि पनि विभिन्न शारीरिक दुखाइको गुनासो गरिरहने ।
–आफ्नो सुरक्षा र संरक्षणको चिन्ता भइरहने ।
–परिवारमा फर्किंदा पनि उसलाई निदाउन समस्या बढ्दै जाने ।
– आक्रामक र रिसाउने बानी बालवालिकामा बढ्दै जाने ।
अभिभावकको भूमिका
–बालबालिकालाई उमेरअनुसारको स्वतन्त्रता प्रदान गर्ने ।
–बालबालिका आफैंसँग राखेर माया र कर्तव्यका बारेमा जानकारी दिने ।
–बालबालिकालाई आफैंसँग राखेर धर्म र संस्कृतिबारे सिकाउने ।
–बालबालिाकालाई आफ्नो भाषामैत्री बनाउने ।
–बालबालिकाको भावना बुझ्ने ।
–बालबालिकालाई परिवारको दुःखसुखको हिस्सा बनाउने ।
–बालबालिकाको कलिलो मनस्थितिमा आफ्नो निर्णय नथोपर्ने ।
प्रकाशित : कार्तिक २२, २०७७
प्रतिक्रियाहरू