समाचार

योगमायाको योगदान

महिला विद्रोहकोे पहिलो धक्का

एजुकेशन टाइम्स संवाददाता
राधिका अधिकारी
कार्तिक २३, २०७७

नेपालमा महिला शिक्षा सुरु हुनुअघि देशका अधिकांश क्षेत्रका महिला घुम्टो ओढेर बस्थे । घर–धन्दा गर्थे । घरका पुरुषले जे भन्यो, त्यही मान्थे ।

उनीहरूलाई त्यति बेला पनि बालिकाको विवाह बुढासँग गरिदिने चलन मन परेको थिएन । न त पुरुषले जति जनासँग विवाह गरे पनि हुने परिपाटी नै ठिक लागेको थियो । त्यो समयका महिलालाई बुढाले बालिका विवाह गर्ने र लोग्नेको मृत्युपछि जवान श्रीमतीलाई सती पठाउने प्रचलन देखेर अचम्म लाग्थ्यो । उनीहरू स्वतन्त्र भएर बाँच्न चाहन्थे । तर, कसरी स्वतन्त्र हुन सकिन्छ भन्ने थाहा थिएन । उनीहरू शिक्षित र संगठित पनि थिएनन् ।

सोही कालखण्डमा विसं १९२४ मा जन्मिएकी योगमाया न्यौपानेले पनि समाजमा निकै दुःख सहनुपर्यो । योगमायाको बाल्यकालमै विवाह भएको थियो । विवाहको केही वर्षपछि घरमा अनेकन यातना दिएर श्रीमानले घरनिकाला गरे । माइती गएकी योगमायालाई त्यहाँ पनि अनेक वचन सहनुपर्यो । माइतमा पिताले ‘दुःख सहेरै भए पनि घरमै बस्नुपथ्र्यो, घरको दुःख लिएर माइती आउनु हुन्थेन’ भनेपछि उनी झन् धेरै दुःखी भइन् ।

घर, माइती कतै आश्रय नपाएपछि योगमायाले बाध्य भएर दोस्रो विवाह गरिन् । दोस्रो विवाहको छोटो समयमै उनका श्रीमानको मृत्यु भयो । त्यसपछि उनले झन् धेरै दुःख र यातना भोग्नुप¥यो । त्यसपछि उनी तेस्रो विवाह गरेर आसाम पुगिन् । त्यहाँ रहँदा बस्दा उनले धेरै कुरा बुझ्ने मौका पाइन् ।

योगमायाका तेस्रा श्रीमानको पनि मृत्यु भयो । त्यसपछि उनी आफ्नी छोरी नयनकलालाई लिएर विसं १९७३ मा नेपाल फर्किएर भोजपुर, मझुवाबेंसीमा बस्न थालिन् । यहीबीचमा उनकी छोरी पनि विवाह गरेको थोरै समयमै विधवा भइन् ।

त्यसपछि भने योगमायालाई खपिनसक्नुको पीडा भयो र उनमा वैराग्य जाग्न थाल्यो ।

छोरीको वियोग हेर्न नसकेकी योगमाया स्वर्गद्वारीलगायत नेपालका विभिन्न स्थानको भ्रमण र त्यहाँको समाज बुझ्न थालिन् । उनले आफू पुगेका हरेक स्थानमा महिलामाथि भएको दमन र अत्याचार देखिन् । उनलाई लाग्यो, हाम्रोमा महिला शिक्षाको अभाव छ ।

महिला शिक्षित भए भने सबै प्रकारका दमन र अत्याचारबारे बोल्न सक्छन् । त्यसपछि महिला अधिकार र समाज सुधारको माग राख्दै योगमायाले नेपालका तत्कालीन श्री ३ चन्द्रशमशेर, श्री ३ भीमशमशेर, श्री ३ जुद्धशमशेरलाई पटकपटक पत्र पठाइन् । उनीहरूलाई पण्डित प्रेमनारायणमार्फत भेट्न खोजिन् । प्रेमनारायणमार्फत भेट्न नसकेपछि असोज १९९६ दशैंको अष्टमी पारेर जुद्धशमशेरलाई भेट्न काठमाडौं पुगिन् । त्यसबेला जुद्धशमशेरकी रानीले उनलाई उपहारस्वरूप किस्तीभरि असर्फी दिएकी थिइन् ।

उनले त्यो असर्फी लिन मानिनन् । त्यसको बदलामा योगमायाले आफ्ना माग राखेकी थिइन् । जुद्धशमशेरले योगमायालाई ‘केही समय दिनू, तपाईंका माग पूरा भए’ भनेपछि उनी खुसी भएर चन्द्रागिरिबाट सिमभन्ज्याङ हुँदै वीरगन्ज, रक्सौल, जोगवनी, विराटनगर, इटहरी, धरान, धनकुटा, हिले, पाख्रिबास, तेगुवा, तुम्लिङ्टार हुँदै मझुवाबेंसी पुगेकी थिइन् ।

तर, १९९५ को दशैंको नवमीका दिनसम्म पनि योगमायाका कुनै माग सम्बोधन भएनन् । त्यसपछि भने उनी राणा सरकारको विरोधमा उत्रिन बाध्य भइन् । दशमीको दिन उनले भिक्षापत्र लेख्न लगाइन् । जहाँ महिला अधिकारका लागि उनले थुप्रै माग राखेकी थिइन् । उनले महिलाका सवालमा त्यसबेला राखेका माग थिए–

–महिला शिक्षाको व्यवस्था गरियोस् ।
–महिलाले पनि वेद पढ्न पाउने व्यवस्था गरियोस् ।
–विधवालाई विवाह गर्ने छुट दिइयोस् ।
–सौता हाल्ने चलन खारेज गरियोस् ।

योगमायाले दिङ्ला हुलाकबाट जुद्धशमशेरलाई यी माग पठाएपछि ठाउँठाउँमा ‘माग पूरा नभए २७ कात्तिक, हरिशयनी एकादशीका दिन अग्नि समाधि लिई संसार छोड्ने छौं’ भनेर सूचना टाँस्न लगाइन् ।

भिक्षापत्रमा राखिएका उनका माग सम्बोधन गर्नुको बदला महिलाको नेतृत्वमा भएको कठिन निर्णयलाई भत्काउँदै तत्कालीन राणा सरकारले योगमायालाई पाटीमा राखेर कैद गर्ने भन्दै उनका सबै अनुयायीलाई धनकुटा जेलमै कैद गर्ने आदेश दियो । धनकुटा गौंडाका तत्कालीन बडाहाकिम माधवशमशेर र भोजपुरका बडाहाकिम गरुडध्वज गोलीगट्ठासहित फौज लिएर गए । उनीहरूले यज्ञ रोक्दै सहभागीलाई पक्राउ गरे ।

पक्राउ पर्नेमध्ये पण्डित प्रेमनारायण भण्डारी १९ महिनापछि जेलबाट छुटे । त्यसबेला पक्राउ परेका रत्नमानको जेलमै मृत्यु भयो । तीमध्ये केही ३० महिनाको जेल जीवन बिताएर मुक्त भएका थिए भने केही जेलबाट भागेका थिए ।

यसरी महिला अधिकारका लागि पहिलोपटक आन्दोलन गर्ने योगमायामाथि धरपकड र ज्यादती गरिएको थियो । नेपालमा पहिलो पटक महिला नेतृ योगमाया जेल परिन् । उनलाई मंसिर १९९५ पूर्णिमाका दिन नौ जना पुरुषसँगै कैद सजाय दिइएको थियो । सनातनदेखि चलिआएको वर्णाश्रम धर्म व्यवस्थाविरुद्ध भारतमा आर्य समाजमा सुधार गरिनुपर्ने आवाज उठेको थियो ।

भारतका दयानन्द सरस्वतीले आर्यसमाजमा सुधारको मुद्दा अघि सारेका थिए । यसको प्रभाव नेपालमा पनि परेको थियो र यसले नेपाली महिलामा पनि शिक्षामा रुचि जगाइदिएको थियो ।

यही समयमा योगमायाले तत्कालीन समाजमा व्याप्त सामाजिक कुरीतिविरुद्ध पहिलोपटक आवाज उठाएकी थिइन् । उनले कविताका माध्यमबाट उठाएको आवाज नै पछि धेरै महिलाहरूको संगठित आवाज हुन पुगेको पाइन्छ । पछि सत्य, धर्म र शिक्षाका बदलामा कैद पर्नुपरेको घटनाले निराश बनेकी योगमाया ४ जना सपूतहरू गंगालाल, धर्मभक्त, दशरथ चन्द र शुक्रराज शास्त्रीलाई मृत्युदण्ड दिएको घटनाले झनै बिह्वल बनिन् ।

अन्याय चरम हुन पुगेको अनुभव गर्दै ३१ असार १९९८ शनिबार हरिशयनी एकादशीको बिहानै अरुण नदीको उर्लंदो भेलमा योगमाया सहित ६८ जनाले देह त्याग गरे ।

योगमायासँगै जलसमाधि लिनेहरुमा ४८ जना महिला र २० जना पुरुष पनि थिए । यसलाई नेपाली महिला आन्दोलनको उत्कर्ष मानिएको छ । योगमायाले व्यक्तिगत रूपमा महिला अधिकार र शिक्षाका लागि समाजमा ठूलो संघर्ष गरेकी थिइन् ।

योगमायाकै भावना र विचार समेटिएको कृति योगवाणी सामाजिक र शैक्षिक जागरणका दृष्टिले महत्वपूर्ण मानिन्छ । उनी पछि पनि थुप्रैले महिला अधिकार र शिक्षाका लागि आन्दोलन र संघर्ष गरेका छन् । अझै भइरहेका छन् ।

प्रकाशित : कार्तिक २३, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप समाचार

माइतीघरमा चेलीको प्रदर्शन

‘#अझैकतिसहने?’ अभियानले गरेको प्रदर्शनका सहभागीहरूले कालो पोशाक, कालै मास्क रआँखामा कालो पट्टी बाँधेका थिए ।

अस्पतालको अत्याचार, सरकार लाचार

सरकारले हात झिकेपछि कोरोना उपचारका नाममा अस्पतालको बढ्दो मनोमानी

शाक्य एकेडेमीका ५ विद्यार्थी नेपाल आए

एकेडेमीबाट आउने लामाहरूले हरेक वर्ष मंसिर पूर्णिमाका दिन लुम्बिनीमा हुने बौद्ध पूजाबाट गरिब तथा जेहेन्दार विद्यार्थी छनोट गरेर लाने गरेका छन् । अभिभावकले आफ्ना बालबालिका उद्धारको माग राख्दै आएका छन् ।

१३ फाल्गुन २०७७, बिहीबार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo