काव्य

पुराना पाना पल्टाउँदा

एजुकेशन टाइम्स संवाददाता
सुवास खनाल
कार्तिक २२, २०७७

माध्यमिकतहको स्कुले जीवन सकिएको अठार वर्ष भएछ । अहिले बाह्र कक्षा उत्तीर्ण भएपछि बल्ल माध्यमिकतह उत्तीर्ण भएको मानिन्छ । तर हामी सो तह पढ्दाताका एसएलसीपछि कलेज भन्ने प्रचलन थियो । हुन त बाह्रसम्म उच्चमावि नै थियो । अहिले उच्चमावि संरचना हराएकोे छ । सम्भवतः सबैभन्दालामो समय साथीहरूसँग सहचार्य गर्ने विद्यालयीय उमेर नै होला । कलेज छिरेपछि उत्ति साह्रो समयावधिका अध्ययन संरचना छैनन् । स्नातकतह ३ वर्षे (हालचार वर्षे) । स्नात्तकोत्तर तहदुई वर्षे । चिन्दाचिन्दै छुटिने बेला भइसक्छ । परिपक्वताको उमेरमा प्रवेश गरिसकिएको हुन्छ र यो समयमा करिअर निर्माण, जीवन व्यवस्थापन पनि आउने हुनाले विद्यालय उमेर जत्तिको मोहक र साथीहरूसँग नजिकिने समय उत्ति बन्दैन ।

यत्तिका भूमिका बाँध्नुको मूलध्येय विद्यालयीय जीवनका पानाहरू पुनः पल्टाउनु र जीवनका पुराना रिलहरूतिर दृष्टि दिनु नै हो । यो क्रमबद्ध र व्यवस्थित स्मरणहरू नहुन सक्छ तर यादका झिल्काहरू जो नमेटिने भएर बसेका छन्, तिनको तस्बिर पुनः खिच्दै बस्न चाहनु हो । हामी आजका दिनहरूमा अघि बढ्छौं, त्यसको ऊर्जा हिजोसँग पनि जोडिएको छ । जापानी प्रसिद्ध लेखक हारुकी मुराकामी भन्नुहुन्छ, ‘जतिसुकै कष्ट भोग्नुपरेको भए पनि, तपाईंले ती सम्झनाहरूलाई कहिल्यै त्याग्न चाहनुहुन्न ।’ यसमा दुविधा छैन, हामीले हिँडेका असहज बाटाहरू नै सहजतातिरको अभ्यास हो ।

तत्कालीन कर्मप्राप्ति निमावि छतिवन–८ मा कक्षा ८ सम्म अध्ययन गरेको तेह्र–चौध वर्षे केटो महेन्द्र माध्यमिक विद्यालय छतिवनमा कक्षा ९ मा अध्ययन गर्न आइपुगेको थिएँ । कक्षा ८ को जिल्लास्तरीय परीक्षामा जिल्लाका उत्कृष्ट २० विद्यार्थी छनोट हुँदा आठौं भई कोल्गेट पाल्मोलिभ छात्रवृत्तिप्राप्त गरेकाले अलिक चिनारीको केन्द्रमा थिएँ म । कक्षा ९ को पहिलो दिन कस्तो होला र नयाँ विद्यालयको अनुभव कस्तो रहला भन्ने उत्सुकता मनमा दगुरिरहेथ्यो । कर्मचुलीका वासुदेव खनाल, अमित बञ्जारा र रिझनाथ ठाकुर जस्तै प्रभावी शिक्षकहरू हुनुहुन्छ अथवा हुनुहुन्न होला भन्ने त छँदै थियो । पावसबाटै विद्यालय जाने चिरञ्जीवी, संगम बानियाँहरू अब बाटोका साथीहरू बन्दै थिए । गाउँबाट मच्चिएर हिँड्दा बीस वा पच्चीस मिनेटमा पुगिन्थ्यो स्कुल तर वर्षामा खोलाले सातो लिन्थ्यो । अहिले पक्की पुल भएर खोला पार गर्ने त्यहीँका विद्यार्थीलाई यी कुरा रमाइलो कथाझैं लाग्न सक्छन् । त्यहीखोलाकै डरले पहिले हामीकर्मचुली पढ्न गएथ्यौं । बुवाआमाले त्यता हालिदिनुभएको थियो ।

सुरुको दिन पहिलो बेन्चमा बस्न पाउने लालसाले ८ बजे खाना खाएर साथी संगम बानियाँ, जीवन पौडेल भाइ र म स्कुल गएथ्यौं । त्यतिखेर आइपुग्दानि स्कुलनजिक घर हुने साथीहरूले एउटा–एउटा कपी राखेर पहिलो बेन्च त रिजर्भ गरिसकेका रहेछन् । हाम्रो ठाउँ रह्यो दोस्रो बेन्च । त्यही बेन्चमाहामीले बस्ने ठाउँ पायौं । पहिलो वा दोस्रो बेन्चमा बस्नु पनि खुबै महत्त्वको विषय बन्थ्यो । उद्धव सर, रमेश सर, जनार्दन काकाहरू त अगाडिदेखि नै परिचित शिक्षक हुनुहुन्थ्यो । उद्धव सर र रमेश सर साहित्यमार्फत परिचय हुनुभएका । अरू बाँकी शिक्षकहरूबारे कौतूहलता रहेकै थियो । यता विद्यालयमा प्रथम भएर गएको विद्यार्थी भन्ने हिसाबले पनि सबै शिक्षकहरूले सहज ढंगले व्यवहार प्रस्तुत गर्नुभएको महसुस हुन्थ्यो । तर एउटा कुरामा त्यही दिन फेलभइयो । नेपालीको घण्टीमा आउनुभयो रमेशमोहन सर । उहाँले ९ कक्षामा नयाँ आउने विद्यार्थीलाई क देखि ज्ञ सम्म लेख्न दिनुभयो । मेरो ‘ख’ बिग्रियो । मैले ‘रव’ लेखेछु। ‘ख’ लेख्दा ‘र’लाई तलबाट घुमाएर लगेर ‘व’को तल्लोपट्टि जोड्नुपर्छ भन्ने मैले कक्षा नौ मा रमेश सरमार्फत सिकेँ । विचारक इयोनकोल्फरको ‘आत्मविश्वास भनेको अज्ञानता हो’ भन्ने भनाइ सधैं सम्झिरहन्छु । मलाई ‘ख’ लेख्न आउँछ भन्ने आत्मविश्वास थियो त्यो मेरो अज्ञानता रहेछ ।

म सँगै अध्ययनको प्रतिस्पर्धामा थिए, साथीहरू दिलीप हुमागाईं, राजन राय, संगम बानियाँ, टीकाराम राई लगायत । जाँचको अंकमा प्रतिस्पर्धी थियौं तर व्यवहारमा सौहार्द । आज पनि त्यो सौहार्दता कायम छ । मिल्ने साथीहरू थिए– दीपक गौतम, इन्द्र घिमिरे, रामशरण माझी, जीवन पौडेल, बद्री पाण्डे, उद्धव अर्याल, विश्वनाथ सञ्जेल, नोख विक, विष्णु विक, केदार न्यौपाने लगायत । आज पनि यी साथीहरू आ–आफ्नो क्षेत्रमा प्रभावी छन् ।

आज महेन्द्र माविले रूप फेरेको छ । पुराना शिक्षक बिदा हुँदै नयाँ शिक्षक आउनु त प्राकृतिक नियम नै हो। पुरानो साख जोगाएर त्यसमाथि समन्वय र सहभागितामूलक संरचना निर्माणकै कारण नमुना विद्यालय बनेको छ । तुलनात्मकरूपमा भौतिक संरचना दर्बिलो छ । ठूलो एकाइमा काम भइरहेको छ । तर पुराना दिनहरूको सम्झनामा जाने हो भने ढुंगा–माटोले बनेको गाह्रो । भत्किएका बेन्च र ढल्न लागेका काठका खाँबाहरू । २०७२ अघि नै विद्यालयको संरचना बदलियो, नत्र त्यही भूकम्पले विद्यालयको संरचना ध्वस्त बनाउने थियो ।

हामी विद्यार्थी मिलेर शुक्रबार–शुक्रबार भुइँ बढार्ने, भित्ता र भुइँपोत्ने काम गथ्र्यौं । कहिलेकाहीँचाहिँ पढ्न मन नलागेको कक्षाका लागि गतिलो निहुँ पनि यही बन्थ्यो । घण्टी खाली भएका बेला ठेकीफल र बयर खान जाने समय पनि गज्जबसँग बन्थ्यो । केही साथीहरू थिए, राजनीतिक गफ गर्न सिपालु । हामी पनि जाने नजानेको तर्क गर्थ्याैँ ।

कक्षा १० पढ्ने बेला जनयुद्धको प्रभाव छतिवनमा पनि राम्रैसँग पर्‍यो । तत्कालीन माओवादीले आयोजना गरेका कार्यक्रमहरूमा विद्यार्थीहरूलाई सहभागिता जनाउन विद्यालयमा आग्रह हुन थाल्यो । शिक्षकहरू अलमलमा पर्नुभएको हामी प्रष्टैसँग बुझ्थ्यौँ । राज्यको एक अङ्गको रुपमा क्रियाशील शिक्षण संस्थाबाट विद्यार्थी लैजाँदै गर्दा प्रशासनबाट गलत ढङ्गले बुझिने अवस्था रहन्थ्यो । दोहोरो मारमा शिक्षण संस्था र शिक्षकहरू थिए । केही कार्यक्रमहरूमा हामी पनि सहभागी हुनपुग्थ्यौं । त्यहाँको आन्तरिक सुरक्षाका लागि गरिएको हुनसक्छ तर हामीलाई भने कार्यक्रममा छिराउने तर बाहिर जान नदिने र मान्छेको साङ्लोमा कैद गर्ने शैली मन पर्दैनथ्यो ।

एउटा कार्यक्रम हात्तीसुँढेमा हुने र विद्यालय सबै बन्द गरेर विद्यार्थी लैजानुपर्ने सूचना विद्रोही पक्षबाट विद्यालयमा आएको रहेछ तर सरहरूले भने इच्छा हुने जान्छन् सबैलाई कर छैन भन्ने ढंगले कुरा गरेर कक्षा सञ्चालन गर्न लाग्नुभयो । त्यो बेलाको त्यसै क्षेत्रका जनमिलिसियाको कमान्डर भनिने एकजना व्यक्ति आएर हाम्रा एक जना गुरुलाई निकै नराम्रोसँग झपारे र ज्यान मार्नेसम्मको धम्की दिए । यसरी हेर्दा तत्कालीन विद्रोही शक्तिमा राज्य परिवर्तनका चाहना बोक्दाबोक्दै पनि अराजकताहरू पनि रहेको हामी महसुस गर्दथ्यौं । अहिले समय बदलिइसकेको छ । पुरानो विद्रोही शक्ति मुलधारे राजनीतिमा समाहित भइसकेको छ । हिजोका वैमनस्यका खाटाहरू क्रमश : पुरिँदै होलान् ।

आजफर्केर छतिवनलाई हेर्दा ती पदचिह्नहरू जुन हामीले छाडेर आयौं ती त मेटिँदै होलान् । त्यहीँबाट फुत्केकामध्ये कोही विदेशी भूमिमा आफ्ना पहिचान कायम गर्दै छन्, कोही देशमै आफ्ना नाम र प्रभावहरू उजिल्याउने प्रयत्नमा छन् । जहाँ पुगे पनि वा उहीँ रहेपनि यी सबै जमिन छुट्टाछुट्टै छैनन् । सबैले फेर्ने हावाको तह एउटै हो । हाम्रो जमिन छतिवनसँग जोडिएकै छ, हामीले सास फेर्दा हावाबाट लिने अक्सिजन र छाड्ने कार्बनडाइअक्साइड घुम्दै यावत् जगत् डुल्छ, जहाँ छतिवन पनि सँगै छ ।

प्रकाशित : कार्तिक २२, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप काव्य

गजल

चिरबिर चिरबिर गर्छन्, के गीत गुन्छन् चराहरू ? मलाई त लाग्छ, पीर पोख्छन्, रुन्छन् चराहरू । गुँडै छोडेको आरोप किन लाग्छ लाग्ने बेलामा? खासमा चारो खोज्न उडेका हुन्छन् चराहरू । तैपनि मनमा घमण्ड अलिकति पनि छैन छुन त कैयौं पटक आकाश छुन्छन् चराहरू । हामी त उनीहरूलाई सुनेर खुब आनन्द मान्छाैं हामीबाट चाहिँ खासमा के […]

श्रुति (कथा)

श्रुति सोध्न मन त थियो नि। स्टुडेन्टमा आएकी हौ कि डिपेन्डेन्ट? बिहे गर्यौ कि छैन? मैले तिम्रो नाममा लेखेको कविता पढ्यौ कि पढिनौ? मैले तिम्लाई कलेजमा खोज्दै गएको खबर सरले तिमीलाई दिए कि दिएनन्?

आँखा चिम्लिएका मानिस

यो युगका विषालु सर्पहरू समय निल्न तम्तयार छन् प्रदूषित हावा निरन्तर निरन्तर चलिरहेछ मरुभूमिझैँ वर्तमान शून्यता बोकेर दगुरिरहेछ सोच्नुस् सूर्यग्रहणको समय हो यो धरतीमा निष्पट्ट अँध्यारो खसिरहेछ नदीमा पानी बग्दै छ कि रगत ? बाटो सन्त्रस्त दौडिरहेछ रुखहरू काँपिरहेछन् तुफानसँगै तर तपाईं–हामी मानिस ढुक्क आँखा चिम्लिएका छौँ कोही निर्धक्क निदाएका छौँ कोही निदाउने उत्कट प्रयत्नमा […]

२० फाल्गुन २०७७, बिहीबार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo