काठमाडौं– एनसेल आजियाटा लिमिटेडले कोरोना महामारीबाट बच्न जन–चेतना जगाउने विभिन्न अभियान सञ्चालनार्थ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र युनिसेफ नेपालसँग सहकार्य गरिरहेको छ ।
एनसेलद्वारा जारी विज्ञप्तिका अनुसार एनसेलले जनस्वास्थ्य सम्बन्धी सचेतना अभिवृद्धिमा सहयोग गर्ने प्रतिबद्धताका साथ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रसँग समझदारी पत्रमा हस्ताक्षर गरेको हो । साथै एनसेलले जनचेतनाका लागि युनिसेफ नेपालसँग पनि समझदारी पत्रमा हस्ताक्षर गरेको छ ।
यो अभियानअन्तर्गत एनसेलले विभिन्न सञ्चार माध्यमबाट कोरोना भाइरसबाट बच्ने मुख्य तीन उपाय सन्देशका रूपमा जनतामाझ पुर्याइरहेको छ । यसका लागि एनसेलले बहिरा कलाकार सुजल बमको साथ लिएको छ ।
विज्ञप्तिका अनुसार जनमानसमा पुर्याइएका मुख्य तीन सन्देश हुन्, व्यक्ति–व्यक्तिबीच कम्तीमा दुई मिटर दूरी कायम गर्ने, घरबाट बाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्ने र बेलाबेलामा साबुनपानीले मिचीमिची कम्तीमा २० सेकेन्डसम्म हात धुने । एनसेलले मास्क कसरी लगाउने तथा कस्तो किसिमको मास्क प्रयोग गर्नेलगायतका विभिन्न जान्नैपर्ने तथ्य समावेश गरी कोरोना भाइरसको संक्रमणबाट बच्न र बचाउन जनचेतना जगाइरहेको छ ।
एनसेलका प्रमुख कार्यकारी अधिकृत एन्डी चोङले तीव्र गतिमा फैलिरहेको कोरोना संक्रमण रोक्न, पत्ता लगाउन र यसविरुद्ध जनचेतना फैलाउन आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।
‘कोरोना जस्तो संकटको सामना गर्न विभिन्न सरोकारवालाहरूसँगको सहकार्य आवश्यक छ । सबै एकजुट भएर गरेको सहयोगले सरकारको कोरोना विरुद्धको अभियानमा ठूलो सहयोग पुग्छ,’ कार्यकारी अधिकृत चोङले भने, ‘कोरोना विरुद्ध एनसेलले गरेको योगदान निजी क्षेत्रले आफ्नो विशेषज्ञता, अनुभव, क्षमता तथा दक्षताका आधारमा कसरी सहयोग गर्न सक्छ भन्ने एउटा उदाहरण हो । नेपाली जनताको सेवा गर्ने हाम्रो प्रतिबद्धतामा कुनै सम्झौता हुँदैन ।’
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले कोरोना महामारी नियन्त्रण तथा रोकथामको जनचेतना फैलाउन एनसेलको भूमिकाको सराहना गर्दै भने, ‘कोरोना महामारी रोकथामका लागि सरकार, एनसेलजस्ता निजी क्षेत्र र युनिसेफजस्ता संस्था एकजुट भएका छन् । नयाँ समाधान र विशेषज्ञताका साथ डटेर लड्न यस्तो सहकार्य अपरिहार्य छ ।’
यसैगरी नेपालका लागि युनिसेफ प्रतिनिधि एल्के विस्चले युनिसेफले नेपाल सरकारसँगको सहकार्यमा महामारीसँग लड्न काम गरिरहेको र एनसेल जस्ता निजी संस्थासँगको सहकार्यले कोरोना विरुद्धको अभियानमा वास्तवमै ठूलो महत्त्व राख्ने विश्वास व्यक्त गरिन् । ‘संकटको समयमा मानिसलाई कोरोनाबाट बच्ने महत्त्वपूर्ण सन्देश प्रवाहमा गरिएको सहयोग निकै महत्त्वपूर्ण छ,’ उनले भनिन् ।
प्रकाशित : कार्तिक २४, २०७७
प्रतिक्रियाहरू