राष्ट्रिय

गणेश गौरव

गुणस्तरीय शिक्षणमा कुनै कसर बाँकी नराख्ने बागलुङको गणेश माध्यमिक विद्यालय

एजुकेशन टाइम्स संवाददाता
मिलन दाहाल
कार्तिक २३, २०७७

बागलुङ– गणेश माध्यमिक विद्यालयसँग टक्कर लिन अचेल निजी विद्यालयलाई पनि हम्मेहम्मे पर्छ। बागलुङ नगरपालिका–१४ नारायणस्थान ठाँटीस्थित यो विद्यालयमा भर्ना हुन हरेक वर्ष विद्यार्थीको लर्को नै लाग्छ।

वर्ष २०३७ मा प्राथमिक विद्यालयका रूपमा स्थापित गणेश मावि अचेल अंग्रेजी माध्यममा गुणस्तरीय पढाइ हुने सामुदायिक विद्यालयका रूपमा गण्डकी प्रदेशमा मात्र होइन, देशैभरि प्रख्यात छ।

वर्ष २०५४ मा निमावि, २०६४ मा मावि र २०७४ मा कक्षा ११, १२ सञ्चालनको अनुमति पाएको यो विद्यालय आफ्ना बालबालिकालाई अंग्रेजी माध्यममा पढाउन चाहने निम्न आयस्तरका अभिभावकका लागि आकर्षणको केन्द्र नै भएको छ।

अरूको के कुरा, विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक/कर्मचारीका बालबालिका गणेश माविमै पढ्छन्। ‘गुणस्तरीय पढाइप्रति अभिभावकलाई विश्वास दिलाउन आफ्ना बालबच्चा आफ्नै विद्यालयमा पढाएका छौं,’ प्रधानाध्यापक कृष्णप्रसाद गौतम भन्छन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले एसईई नतिजा र विद्यालयको शैक्षिक गुणस्तर हेरेर हरेक वर्ष शिक्षा दिवसमा उत्कृष्ट विद्यालयको सम्मान दिने गर्छ। गुणस्तरीय शिक्षाकै कारण यो सम्मान वर्ष २०७२ मा गणेश माविले नै पायो।

तात्कालीन पश्चिमाञ्चल विकास क्षेत्रको पहिलो र मुलुकभरिकै तेस्रो उत्कृष्ट विद्यालय बन्न यो सफल भएका थियो। वर्ष २०७६ मा पनि गण्डकी प्रदेश सरकारले प्रदेशको उत्कृष्ट विद्यालयको सम्मान दियो।

अंग्रेजीमा उत्कृष्ट पढाइ
विद्यालयमा अंग्रेजी माध्यममा पढाइ सुरु हुनुको पनि आफ्नै पृष्ठभूमि छ। अंग्रेजी शिक्षाको खोजी गर्दै गाउँ छोड्ने मानिसको संख्या बढ्न थाल्यो। गुणस्तरीय शिक्षा दिएर बसाइँसराइ रोक्ने उद्देश्यले गाउँकै अग्रजको सल्लाहमा वर्ष २०६३ मा अंग्रेजी माध्यमबाट पढाइ सुरु भएको प्रधानाध्यापक गौतम बताउँछन्।

‘निजी स्रोतबाट केही शिक्षक राखेर कक्षा १ बाट अंग्रेजी माध्यमको पढाइ सुरु गरिएको थियो। विद्यालयलाई अंग्रजी माध्यममा लैजाँदा शिक्षकले पनि साथ दिए,’ प्रधानाध्यापक गौतम भन्छन्।

सिधै कक्षा १ का बालबालिकालाई अंग्रेजी माध्यमबाट पढाउँदा असहज भएपछि नर्सरी, एलकेजी र यूकेजीको पढाइ सुरु गरियो। अहिले विद्यालयमा प्रारम्भिक बालविकास कक्षादेखि १२ सम्म नै अंग्रेजी माध्यमबाट पढाइ हुन्छ।

भर्नाअघि प्रवेश परीक्षा
विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी राखेको छैन। बर्खे बिदा, दशैं बिदा घटाउने गरिएको छ। कुनै राजनीतिक घटना या कार्यक्रममा पनि विद्यालय बन्द चाहिँ हुँदैन। कोरोना महामारीमा पनि अनलाइन तथा वैकल्पिक माध्यमबाट पढाइ जारी छ।

नयाँ भर्नाका लागि आउने विद्यार्थीसँग पनि प्रवेश परीक्षा लिइन्छ। कक्षा घटाएर भए पनि गणेश माविमै पढ्न चाहने कमजोर विद्यार्थीलाई भने उमेरलगायत समग्र पक्ष हेरेर भर्ना लिने गरिएको प्रधानाध्यापक गौतम बताउँछन्।

छेकेन, भौतिक विपन्नताले
शिक्षकको लगन, कुशल व्यवस्थापन र विद्यार्थीमा ज्ञानको भोक भएपछि गुणस्तरीय शिक्षामा भौतिक विपन्नताले खासै असर नपार्दोरहेछ। गणेश मावि यसको ज्वलन्त उदाहरण हो। आधुनिक प्रविधिबाट पढाइ हुने यो विद्यालयका भवन भने पुराना र जीर्ण छन्। भौतिक संरचनाको यो अवस्थाका कारण पठनपाठन असहज पक्कै छ।

‘बर्खाको समय पानी चुहिन्छ। जोडले हावा चल्दा जस्ताका छानामा गड्याङगुडुङ आवाज आएर पढाइ नै प्रभावित हुने गरेको छ,’ प्रधानाध्यापक गौतम भन्छन्, ‘यस्ता समस्याकै बीच गुणस्तरीय शिक्षा दिँदै आएका छौं।’

सम्बन्धित निकायले भौतिक संरचना विकासमा ध्यान दिए गुणस्तरीय शिक्षा दिन थप हौसला मिल्ने उनी बताउँछन्।

मनकारी अभिभावक
विद्यालयमा करिब ८ सय विद्यार्थी अध्ययनरत छन्। एउटा कक्षाका दुईवटा सेक्सनमा पढाइ हुन्छ।

धेरै विद्यार्थीलाई एउटै कक्षामा राखेर पढाउँदा हेरचाह गर्न नसकिने भएकाले साना कक्षामा ४० जना र माथिल्लो कक्षामा ५० जना भन्दा बढी विद्यार्थी राखिँदैन। त्यसका लागि विद्यालयलाई धेरै शिक्षक आवश्यक पर्छ, तर सरकारी तलब खाने स्थायी शिक्षकको अभाव छ।

नेपाल सरकारको दरबन्दीका जम्मा १७ जना शिक्षक/कर्मचारी छन्। २९ जना शिक्षक विद्यालयले निजी स्रोतबाट राखेको छ। विद्यालयको आफ्नै आम्दानी नभएकाले अभिभावक र विभिन्न संस्थाहरूसँग सहयोग मागेर सञ्चालन गरिएको प्रधानाध्यापक गौतम बताउँछन्।

‘कोरोना संक्रमणका कारण निजी स्रोतका शिक्षक कर्मचारीलाई तलब खुवाउन अभिभावकसँग सहयोग माग्न पनि सकिएको छैन,’ गौतम भन्छन्।

यो पनि पढ्नुहोस्
सामुदायिक विद्यालयको सान (हाम्रो विद्यालय, प्रदेश १)
जनकपुरको शैक्षिक धाम (हाम्रो विद्यालय, प्रदेश २)
मेधावीहरूको मेधा (हाम्रो विद्यालय, वागमती प्रदेश)

प्रकाशित : कार्तिक २३, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप राष्ट्रिय

कमालको कालिका

सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीले प्रायः आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाइरहेको देखिन्छ। कालिका माविको कुरै बेग्लै छ। शिक्षक÷कर्मचारीका बालबच्चा अन्यत्र पढदैनन्, कालिकामै पढछन्।

किन बढ्दै छ बलात्कार ?

बलात्कारविरुद्ध साना–ठूला आन्दोलन भइरहेकै छन्, तर बलात्कार बढेको बढ्यै छ । कानुन संशोधन गरेर बलात्कारीमाथि कडा कारबाहीको माग गर्नेहरू फेसबुकमा मात्र होइन, सडकमा पनि उत्रिन थालेका छन्।

परीक्षा नियन्त्रण कि व्यवस्थापन ?

परीक्षा सम्बन्धी कार्यमा नियन्त्रण र व्यवस्थापन दुवै गर्नुपर्ने हुन्छ। परीक्षामा अवाञ्छित गतिविधि भएको अवस्थामा नियन्त्रण पनि गर्नुपर्ने भएकाले पनि नियन्त्रण भनिएको हुनसक्ने प्रा.डा.माधवशरण उपाध्याय उपाध्यायको भनाइ छ।

१३ फाल्गुन २०७७, बिहीबार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo