काव्य

श्रुति (कथा)

एजुकेशन टाइम्स संवाददाता
शेखर विकल्प
कार्तिक २२, २०७७

प्रिय श्रुति,
तिमीलाई जीवनमा चिठी लेखौंला या तिमी सम्झनामा फेरि फर्केर आउली जस्तो कहिले लागेको थिएन। खासमा तिमीले मसँग आफ्नो नामसम्म सही नभनेकी रहिछौ है? किन श्रुति? मलाई तिमीसँग धित मरुन्जेल रिसाउन मन थियो। तर पाइनँ। आखिर मान्छेले चाहेर रिसाउन पनि नपाउने रहेछ है?

कसैको नाममा के हुन्छ थाहा छैन तर तिम्रो नामलाई भारी नपरोस् भनेर कति दिनसम्म मैले नयाँ कुरा हेर्न मन गरिनँ। सम्झिने चेस्टा गरिनँ। कलेजको हरियो चउरमा कतिदिन तिमीलाई खोजिरहेँ तर कतै भेटिनँ।
फेरि कुनै दिन सिट–प्लानसँगै पर्छ कि भनेर एक्जामको घण्टी बज्दासम्म पनि आँखा ढोकामै पुर्याइरहन्थेँ। तर त्यो दिन कहिल्यै फर्केर आएन। तिम्रो जीवनमा त त्यस्ता सिट–प्लान धेरै फेरिए होलान्।एउटै बेन्चमा पर्नेहरू पनि धेरै भए होलान्। हुन त मेरा पनि भए। तर जीवनको १४ औं वर्षमा पुग्दा किन त्यस्तो यादगार भए होला?

मलाई अचम्म लाग्छ श्रुति, हुन त म तिमीलाई आज १२ वर्षपछि शब्द अथवा तिम्रो रियल नामले बोलाउन सक्थेँ तर खै किन मन लागेन।

मलाई सोध्न मन छ श्रुति, त्यो साइन्टिफिक क्याल्कुलेटर कहाँ पुग्यो होला? के भयो होला? हरायो कि फुट्यो होला? त्यही क्याल्कुलेटर थियो जसमा मैले १ पेज लामो एकाउन्टको हिसाब गरेर कागज च्यापेर दिएको थिएं। मान्छेलाई कसैको साथले कति ठूलो हिम्मत मिल्छ भन्ने कुरा आजसम्म म महसुस गर्छु श्रुति। जीवनमा कहिल्यै चिट नचोरेको म ब्याचलरमा पुग्दा तिमीले एउटा हिसाब जानिनँ भन्दा पेजै भरिने गरी चिट सारेर दिएँ। चिट भेटिएको भए तिमी र म दुवै रेस्टिकेट हुने थियौं र कापीमा रातो लाग्ने थियो। मलाई गाइड सरसँग डर किन नलागेको होला? बरू मलाई अन्तिमसम्म डर त एउटै कुरामा पो लाग्यो, कतै हिसाब त बिगारिनँ? थाहा छैन श्रुति, त्यो तिमीप्रतिको लगाव थियो या मेरो मूर्खता?

शब्द नाम मसँग यसरी जोडिएर आयो कि, मैले शब्दकै नाममा कविता लेखेँ पत्रिकामा छपाएँ पनि। त्यो पत्रिका मसँग आज पनि सुरक्षित छ घरको दराजमा। हुन त तिमीले मेरो नाम शब्द हो भनेर भनेकी थिइनौ। क्याल्कुलेटरमा लेखिएको नाम थियो शब्द शर्मा।

मैले किन सोचिन होला त्यो क्याल्कुलेटरमा लेखेको नाम तिम्रो नहुन पनि सक्छ भनेर। या यसै राखेको उपनाम हुन पनि त सक्यो। साँच्चि त्यो क्याल्कुलेटर तिम्रै त थियो?

तिमीलाई थाहा छ श्रुति? म तिमीलाई खोज्दै तिम्रो कलेज मिलेनियममा पनि पुगेको थिएँ! सोधेको थिएँ शब्द शर्मा भन्ने केटी कोही छ कमर्समा भनेर? एकाउन्टेन्ट सरले नेम लिस्ट हेरेर कोही छैन भन्दा म जीवनकै सबैभन्दा निराश भएको थिएँ।

मनमा बस्न र सम्झना हुन धेरै कुरा चाहिने रहेनछ श्रुति! आखिर तिमीसँग बसाइ भएको ३ घण्टा न हो। न एक्जाम हलमा सँगै पस्यौ न बाहिरिँदा सँगै। ३ घण्टाको बीचमा मुस्किलले ३–४ पटक हेराहेर भएको त हुँदो हो, त्यही पनि झल्याकझुलुक मात्रै। खास तिम्रो आवाज पनि त जम्मा ३ शब्द मात्रै सुनेको थिएँ। त्यति सुमधुर र त्यति कर्णप्रिय आवाज कहिल्यै केही लागेन। महाकाव्य सुने भन्दा गहन लाग्छ आज पनि त्यो ३ शब्द– सर थप कपी।

मलाई तिम्रो केीह कुरा याद छैन श्रुति। तिम्रो त्यस्तो के थियो, जस्तो भन्छन् नि, लालुपाते ओठ, गुलाफ फक्रिए जस्ता गाला, खिरिला अनारदाना जस्ता दाँत, नागवेली सिल्की लामो कपाल, बारुले कम्मर, क्याटवाक हिँडाइ यस्तै के–के। खासमा यो मेरो रुचिको विषयमा कहिल्यै परेन श्रुति! म त सुन्दरता व्यक्तिको व्यवहार, चरित्र र उसको क्षमतामा हुनुपर्छ भन्ने सोच राख्छु आजपर्यन्त।

बरु एकपटक शिरदेखि पाउसम्म हेरेको थिएँ लुकेर तिमीलाई। तिम्रो आँखाको गोलो चम्किलो चस्मा र टाउकोको हेडबिन चाहिँ खुब मन परेको थियो। त्यसपछि नै हो म चस्मा लाउने केटी भनेपछि हुरुक्क हुन थालेको।

तिम्रो गेटअप भड्किलो नभए पनि तिम्रा हरेक चिज ब्रान्डेड थिए। सेन्डिलदेखि जिन्स सम्म। टिसर्टदेखि आउटरसम्म। तिमीसँग भएका हरेक चिज। म सबै फुटपाथका सामान प्रयोग गर्थें, सिवाय विचार।
श्रुति, खोलो पनि १२ वर्षमा फर्कन्छ भन्छन्। तिमीसँग भेट हुनु पनि त्यही लेखान्त हो?

तिमीसँग म रिसाएको थिएँ। रिस त्यसै त्यसै मरेर गयो। के तिमी कारण जान्न चाहन्छ्यौ?

खासमा तिम्रो नाम जान्न हाम्रो रिजल्ट आउनुपरेको थियो। म चकित मात्रै होइन,तीन चकित भएथेँश्रुति! मलाई कम आँकेको भनेर नसोच्नु ल। मनमा जे आएको थियो, त्यही भन्न मन लाग्यो। त्यो अकाउन्टको दिन मैले सिकाइदिएको क्वेस्चन १५ मार्कको थियो। १५ मार्क मैले सिकाइदिएकी केटी त नामी कलेजकै टपर पो रहिछ? म छक्क परेँ।

अचम्म त त्यतिबेला लाग्यो, त्यो केटीको नाम त बिनी बस्याल पो रहेछ। कति सुन्दर नाम। उस्तै सुन्दर केटी। अनि सुन त, ढिलै भए पनि बधाई छ है!

