विद्यालय

कमालको कालिका

गाईगोठमा स्थापित विश्वशान्ति प्राविदेखि ‘कालिका मानवज्ञान मावि’सम्मको उन्नतिको कथा

एजुकेशन टाइम्स संवाददाता
मिलन दाहाल
कार्तिक २४, २०७७

बुटवल– यो वर्ष २०१८ को प्रसङ्ग हो। रूपन्देहीको योगकुटीमा शशिधर गोतामेको गाई गोठमा स्थापना भयो, विश्वशान्ति प्राथमिक विद्यालय।

बहुसंख्यक नेपाली निरक्षर रहेको त्यो युगमा विद्यालय स्थापना जस्तो पुनित कार्य भएको थियो, बुद्धि बहादुर थकाली, जीत बहादुर गुरुङ, मानबहादुर गलामीलगायत गाउँका अग्रजको नेतृत्वमा।

स्थापनाको केही महिनामै विद्यालयलाई योगीकुटीबाट तत्कालीन बाङ्गी कुसुम (हालको कालिकानगर) मा सारियो। नाम पनि बदलियो, कालिका प्राविका रूपमा।

विद्यालयमा स्थापनाकालका प्रथम प्रधानाध्यपक हुन्, मानबहादुर गलामी। उनैका छोरा होमबहादुर गलामी अहिले कालिका मावि, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छन्।

गाईगोठदेखि हालसम्मको यात्रामा अनेक उतारचढावबीच यो विद्यालयले कयौं नेपालीका सन्तानलाई साक्षर बनायो। बुटवल उपमहानगरपालिकास्थित ‘कालिका मानवज्ञान माध्यमिक विद्यालय’ अहिले देशकै अब्बल सामुदायिक विद्यालय कहलिएको छ।

सामुदायिक विद्यालयमा गुणस्तरीय पढाई हुँदैन भन्ने मान्यतालाई यसले खण्डित गरिदिएको छ। कालिका माविमा आफ्ना बालबालिका पढाउन अभिभावक लालायित हुने गरेका छन्। अंग्रेजी माध्यमको गुणस्तरीय शिक्षा नै अभिभावक र विद्यार्थीको मुख्य आकर्षण हो।

वर्ष २०२९ मा निमावि, २०३२ मा मावि सञ्चालनको मान्यता पाएको कालिकाले वर्ष २०६५ सालमा तत्कालिन उच्च माध्यमिक शिक्षा परिषद्बाट ११, १२ कक्षा सञ्चालनको अनुमति पाएको हो।

वर्ष २०३५ सालमा पहिलो पटक कालिका एसएलसी (हालको एसईई)परीक्षामा सहभागी भएको थियो। एसएलसी परीक्षामा सहभागी २५ जनामध्ये १३ जना विद्यार्थी पास भएको हालका प्रधानाध्यापक विष्णुहरि ज्ञवाली बताउँछन्।

सोही एसएलसी ब्याचका विद्यार्थी घनश्याम पाठक यसै विद्यालयका पूर्व प्रधानाध्यापक हुन भने बुटवल उपमहानगरपालिका ११ का अध्यक्ष रामचन्द्र क्षेत्री पनि यसै विद्यालयका विद्यार्थी हुन्।

‘घनश्याम सर’को योगदान
शैक्षिक नतिजा राम्रो भए पनि विद्यार्थी पहिला सिमित थिए। वर्ष २०६४ मा घनश्याम पाठक प्रधानाध्यापक भएपछि विद्यालयले शैक्षिक गुणस्तर र विद्यार्थी वृद्धिमा फड्को मार्‍यो।

‘घनश्याम सर विद्यालयमा आँउदा २७ जना मात्र शिक्षक थिए, विद्यार्थी संख्या पनि कम थियो’, प्रधानाध्यापक ज्ञवाली भन्छन्, ‘अहिले २ सय ६५ जना शिक्षक तथा कर्मचारी छन् भने ७ हजार ६ सय विद्यार्थी अध्ययनरत छन्।’

वर्ष २०६७ मा पहिलोपटक विद्यालयमा अंगे्रजी माध्यमबाट पढाइ सुरु भएको थियो, १ कक्षादेखि ६ कक्षासम्म। अहिले प्रारम्भिक बालविकास कक्षादेखि १२ सम्म अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाइ हुन्छ। तर, नेपाली माध्यमबाट पढ्ने विद्यार्थीको संख्या निकै कम छ।

‘विद्यालयको भौतिक विकास, शैक्षिक गुणस्तर र विद्यार्थी वृद्धिमा शिक्षक कर्मचारी र पूर्व प्रधानाध्यापक घनश्याम पाठकको योगदान कहिल्यै भुल्न सकिन्न’, प्रधानाध्यापक ज्ञवाली भन्छन्।

सामुदायिक विद्यालयका शिक्षक र कर्मचारीले प्रायः आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाइरहेको देखिन्छ। कालिका माविको कुरै बेग्लै छ। शिक्षक÷कर्मचारीका बालबच्चा अन्यत्र पढदैनन्, कालिकामै पढछन्।

‘हाम्रो विद्यालयमा गुणस्तरीय शिक्षा प्रदान गरिन्छ भन्ने अभिभावकमा विश्वास दिलाउन सम्पूर्ण शिक्षक र कर्मचारीका बालबच्चा कालिका माविमै पढ्छन्’, प्रधानाध्यापक ज्ञवाली भन्छन्।

सम्मानै सम्मानको खात
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले लगातार तीन वर्षदेखि एसईई परीक्षामा राम्रो नतिजा ल्याउने सामुदायिक विद्यालयलाई राष्ट्रिय शिक्षा तथा साक्षर दिवसको अवसरमा सम्मान गर्दै आएको छ।

कालिका मानवज्ञान मावि २०७१ सालमा ११,१२ कक्षाकाे  विज्ञान र व्यवस्थापन समूहमा नेपाल प्रथम भएको थियो । २०७१ र ०७२ सालको एसइई परीक्षामा प्राविधिक शिक्षातर्फ पनि नेपाल प्रथम भइ शिक्षा मन्त्रालयबाट राष्ट्रिय ध्वजा प्राप्त गरेको प्रधानाध्यापक ज्ञवालीले बताए ।

त्यस्तै २०७३ सालको एसइइ परीक्षामा साधारण तर्फ नेपाल प्रथम भएकोमा विद्यालयलाई शिक्षा मन्त्रालयले नगद र प्रमाणपत्रद्धारा सम्मान गरेको थियो । २०७४ सालमा ११, १२ कक्षामा कम्प्यूटर इन्जिनियरिङ समूहमा नेपाल प्रथम हुन सफल भएको उनले बताए ।

लगातार तीन वर्ष एसइई परीक्षामा साधारण र प्राविधिक समूहतर्फ नेपाल प्रथम भएकाले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले कालिका मानवज्ञान माविलाई राष्ट्रिय ध्वजा र शिल्ड प्रदान गरिसकेको छ।

लुम्बिनी प्रदेश सरकारले प्रत्येक वर्ष जिल्लागत रूपमा उत्कृष्ट विद्यालय छनोट गर्ने गर्छ। कालिका माविले गत वर्ष विज्ञानतर्फ ११, १२ मा उत्कृष्ट नतिजा ल्याएकाले प्रदेश सरकारले सम्मान गरिसकेको छ। यति मात्र हैन, फरक–फरक विधामा कालिका माविले प्रत्येक वर्षजसो सम्मान पाउँदै आएको छ।

तलब सुविधा आकर्षक
विद्यालययमा २ सय ६५ शिक्षक कार्यरत छन्। जसमा दरबन्दीका शिक्षकको संख्या ५९ जना मात्र छ। बाँकी शिक्षक निजी स्रोतबाट राखिएको हो।

निजी स्रोतका शिक्षक कर्मचारीलाई पनि नेपाल सरकारले तोके बमोजिमको सेवा सुविधा दिएको प्रधानाध्यापक ज्ञावालीले बताउँछन्।

‘शिक्षक कर्मचारीलाई योग्यता बमोजिमको पारिश्रमिक दिएकाले उनीहरूबाट गुणस्तरीय शिक्षा र कार्यसम्पादन प्राप्त भइरहेको छ’, उनी भन्छन्।

‘मानवज्ञान’को कथा
कालिका माविको रूपमा चिनिदै आएको विद्यालय पछिल्ला केही वर्षदेखि ‘कालिका मानवज्ञान माविका’ रूपमा प्रख्यात छ।

यसको पनि आफ्नै पृष्ठभूमि छ। कालिका माविभन्दा केही दुरीमा रहेको मानवज्ञान माविमा विद्यार्थीको संख्या निकै कम भयो। अनि दुवै विद्यालयको व्यवस्थापन समिति, वडा अध्यक्ष, प्रधानाध्यापक र शिक्षा क्षेत्रका अग्रजको सल्लाह र सहमतिमा वर्ष २०७४ मा दुवै विद्यालय आपसमा गाभिए र नाममा ‘मानवज्ञान’ पनि थपियो।

दुवै विद्यालयको समान स्वामित्व रहने गरी विद्यालय मर्ज भएको ज्ञावाली बताउँछन्। प्रशासन एउटै भए पनि विद्यालय भवन भने छुट्टाछुट्टै छन्।

प्रकाशित : कार्तिक २४, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप विद्यालय

नयाँ पाठ्यक्रमको आमसञ्चार पुस्तक बजारमा

पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत आमसञ्चार विषयको पहिलो पुस्तक भएको लेखकद्वयको दाबी छ।

मेधावीहरूको मेधा

बन्द हुनै लागेको भक्तपुरको मेधा माविको अचेल देशव्यापी ख्याति । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विसं २०७६ को शिक्षा दिवसमा मेधालाई नेपालको सर्वोत्कृट सामुदायिक विद्यालयको पुरस्कार दिएपछि त यसको ख्याति झनै चुलियो ।

नयाँ पाठ्यक्रम लागु नगर्न सर्वोच्चको अन्तरिम आदेश

नयाँ पाठ्यक्रममा कक्षा ११, १२ मा गणित विषयलाई ओझेलमा पार्न खोजिएको भन्दै गणित विषय प्र्रेमीहरूले नयाँ पाठ्यक्रमको विरोध गर्दै आएका छन् ।

४ जेष्ठ २०७८, मंगलवार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo