एजुकेशन टाइम्स संवाददाता
बासु गाैतम
कार्तिक २५, २०७७

विचार

कोरोना, बदलिंदो विश्व र विज्ञान

विगत एक वर्ष यता विश्व समुदाय र अर्थतन्त्रमा कोभिड –१९ ले ल्याएको तरङ्गले पृथ्वीको दिगो विकासमा आधारित मार्गचित्रहरू पुर्नपरिभाषित र पुर्नविचार गर्नुपर्ने तर्फ दिगो विकासका विज्ञ र बैज्ञानिकले संकेत गर्न थालेका छन् ।

महामारीको कहरले बिज्ञान र बैज्ञानिक बहसलाई पुनःप्रधानता दिन थालेको छ । भाइरोलोजिस्ट, एपिडेमिलोजिस्ट र अन्य स्वास्थ्य वैज्ञानिकसँगै नीति निर्माताहरूले पनि बिज्ञानलाई केन्द्रमा राखेर सावधानीपूर्वक आफ्ना अवधारणा सार्वजनिक गर्न थालेका छन् ।

अन्ततः कोरोनाको औषधि पत्ता लगाउनेदेखि कोभिड विरुद्ध खोपको विकास र महामारी नियन्त्रण गर्ने रणनीति कार्यान्वयन गर्ने महत्त्वपूर्ण जिम्मेवारी विज्ञान र वैज्ञानिकको काँधमा आएको छ ।

कोरोना कहरसँगै भूमण्डलीकरण र ब्रिक्स मुलुक (ब्राजिल, रसिया, भारत, चीन र दक्षिण अफ्रिका) को आर्थिक वृद्धिदरले पर्यावरणमैत्री हरित लगानी र दिगो विकासका अवधारणाको प्रभावकारी कार्यान्वयनमा प्रश्नचिन्ह खडा भएको छ ।

कोभिडले थिलथिलो पारेको विश्व अर्थतन्त्रमा संयुक्त राष्ट्र संघका घोषणा पनि संकटमा छन् । सन् २०३० सम्म दिगो विकासका लक्ष्य प्राप्ति गर्ने, गरिबी निवारण गर्ने, आर्थिक असमानता खुम्च्याउने, जैविक–विविधतामा आएको क्षय र जलवायु परिवर्तन रोक्ने, शिक्षा र स्वास्थ्यमा सबैको सुलभ र सहज पहुँचको प्रभावकारी कार्यान्वयन गर्ने आदि राष्ट्रसंघीय योजनामा कोरोना कहरले प्रभाव पार्नेछ ।

दिगो शान्ति र दिगो विकास अवधारणालाई अवलम्वन गरेर आक्रामक ढंगले अघि बढिरहेको विश्व समुदायलाई कोभिडको महाव्याधिले अप्रत्यासित रूपमा ठप्प पारिदिएको छ । एक्काइसौं शताब्दिको थालनीसंगै व्यापक बहसमा समावेश हुन थालेको दिगो आर्थिक वृद्धिदर भावीपुस्तालाई केन्द्रमा राखेर केहि समयका लागि सेलाउने गरी थाती राखिएको छ ।

संसारका विभिन्न मुलुकमा धार्मिक र जातीय अतिवाद हुँदै आतंकवादसित जुध्दै शान्ति र समझदारीको खोजी भैरहेको बखत एउटा अग्लो चुनौतिका रुपमा कोभिड–१९ महामारीको स्वास्थ्य संकटले प्रवेश पाएको छ । पर्यावरण विनास र तापक्रम वृद्धिले विगत केहि दशकयता ल्याएको भयावह विनास, भोकमरी, बाढी–पहिरोका घटना त छदैं थिए, तर सिमित स्राेतसाधनले व्यवस्थापन गर्न चुनौती बन्दै गरेको जनसंख्या वृद्धिको आगोमा कोरोना संक्रमणले घ्यु थपेको छ ।

जलवायु परिवर्तन र कोरोना महामारी दुई भिन्न चुनौति भए पनि यी दुइबीच केहि समानता छन् । यीदुबै चुनौती विश्वव्यापी छन् । मौसम परिवर्तन र महामारी दुवैले राष्ट्रिय सीमानाको सम्मान गर्दैनन् र यीदुबै चुनौतीको सामना गरी समाधान खोज्न अन्तरदेशीय सहकार्य आवश्यक पर्दछ ।

हुन त विश्व समुदाय एकढिक्का भएर समाधान खोज्न तम्सिने हो भने मानवनिर्मित पर्यावरणीय संकटलाई पार लगाउन नसकिने पनि होइन र, यी दुवै चुनौति सामना गर्न बिज्ञानको पछाडी एकजुट भै बिज्ञहरुको विचार सुन्नुबाहेक हामीसँग बिकल्प पनि छैन ।

आर्थिक वृद्धिदर जतिसुकै चमकदार भए पनि प्रकृति, विज्ञान र मानव–सभ्यताको अन्तरसम्बन्धलाई दिगो र दिर्घकालिन सोचसहित केन्द्रमा नराख्दा उत्पादन र अर्थव्यवस्थाका सबै पर्खाल कसरी गल्र्याम–गुर्लुम ढल्छन् भन्ने अमुल्य शिक्षा कोभिड–१९को आजको संकटले दिइरहेको छ ।

विज्ञानको वौद्धिक व्यवस्थापन
बढ्दो जनसंख्याको चाप अनि प्रकृति र मानवताबीच बढदै गरेको दुरीबारे चर्चा गरौं । हुन त एक दशकयता अप्रत्यासित रुपमा देखा परेको अन्धराष्ट्रवाद, नश्लवाद, धर्मान्धता र उग्र–दक्षिणपन्थका कारण विज्ञान चौतर्फी आक्रमणको चपेटामा छ । तैपनि के बिर्सिनुहुँदैन भने विश्व समुदाय र मानव–जातिको बृहत्तर हितनिम्ति विज्ञान नै समस्या समाधानको अचुक अस्त्रमध्ये एक हो । हामीले बुझ्नैपर्ने हुन्छ , चाहे त्यो उर्जा होस या कृषि , पर्यावरण संरक्षण, स्वास्थ, यातायात, सञ्चार र अर्थतन्त्र नै किन नहोस्, सबै विधामा विज्ञानले देखाएको मार्गमा हिंडनुको बिकल्प अब देखिदैंन ।

अब जस्तोसुकै नीति बनाए पनि वा जुनसुकै ‘वाद’ अंगाले पनि समाजलाई विज्ञानसँग जोड्न सकेमात्र एउटा प्रगतिशील आदर्श समाजको निर्माण सकिन्छ । बिज्ञानको महत्वबारे चचा गर्दै प्रशिद्ध अमेरिकी बैज्ञानिक कार्ल सागनले भनेका छन्, ‘इतिहासमा भएका सबै युद्धहरुमा ज्यान गुमाएकाहरुको तुलनामा बिज्ञानले चिकित्सा र कृषि क्षेत्रमा ल्याएको प्रगतिले कैयौं गुणाले ज्यान बचाएको छ ।’

गरीबी र भोकमरी उन्मूलन गर्नेदेखि बाल मृत्युदर घटाउनेसम्मका अकल्पनीय प्रगतिमा बिज्ञानको ठुलो योगदान छ । वैज्ञानिकहरूबीचको विगतको सहकार्यले आजको पुस्तालाइ अभ्यस्त राख्ने इन्टरनेट र सुचना प्रविधिले विकाशोन्मूख देशहरुमा असाधारण परिणाम ल्याउन थालेको छ । इन्टरनेटको यो सकारात्मक पक्ष हो ।

तस्बिरहरू : राष्ट्रिय आविष्कार केन्द्र

विश्वका लगभग सबै मुलुकको प्रतिनिधित्व रहने आणविक अनुसन्धानका लागि युरोपेली काउन्सिल(सिइआरएन)मा वैश्विक साझेदारीबाट आविष्कार भएको इन्टरनेट विकासका चुनौतिको सामना गर्न र सूचनालाइ सर्वव्यापी बनाउन बिगत दुईदशकयता कसरि एक शक्तिशाली उपकरण साबित भएको छ, हामि सबैले देखेकै छौ ।

दिगो बिकासका लक्ष्य प्राप्तिसंगै पर्यावरण विनास रोक्न र वैकल्पिक उर्जाका हरित प्रविधिको अन्वेषण पनि वैज्ञानिकहरूबीचको साझेदारीले सम्भव हुँदै गएको छ । प्राकृतिक स्रोतहरूको समुचित उपयोग र परिचालन, पर्यावरण विनास बिनानै प्राप्त गर्न सकिने आर्थिक विकास र दिगो शान्तिका आधारहरूको निर्माण गर्न र समतामूलक समाजको विकास खासमा विज्ञान र प्रविधिको बौद्धिक व्यवस्थापनबाट नै सम्भव छ ।

उर्जा क्षेत्रमा हरित प्रविधिको विकासले तेस्रो विश्वका देशहरूमा बसोबास गर्नेहरूको जीवनस्तर उकास्न मद्दत गर्ने छ । यो प्रविधिमा आधारित व्यवहारिक शिक्षा र प्रशिक्षणले रोजगारीका अवसर सिर्जना गर्नेमा बैज्ञानिक बिस्वस्त छन् ।

नेपालको अनुभव
कोविड महामारीसंग जुधिरहेका बिकसित मुलुकहरुले कोरोना भाईरसपछिको अवस्थामा आर्थिक, सामाजिक र स्वास्थ्य व्यवस्थापनको शास्त्रीय सोचहरुमा व्यापक परिवर्तन गर्नेबारे समीक्षा गर्न थालिसकेका छन् । सन् २०२० को सुरुवातमा कोभिडले विश्वव्यापी महामारीको रुप लिन थालिसकेकै बेला नेपालले महामारीसित जुध्न प्रारम्भिक आधारभूत सावधानी पुरा गर्न असक्षमता देखाएका कारण हामीले यतिबेला बिपत्तिको सामना गरिरहनु परेको छ ।

विगत केहि महिना यताको अवस्था हेर्दा विकासोन्मुख नेपालमा आधारभूत स्वास्थ्य पूर्वाधारको अभाव भयो । आईसीयू एकाईहरूको कमी रह्यो । भेन्टिलेटर, डाक्टर र नर्सहरूको लागि व्यक्तिगत सुरक्षात्मक उपकरणको अभाव र अत्यन्तै कमजोर व्यस्थापनका कारण नेपालले बिपत्तिको सामना गरिरहेको हो । महामारी नियन्त्रणमा आइसकेपश्चात दिगो र भरपर्दो स्वास्थ सेवाको पूर्वाधारको निर्माण मुलुकको मुख्य प्राथमिकता हुनुपर्छ भन्ने अहिलेको अनुभवले सिकाउँदैछ ।

विज्ञान दिवसको सार्थकता
यहि सेरोफेरोमा संयुक्त राष्ट्रसंघले हरेक वर्ष नोभेम्वर १० लाई विश्व बिज्ञान दिवसका रुपमा मनाउँदै आएको छ । यो वर्ष बिज्ञान दिवसको नारा ‘महामारीको सामना गर्न विज्ञान र समाजको हातेमालो’ रहेको छ ।

विज्ञानलाई समाजसँग जोड्दै मानवजीवनसंग प्रत्यक्ष सरोकार राख्ने र दुरगामी प्रभाव राख्ने विषयबारे नागरिकलाई जानकारी दिनु बिज्ञान दिवसको मूल ध्येय हो भन्ने बुझिन्छ ।

दिगो शान्ति र बिकासका अवधारणालाइ मुर्तरुप दिन बिज्ञान र वैज्ञानिकले निर्वाह गर्ने भूमिकालाई यो दिवसले जोड दिन्छ । संसारभरि नै बिगत एक दशकयता उदाएको बिज्ञानविरोधी उग्रराष्ट्रवादको दम्भ, नश्लवाद र घृणामा आधारित राजनीतिक प्रोपोगाण्डालाइ चुनौती दिनसक्ने एउटा महत्वपुर्ण अस्त्र सम्पूर्ण मानवजातिको हित र मानव कल्याणमा आधारित बिज्ञान हुनसक्छ ।

बिज्ञानको कुनै एउटा देश हुदैन । राजनीतिक विचारधारा र धर्म हुँदैन तर बिज्ञानले निशर्त सबैको सेवा गरिरहेको हुन्छ । अनि हामी सबै बिज्ञानको प्रयोग गरिरहेका हुन्छौं ।

प्रकाशित : कार्तिक २५, २०७७

प्रतिक्रियाहरू
तपाईंका प्रतिक्रियाहरू प्रकाशन गर्नुअघि शिक्षापत्र टीमद्वारा अध्ययन गरी स्वीकृत वा अस्वीकृत गरिनेछ । प्रत्येक प्रतिक्रियामा आचरणको यी नियमहरूको पालन ​​गर्नुपर्नेछ।
पूरा नाम र प्रतिक्रिया देखा पर्नेछ।

थप विचार

रौसिएका राजावादी

‘मुलुक अभिभावकविहीन भएको’ भन्ने पूर्वराजाकाे तर्कमा पनि दम छ।

कहिले खुल्लान् स्कुल ?

अनलाइन कक्षाबाट एक तिहाइ विद्यार्थी पनि लाभ लिन सक्दैनन् भनेर शिक्षाविद् नै भनिरहेका छन् ।

४ जेष्ठ २०७८, मंगलवार

हामी जित्‍ने छौं...

Logo

लगइन

खाता लग इन वा दर्ता गरेर, म पुष्टि गर्दछु कि मैले नियम र सर्तहरूगोपनीयता नीति पढ्न र स्वीकार गरेको छु ।

वा ईमेल मार्फत
मैले मेरो पासवर्ड बिर्सें
One Network. One Account
Logo