अधिकार त मलाई प्रिय बिनी भन्ने कहाँ छ र? अझ आफैंले सम्बोधन गरेर श्रुति भन्न पनि त कहाँ पाइयो र? र पनि भनिहालेँ रिसाउन्नौ नि? रिसायौ भने त्यो १५ मार्कको चिट सम्झेर हिसाब मिलान गर्नु है।

जनचेतना पत्रिकामा तिम्रो फोटो सहितको नाम देखेपछि म पुनः तिम्रो कलेज पुगेको थिएँ, दोस्रोपटक। त्यतिबेला सेकेन्ड इएरको एक्जाम आउने बेला भइसकेको थियो। तिमीलाई भेट्छु, बधाई दिन्छु भनेर पुगेको थिएँ। तर विडम्बना तिमी सेकेन्ड इएर ट्रान्सफर गरेर काठमाडौं गइछौ। तिम्रो कलेज, फोन नम्बर, कोठा ठेगाना सबै सोधेको पनि हुँ।तर केही पाउन सकिनँ। म सरकारी कलेजको साधारण विद्यार्थी, तिमी प्राइभेट कलेजकी टपर स्टुडेन्ट। तिम्रो कलेजबाट कुनै पनि जानकारी दिन अस्वीकार गरियो। जीवनमा पहिलोचोटि निम्न मध्यम वर्गीय परिवारमा जन्मिएको कुराले गिज्यायो मलाई। आफैंलाई मौनतामा बाँध्नुबाहेक मसँग केही भएन विकल्प!

त्यसपछि तिमीले मलाई कहिले याद गÞर्यौ कि गरिनौ होला? म ह्वाइटलेकको बाटो हिँड्दा पनि तिम्रो कलेज नदेखियोस् भनेर उता फर्किन्थेँ। तिमीलाई बिर्सन चाहन्थेँ। बिर्सन कहाँ सजिलो रहेछ र? त्यसपछि सबै वर्षका परीक्षाहरूमा एउटै सिटप्लान पर्छ कि भनेर आस लाग्थ्यो। गाउँबाट काठमाडौं जाँदा कलंकीमा बसबाट ओर्लंदै गर्दा कतै तिमीसँग भेट हुन्छ कि भन्ने आस लाग्थ्यो। सबै आशाहरू पूरा हुन्छन् भन्ने नहुने रहेछ श्रुति!

जीवनले नयाँ मोड लियो। तिमीसँग भेट भएको (हुन त भेट के भन्नु तिमीलाई देखेको भनौं होला) ९ वर्षपछि मैले पासपोर्टमा छापा हानेँ। सोचेको थिइनँ, जीवनमा यति ठूलो निर्णय यति सजिलै एक्लै लिन्छु भनेर। आमाका आँखामा बरोबर आँसु झरिरहन्छन्। आज पनि फोनमा बोल्दा गहमा आँसुको दह हुन्छ। कहिल्यै नछुट्ने वाक्य यौटै हो, ‘बाबु आइज के घर!’ सोचे जस्तो जिन्दगी हुँदैन तर बनाउनुपर्छ भन्थे सधैं। भन्नु र हुनु फरक रहेछ श्रुति! हुन त तिमीलाई सम्झेर बहकिनु त कुनै अर्थ छैन तर पनि खै मन न हो!

अब चाहिँ फर्केर जान्छु भन्ने सोच्दासोच्दै पनि ४ वर्ष पुग्न लागेछ। समयको गति कति बेगवान हुने है। घडीको सुई रोकेर समय रोकिने भए। अथवा समय फर्काएर फर्किने भए। फेरि एकपटक २०६५ सालमा पुग्ने मन थियो। धित मरुन्जेल तिमीसँग कुरा गर्न मन थियो। खैर जिन्दगी यौटा अधुरो फिल्म रहेछ। अचेल यस्तै सोचेर मन बुझाउँछु।

जीवन बगिरहने खोला रहेछ। चाहे जति गहिरो दहमा भासिए पनि चाहे जति कठिन पहाडमा ठोक्किए पनि बग्न छाड्न नमिल्ने रहेछ। यौटा कुरा नढाँटी भन्छु ल, तिमीसँग झुट बोले पनि आफैंलाई ढाँट्न सकिने रहेनछ। विदेश छिरेपछिका दिनहरूमा मैले तिमीलाई कहिल्यै याद गरिनँ। खास याद गर्नुको अर्थ पनि त छैन भन्ने सोचेँ। जे कुरा रहर भन्दा पर रहेर गरिन्छ नि, त्यो चिजले धेरै कुरा प्रभाव पार्दोरहेछ श्रुति। विदेश मेरो रहर नभएर बाध्यता थियो। हुन त तिमीले मेरो काम र पढाइप्रतिको लगनशीलता र देश फिर्ता नभएको कुराले पत्यार नलाग्ला तर यो कटुसत्य हो। म विवशताको गहिरो रहमा भासिएको छु। विदेशका दुःख र परिस्थितिका त कुरा नगरे पनि भयो।

सोचेको पनि थिइनँ, जीवनमा फेरि यस्तो मोड आउला भनेर। कल्पना र सपना भन्दा पनि पर केही हुँदोरहेछ है? मलाई त लाग्छ, कुनै घटना संयोग भन्दा पनि माथि हुन्छन्। भाग्य र समय भन्दा पनि पर हुन्छन्। खैर, त्यस्तै भयो। तिमीलाई सोध्ने प्रश्नको लाइन लगाउने हो भने नाइल नदी भन्दा लामो हुन्छ होला। तर सोध्न मन लाग्यो श्रुति, के तिमीले पुराना दिन मिस गÞर्यौ त्यो पल? खासमा म काम नपाएर छटपटिएको दुई महिना बितिसकेको थियो। काम पाउनु माम पाउनु भन्दा ठूलो कुरा भइसकेको थियो। तिमीलाई भन्नु परेन, विदेशको महँगी र कठिनता। त्यस्तै पीडाको चक्रव्यूहमा गुजारिरहेको थिएँ जीवन। त्यसै क्रममा कताबाट कसैको सहयोग आइपुगेर काममा जोडिन पुगेको थिएँ। कम्पनी भर्ना भएको थिएँ। त्यो तेस्रो दिन थियो मेरो कामको। कुनै कुनै घटनाहरू दोहोरिरहने सपना भएर आउँदा रहेछन् श्रुति जिन्दगीमा। कसरी मिल्यो होला तिमीसँगै एकै दिन सिफ्ट? जसरी मिलेको थियो एक्जाममा एउटै सिट–प्लान। गणितकै हिसाबमा पनि हप्तामा ७ दिन हुन्छ। ३ दिन काम गरे पनि ३–३ दिन अलग–अलग भाग लाए पनि अझ १ दिन शेष हुन आउँछ। तर हामीकहाँ १ कमन भएर आयो। यो कस्तो संयोग?

श्रुति सोध्न मन त थियो नि। स्टुडेन्टमा आएकी हौ कि डिपेन्डेन्ट? बिहे गर्यौ कि छैन? मैले तिम्रो नाममा लेखेको कविता पढ्यौ कि पढिनौ? मैले तिम्लाई कलेजमा खोज्दै गएको खबर सरले तिमीलाई दिए कि दिएनन्? प्रश्नहरूकै अमेजन जंगलमा छु श्रुति! जीवनमा फेरि अर्को निर्णय लिएँ। थाहा छैन यो सही हो या गलत? तिमीलाई मैले देखेको पनि थिइनँ। खै कुन विश्वासले तिमीले मेरो अनुहारसम्म नहेरी ब्याग समाउन दियौ? त्यो पनि पानी रङको जापानिज। अनुहार त मैले पनि तिम्रो देखेको होइन तर बोली सुनेको हुँ। तिमीले पनि बोली सुनेकै भरमा नेपाली भनेर कत्रो विश्वासले ब्याग थमायौ। खै कसरी पुगे मेरा नजरहरू। पापी हुन् जस्तो कहिल्यै लागेन। चोरका जस्ता छन् भनेर पनि कसैले भनेन आजसम्म।र पनि यी आँखाहरू तिम्रो ब्यागमा दौडिए, जहाँ क्लियर ब्याग पनि थियो। पासवर्डमा लेखिएको व्यहोरा देखेँ। अचानक भूकम्प आयो। ज्वालामुखी विस्फोट भो। ठूलै सामुद्रिक आँधी आयो। बाढी पस्यो र पहिरो गयो। के एकैचोटि यो घटना हुन सम्भव छैन? सम्भव रहेछ श्रुति!

तिम्रो क्लिएर ब्यागको फोटोकपी पेपरमा लेखिएको थियो– बिनी बस्याल। तानसेन–११ पाल्पा।

म निरपराध जेलमा कोचिएको कैदी जस्तो भएँ अचानक। कति बेला जेल तोडौं र भागौं भइरह्यो। मैले समाएको तिम्रो ब्याग होइन कुनै टाइम बम हो, जो एकछिनमा विस्फोट हुनेछ। तिमी उस्तै रहिछौ। चिटिक्क राम्री। उज्यालो र हँसिलो अनुहार। चम्किला आँखा। धन्न तिमीसँग फेरि आँखा जुधेन। धन्न तिमीले मेरो अनुहार देखिनौ। म हतार छ है भन्दै भागिहालेँ। भाग्नुमा तिमीले कुनै शंका त गरिनौ? बाटोभरि सोचिरहेँ। फेरि फर्केर जाऊँ कि? शब्द भनेर बोलाऊँ कि? तिमी मेरो हृदयकी हरफ हौ। तिमी धड्कनको श्रुति हौ भनौं कि। तर म पूरा नहुने सपना देख्न छाडिसकेको थिएँ। मलाई माफ गर श्रुति। भन्न त मन थियो। त्यो दिन मैले लेखेको चिट नभए जीवनकै पहिलो प्रेमपत्र थियो। तिमीले अन्जानमा लगेको पेन्सिल हाम्रो प्रेम लेख्ने गुलाफको थुँगा थियो। र भन्न मन थियो श्रुति, कि मेरो दिलबाट निस्केर जाऊ कि सधैं सँगै भएर आऊ। तर खै किन किन आँटै आएन श्रुति। भोलिबाट म काम नआउने निधो गरेँ।

प्रकाशित : कार्तिक २२, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप काव्य

गजल

चिरबिर चिरबिर गर्छन्, के गीत गुन्छन् चराहरू ? मलाई त लाग्छ, पीर पोख्छन्, रुन्छन् चराहरू । गुँडै छोडेको आरोप किन लाग्छ लाग्ने बेलामा? खासमा चारो खोज्न उडेका हुन्छन् चराहरू । तैपनि मनमा घमण्ड अलिकति पनि छैन छुन त कैयौं पटक आकाश छुन्छन् चराहरू । हामी त उनीहरूलाई सुनेर खुब आनन्द मान्छाैं हामीबाट चाहिँ खासमा के […]

आँखा चिम्लिएका मानिस

यो युगका विषालु सर्पहरू समय निल्न तम्तयार छन् प्रदूषित हावा निरन्तर निरन्तर चलिरहेछ मरुभूमिझैँ वर्तमान शून्यता बोकेर दगुरिरहेछ सोच्नुस् सूर्यग्रहणको समय हो यो धरतीमा निष्पट्ट अँध्यारो खसिरहेछ नदीमा पानी बग्दै छ कि रगत ? बाटो सन्त्रस्त दौडिरहेछ रुखहरू काँपिरहेछन् तुफानसँगै तर तपाईं–हामी मानिस ढुक्क आँखा चिम्लिएका छौँ कोही निर्धक्क निदाएका छौँ कोही निदाउने उत्कट प्रयत्नमा […]

गजल

कहाँ छ फैसला, कुन असरसम्म पुग्यो ? दिल आफैं रोपिनलाई खन्जरसम्म पुग्यो बचपनमै हो उसले पनित्यो घर छोडेको घर खोज्दै खोज्दै लास घरसम्म पुग्यो दोषी उसको मन उसको सोच मात्रै होइन अनुसन्धानको दायरा नजरसम्म पुग्यो गाउँमा भोकमरीले मरेका हुन् सन्तान बाबु मसाल उचालेर सहरसम्म पुग्यो ऊ घाटसम्म जाने गर्थ्याे मन्दिर भएर ! न देउता न […]

१९ फाल्गुन २०७७, बुधबार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo